देशले जब जनताद्वारा निर्मित संविधान प्राप्त गर्यो । त्यसपछि अब देशमा विकास र समृद्धि आउने विश्वास गरिएको थियो । सबैभन्दा बढी विश्वास जनतामा पलाएको थियो । जनतामा विश्वास पलाउनुमा सबैभन्दा बढी भूमिका राजनीतिक दलको थियो । किनकि देशमा पहिलोपटक बामपन्थीको एकमना सरकार बनेको थियो । दुई ठूला बामपन्थी शक्तिहरू एक भएका थिए । त्यसले पनि धेरैलाई आशा जगाएको थियो । हरेक नेपाली जनताले राजनीति स्थायित्व चाहेका थिए । एकमना सरकार नहुँदाको पीडा जनताले हरेकपटक भोग्दै आएका थिए । छोटो अवधिमा सरकार फेरिने कारण विकास, समृद्धिलगायतमा नराम्ररी प्रभावित बनेको थियो । प्रजातन्त्र पुनर्वहालीपछि थुप्रैपटक सरकारहरू परिवर्तन हुने रोगले नेपाल नराम्ररी थलिएको थियो । त्यो रोग हट्ने विश्वास तब पलायो, जब देशमा संविधान बन्यो तर, संविधान बनेपछि जुन आकाङ्क्षा, अभिलासा नेपाली जनताले राखेका थिए । त्योअनुरूप हुन नसक्दा जनतामा फेरि निराशा पलाउन थालेको छ ।
देशको मूल नीति ‘राजनीति’ स्थायित्व नहुँदा हामीले थुप्रै कुराहरूबाट पछाडि पर्दै आयौं । स–साना विषयदेखि ठूल्ठूला विषयहरू राजनीतिकै कारणले प्रभावित बने । नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रबीचको एकतापछि जुन रूप देखियो, त्यसले जनता धेरै आशावादी बनेका थिए । त्यो आशामा केपी ओलीले पहिलो तुषारापात गरिदिए । ४१ महिना सरकार सञ्चालन गरेर बाहिरिएपश्चात् बनेको शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले झण्डै तीन महिनासम्म सरकारलाई पूर्णता दिन सकेन । यसले के के कुराहरू प्रभावित बन्यो, त्यो सबै घामजत्तिकै छर्लङ्ग छ । हिजो ओली सरकारले गरेका कतिपय निर्णयहरू देउवा सरकारले उल्टाएको छ । यस्तो परिस्थिति आउनुको पछाडि राजनीतिक कारण नै हो । यसको प्रभाव अब आउने निर्वाचनले पनि देखाउला । अबको निर्वाचनबाट एकमनाको सरकार बन्ने सम्भावना लगभग न्यून छ । त्यस्तो परिस्थितिमा फेरि पनि गठबन्धन सरकार नै बन्छ । गठबन्धन सरकार हुँदाको परिणाम हामीले हिजोदेखि भोग्दै आएका छौं । राजनीतिलाई सञ्चालन गर्ने सञ्चालकहरू अगतिलो हुँदाको परिणाम हामीले वर्षांैदेखि भोग्दै आइरहेका छौं । अझै कति भोग्ने हौं, त्यसको लेखाजोखा अहिले नहोला ।
नेपालीमा एउटा आहान छ– ‘सतीले सरापेको देश ।’ यो आहान कसरी बन्यो, यो खोजीको विषय हो, तर यसको गाम्भीर्यता बुझ्न कठिन पर्दैन । हामी त्यसको भुक्तभोगी जस्तै भइसक्यौं । यो देश १ सय ४ वर्षसम्म राणाले शासन गरे । त्यसपछि शाह वंशले पुनरागमन ग¥यो । राणाकालमा आफ्ना भाइभारदारहरूलाई मात्रै शिक्षादीक्षा दिने र राम्रो तहमा पु¥याउने संस्कार कायम थियो । त्यो संस्कारलाई शाह वंशले नक्कल ग¥यो । शाह वंशको पनि अन्त्यपछि पनि जनताका प्रतिनिधित्व गर्नेहरूले त्यसको नक्कल मात्रै गरेनन्, अन्ध नक्कल नै गरेका छन् । फलतः हाम्रा गुणस्तरीय जनशक्तिहरू विदेश पलायन हुन थाले । आमजनताको हकमा प्रजातन्त्र प्राप्त हुनुअघिको अवस्था जे थियो, आज पनि त्यही छ । थुप्रै राजनीतिक परिवर्तन भए, तर आमजनताले त्यसबाट के पाए ? उनीहरूको दैनानुदिन जीवनमा के फेरबदल आयो ? यदि वंश नै सञ्चालन गर्नु थियो भने त पुरानै व्यवस्था पनि त चलेकै थियो ? दैनिक रोजीरोटीमा कुनै फेरबदल आउँदैन भने त्यो राजनीतिको के अर्थ ? स्थायी सरकारका लागि पटक–पटक जनताले आहुती दिएका छन्, जनता सडकमा ओर्लिएका छन् तर, राजनीतिक दलहरूले त्यसलाई ऊर्जामा परिवर्तन गर्नुपर्नेमा थप निराशामा परिणत गरिरहेका छन् । यो कहिलेसम्म ?