बेमौसममा आएको दुईदिने झरीपछि उत्पन्न बाढी पहिरोले प्रदेश १ मा करिब ५० हजार हेक्टर धान बालीमा क्षति पु¥याएको छ । जनधनको क्षति त कति हो कति । प्रदेश १ मात्र नभएर ७७ जिल्लामै सबैभन्दा बढी धान खेती झापा, मोरङ र सुनसरीमा हुने गरेको छ । झापामा यो वर्ष ८७ हजार ५ सय हेक्टर क्षेत्रफलमा धानखेती लगाइएकोमा २० प्रतिशतभन्दा बढी धानबालीमा क्षति पुगेको छ । सुनसरीमा ७४ हजार ५ सय ४२ हेक्टरमा धान खेती गरिएकोमा २० प्रतिशत बढी क्षति पुगेको छ भने मोरङमा ८३ हजार ३ सय हेक्टरमा धान खेति गरिएकोमा १२ प्रतिशत भन्दा बढी धानबालीमा क्षति पुगेको छ । प्रदेश १ का अन्य १४ जिल्लामा बाढी पहिरोले नष्ट गरेका धानबालीका तथ्याङ्कहरू पनि यही अनुपातमा भएका छन् । अग्रज बूढापाकाहरूले वर्षाको मौसम सकिएपछि पनि यस्तै बेमौसमी वर्षा वि.सं. २०२५ सालको कात्तिकमा अर्थात् आजभन्दा ठीक ५३ वर्ष पहिले आएको थियो । त्यसले उसबेला ठूलै जनधनको क्षति पुर्याएको थियो ।
यो वर्ष अग्रीम वर्षाको मौसम भएकाले १४ जिल्लाको प्रदेश १ मा ३ लाख ४० हजार ८ सय हेक्टरमध्ये ३ लाख ३६ हजार हेक्टरमा धान रोपाइँ भएको थियो । आकासे पानीको भरमा अधिकांश किसानहरूले खेती गरेका थिए । गतवर्षको भन्दा बढी धान उत्पादन हुने प्रक्षेपण गरिएको थियो । बढी धान उत्पादन हुने भएकाले किसानहरू हर्षित हुँदै दशैं सकिएर तिहारको तयारी गर्दै पाकेको धान काटेर खेतमा पाँजा फिँजाएर राखेका थिए । तर, एकाएक आएको निरन्तरको वर्षाले बाढी पहिरोसँंगै जनधनको क्षति गर्दै लगाएको धानबाली नष्ट गरेपछि किसानहरूमा अहिले रुवाबासी चलेको छ । धानबाली नष्ट हुनु किसानलाई मात्र क्षति नभएर समग्र मुलुकका लागि नै क्षति पुग्नु हो । अहिले किसानको नष्ट भएको धानबालीको असर अबको हिउँदमा देखिनेछ, चामलको भाउ आकासिँदा । कृषिप्रधान मुलुक र नेपालमा पर्याप्त मात्रामा धानखेती हुँदै आए पनि किसानहरूले घरपरिवारको गर्जो टार्न दाइँ गरिनसक्दै व्यापारीको काँटामा धान पु¥याउने र व्यापारीहरूले भारततिर निर्यात गर्ने गरेका थिए । तिनै निर्यात भएका नेपालकै खेतको धान भारतीय ब्राण्डिङ भएर चामलको रूपमा महँगोमा हामीले किनेर खांँदै आएका छौं ।
यो वर्षको बेमौसमी वर्षाले धानबालीमा क्षति पु¥याएपछि धानको उत्पादन घट्ने निश्चित छ । ठूलो सङ्ख्यामा सहरमा बस्नेहरूका लागि किसानले गाउँमा उत्पादन गरेको अन्नबाली नै खाद्यवस्तुको रूपमा प्रयोग हँुदै आएको छ । तर, उत्पादन घटेपछि फेरि सहरिया होस् वा गाउँले सबैले महँगोमा चामल किनेर भात खानु पर्ने भएको छ । महँगोमा किनेर खानु भनेको कुनै पनि श्रमिक कामदार, जागिरेदेखि व्यापारी व्यवसायीले बढी पैसा खर्च गर्नु हो । बढी पैसा खर्च गर्नु भनेको अर्थतन्त्रमा असर पर्नु हो । अब बाढी पहिरोको मारमा परेका किसानहरूलाई सरकारले पहिचान गरेर उचित क्षतिपूर्ति दिनु एउटैमात्र विकल्प हो । तराईतिरका अधिकांश किसानको मुख्य आयस्रोत धानबाली नै हो । छोराछोरी पढाउने, दशैं–तिहार, छठ जस्ता चाडबाड मनाउने खर्चदेखि, लत्ताकपडा, नुन तेल खाने, विवाह भोजभतेर गर्न खर्चमात्र नभएर बिराम हँुदा उपचारका लागि अस्पाल धाउने र औषधि गर्ने पैसा पनि धान बेचेरै निकाल्ने गरेका छन् । यिनै विषयमा सरकारले किसानको मर्का बुझेर उचित क्षतिपूर्ति दिने व्यवस्था भए किसानको आँखाबाट निस्केको आँसु पुछिदिएको ठहरिनेछ ।