बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका हालका तीन पदाधिकारीहरूमाथि अनेक आरोपमात्र लागेको छैन, सरकारले गठन गरेको आधा दर्जन उच्चस्तरीय कार्यदलले तयार गरेका प्रतिवेदनहरूले समेत आर्थिक अनियमितता गरेको, भ्रष्टाचार र कमिसनको लोभमा परेको जनाइसकेको छ । उपकुलपति डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष प्रा.डा. गुरु खनाल र अस्पताल निर्देशक प्रा.डा. गौरीशङ्कर साह प्रतिष्ठानका ती पदमा बस्न कति योग्य र दक्ष हुन् भन्ने त ती प्रतिवेदनका फेहरिस्तहरूले नै बताइसकेका छन् । विभिन्न सञ्चारमाध्यममा उनीहरूका बारेमा समाचार र टिप्पणीहरू दैनिक आइरहेका छन् । मुलुकको स्वास्थ्य शिक्षाको मेरुदण्डको रूपमा विकसित भएको बीपी प्रतिष्ठान स्वास्थ्यको मानक हो । तर, मेडिकल उपकरण खरिद गर्दा होस् वा मातृशिशु उपचार भवन (एमसिएच), फार्मेसी भवन, क्यान्सर उपचार भवन, मुटु उपचार भवन, होस्टल भवन वा कोभिड अस्पताल निर्माण प्रक्रियामा सार्वजनिक खरिद ऐन विपरीत कमिसन खान घुमाउरो शैली अपनाएको प्रतिवेदनहरूले नै बोलेका छन् । तत्कालीन स्वास्थय मन्त्री भानुभक्त ढकाललाई चुनावमा सहयोग गरेको आधारमा मात्र नभएर नेताहरूलाई ब्रिफकेस बुझाएको आधारमा गिरीले राजनीतिक नियुक्ति पाएर बीपी प्रतिष्ठानको उपकुलपति भएको आरोप छ । उनीसँग जोडिएका अनेक सङ्गीन घटना छन् । प्रतिष्ठानभित्र आन्दोलनरत पक्षसँग वार्तामा बसेको बेला मादक पदार्थ सेवन गरेर आएको, बोल्ने क्रममा बुझ्नै नबुझिएको, प्राध्यापक पद पनि सक्कली त परै जाओस् नक्कलीसमेत नभएको बारे उठेका प्रश्नले घेरिएका छन् । हुन त उनी कोसी अस्पतालमा कार्यरत रहँदारहँदै अवकास पाएपछि विराटनगरकै निजी अस्पतालमा साझेदारी गर्दै जागिर खाँदै आएका बेला उपकुलपतिको लड्डु हात पार्न सफल भएका हुन् । बिग्रेको प्रतिष्ठान सुधार्न आएको र आफूले अमेरिकाको एक विश्वविद्यालयबाट प्राध्यापक पद प्राप्त गरेको धमास दिएर केही महिनासम्म त आफूभन्दा सिनियर प्राध्यापकहरूको सातो खाए ।
जव वास्तविकता खुल्दै गयो, गिरी त ‘नटवरलाल’ सावित हुन पुगे । किनकी उनले आफू प्राध्यापक भएको प्रमाण देखाउन सकेका छैनन् । आखिर नेपालका राजनीतिक शीर्षनेता प्रधानमन्त्रीहरूले पनि कसरी यस्तालाई शिक्षा र स्वास्थ्यजस्तो अति संवेदनशील विश्वविद्यालय सरहको प्रतिष्ठान र संस्थामा उच्च पद दिन्छन् ? उनलाई उपकुलपति सिफारिस गर्ने र सो पदमा नियुक्त गर्ने पनि दोषमुक्त छैनन् । कुनै पनि व्यक्तिलाई यति उच्च जिम्मेवारीसहितको पदमा नियुक्त गर्दैगर्दा उसको योग्यता, क्षमता, शैक्षिक प्रमाण–पत्र, अनुभवको फेहरिस्त आदि पृष्ठभूमिको अध्ययन हुँदैन ? जस्ले जे सिफारिस ग¥यो, उसैलाई उपकुलपति नियुक्ति गर्ने चलन कहिले सम्म चलाउने ? गिरी उपकुलपति भएर आएपछि प्रतिष्ठानमा कुनै नयाँ परिवर्तन भएको छैन । बरु प्रतिष्ठानको अवस्था झन्झन् खस्कँदै गएको छ । लथालिङ्ग र भताभुङ्ग भएको छ । उनैको पालामा आएर प्रतिष्ठानको अलिअलि बचेखुचेको साख पनि पूर्णरूपमा ध्वस्त भएको छ, भ्रष्टाचार र कमिसनको चक्करले । अघिल्ला पदाधिकारीहरूले प्रतिष्ठानबाट करोडौं कमाएको देखेका गिरीले आफू स्वच्छ हुनुभन्दा पूर्वपदाधिकारीहरूकै बाटो समातेर पैसा कमाउनतिर ध्यान दिँदा न आफ्ना अग्रजको मान राख्नसके, न त सहकर्मी, समकक्षीको साथ लिनसके । उनले कनिष्ठ चिकित्सक, नर्स, कर्मचारी र विद्यार्थीको मन जित्न पनि सकेनन् । उनी अभिभावक बनेर आएका थिए । उपकुलपतिको हटसिटमा बस्नासाथ शासक मात्र बनेनन्, कमिसनको जोडघटाउमा व्यस्त हुँदा सर्वसाधारण बिरामीको उपचारमा समेत खेलवाड गरे प्रतिष्ठानलाई अस्तव्यस्त लथालिङ्ग बनाएर । अप्रेसन थिएटर विस्तार गर्छु भने, सिटी स्क्यान र एमआरआई जडान गर्छु भने । अटोमेटिक बायोकेमेष्ट्री एनालाइजर ल्याउँछु भने । बिरामीको चाप व्यवस्थापन गर्छु भने । चिकित्साशास्त्रको शिक्षण सिकाइमा सुधार गर्छु भने । मेडिकल उपकरण खरिदका लागि टेण्डरको सूचना पनि जारी गरे । तर, एक वर्ष कटिसक्यो एउटा सिन्को भाँचेनन् ।
बरु त्यहाँ निर्माणाधीन पाँच अर्बभन्दा बढीको भौतिक निर्माणमा संलग्न ठेकेदार कम्पनीसँग कमिसन लिँदै बसे । सामान्य ल्याव रिपोर्टका लागि चाहिने रिएजेण्टसमेत अभाव हुँदा पनि चासो लिएनन् । गफमात्र ठूलाठूला गर्नमै व्यस्त भए । गिरीले के गरे र के गरेनन् भनेर सबै छर्लङ्ग भइसकेको अवस्थामा उनको र उनलाई साथ दिने अस्पताल निर्देशक र शिक्षाध्यक्षले यतिबेलासम्ममा नैतिकताको आधारमा राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने होइन र ? आहा १ बीपी प्रतिष्ठानमा कति सहज उपचार हुन्छ, गुणस्तरीय उपचार सेवा बिरामीले पाएका छन् भनेर सकारात्मक सन्देश सर्वत्र फैलिएको भए आज पदाधिकारीहरूको इज्जतमा दाग लाग्दैनथ्यो । कपडामा लागेको दाग साबुन पानीले पखाल्न सकिन्छ तर, इज्जत र नैतिकतामा लागेको दाग पखालिन गाह्रो छ । शक्ति र सत्ताको आडमा पाएको पद र कुर्सी लामो समय टिक्न सक्दैन भन्ने विश्वको इतिहास साक्षी छ । पद र कुर्सीबाट हटे पनि यदि उनीहरूमा योग्यता र दक्षता छ भने जहाँ पनि बिरामीको प्रिय चिकित्सक बनिरहन सक्छन् भन्ने बुझ्न जरुरी छ ।