देशभरका गाउँपालिका तथा नगरपालिकामा मङ्गलबार नेकपा (एमाले)को अधिवेशन एकसाथ सुरु हुँदा धरानमा चाहिँ नेकपा (एमाले)को नगर अधिवेशन दुई ठाउँमा भयो । एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका नेता कार्यकर्ताले सैनिक भवनमा र ओलीइतर पक्षकाले होटल इजी राइडर्समा अधिवेशन गरे । एमालेका स्थानीय नेता कार्यकर्ताको पद लोलुपताले उत्पन्न यो अवस्था अन्य राजनीतिक दल र आम धरानवासीका लागि भने रमिता बन्यो । यो रमिताको विजारोपण पार्टीका अध्यक्ष ओलीले गरेका थिए । तर, देशका अन्य ठाउँमा समस्या समाधान हुँदै गएका बेला सुनसरीमा भने जिल्लास्तरीय नेताहरूले नै विवादलाई मजलज गरेपछि धरानमा रमिता प्रदर्शन भयो । अहिलेका लागि रमिता लागे पनि यसले भविष्यमा पार्टीलाई अझै धरासायी बनाउने निश्चित छ । त्यति मात्र होइन, एमालेको अहिलेको विवादले आम नगरवासीमा पनि निराशा जगाउँछ र त्यसको असर आगामी आम निर्वाचनमा पर्न सक्छ ।

कुनै समय धरानलाई विशेषगरी एमाले कार्यकर्ताहरू ‘नेपालको साङ्घाई’ भनेर गौरव गर्थे । लामो समयसम्म नगरमा एमालेले राज गरेको थियो । यो क्षेत्रबाट संसदीय निर्वाचनमा पनि एमालेकै उम्मेदवारले जित्थे । त्यसैले ‘धरानमा एमालेको नाममा सिन्को उठाए पनि जित्छ’ भन्ने दम्भ एमाले नेता कार्यकर्तामा पलाएको थियो । लामो समय एमालेले राज गरे पनि धरानमा उल्लेख्य विकास हुन सकेन । बरु भएका क्षेत्रीय र अञ्चलस्तरीय सरकारी कार्यालयहरू धमाधम अन्यत्र सारिए, त्यसलाई एमाले नेताहरूले रोक्न सकेनन् । नगरपालिका र विभिन्न सङ्घ–संस्थामा एमाले कार्यकर्ताको हालिमुहाली भयो । त्यसरी पार्टीगत रूपमा भर्ति भएका कार्यकर्ताहरूले धरानमा धमाधम घरजग्गा जोड्न थाले । जागिरको छोटो समयमा अस्वभाविक रूपमा नेता र कर्मचारीहरूको व्यक्तिगत सम्पत्ति बढ्न थाल्यो तर, धरानको विकासले फड्को मार्न सकेन । पार्टीले भर्ति गरेका कर्मचारीहरूले अनियमितता गरेको थाहा पाउँदा पनि उनीहरूलाई कारबाही भएन बरु त्यसबाट नेताहरूले समेत भाग पाए । त्यो कुरा विस्तारै सार्वजनिक हुँदै जाँदा आम नागरिकमा निराशा बढ्दै भयो । सङ्घीयतापछि अधिकार सम्पन्न स्थानीय सरकार गठन हुँदासम्म धरानवासीले एमालेलाई विश्वास गरे । तर, आफ्नै हातमा भएको अधिकार समेत प्रयोग गरेर नगरको विकास गर्न नसक्ने तर, व्यक्तिगत विकास, कार्यकर्ता भर्ति जस्ता कुराले निरन्तरता पाएपछि आम मतदाताले उपनिर्वाचनमा एमालेलाई पाखा लगाए । हुन त लालकिल्ला तोडिए पनि धरानको विकासले गति लिन सकेको छैन, त्यो बेग्लै प्रसङ्ग हो ।

उपनिर्वाचनमा पराजय भोगेपछि पनि एमालेमा चेतना पलाएन । वर्तमान मेयरले धरानको विकासलाई गति दिनुको साटो उनी पनि नातागोतालाई जागिर खुवाउन र आफै विवादित काममा फसे तर, त्यसलाई एमालेले मुद्दा बनाएर उठाउन सकेन । धरानमा किन विकास हुन सकेन ? भनेर बहस गर्न सकेन । किनभने एक त एमाले आफै पार्टीभित्रको किचलोमा अल्झियो, अर्को त्यसरी मुद्दा बनाउन स्थानीय नेताहरूले नैतिक धरातल गुमाइसकेका थिए । बरु पार्टी अध्यक्ष ओलीले दुई–दुई पटक संसद् विघटन गरेपछि उत्पन्न विवादमा धरानमा एमाले रुमल्लियो । सुरुमा ओली पक्ष र माधव पक्ष भएर विवादमा अल्झिएको एमालेमा माधव नेपालको समूहले अर्को दल खोलेर गएपछि पनि विवाद सकिएन । सुरुमा माधव समूहमा रहेका नेताहरू १० बुँदे मागसहित ओली पक्षमै सामेल भए । त्यही १० बुँदे लाइनका नेता कार्यकर्ता र ओली पक्षबीच अहिले पनि धेरै कुरामा असहमति छन् । त्यसको असर गाउँ तहसम्म पुगेको छ । त्यसको असर पनि अहिलेको अधिवेशनमा देखिएको हो । त्यसो त सुनसरी जिल्लामा पहिलादेखि नै नेताहरूबीच विवाद थियो । त्यसको असर पनि अहिले देखिएको छ । पार्टीभित्रको यो विवादले एमाले नेता कार्यकर्तालाई मात्र असर गर्दैन । यो समग्र धरानको विकाससँग पनि जोडिन्छ । यहाँको राजनीतिक संस्कार, नेता कार्यकर्ताको व्यवहारले समग्र धरानलाई असर गर्नसक्छ । त्यसकारण एमालेले देखाएको रमिताको जिम्मेवारी जिल्ला र नगरका नेताहरूले लिनुपर्छ । यसमा अर्कालाई दोष लगाएर आफू मात्र चोखो बन्न कसैलाई छुट हुँदैन, सबैको उत्तिकै हात छ ।