‘कोसीटप्पु वन्यजन्यु आरक्षमा आन्तरिक पर्यटक बढ्नु हाम्रो लागि सकारात्मक पक्ष हो । पर्यटकहरूको चहल–पहल बढे पनि कारोबार छैन । पर्यटकहरू दिनभर आएर घुमघाम गर्ने र साँझपख फर्किने गरेका छन्, जसले गर्दा व्यापार छैन’–पर्यटन व्यवसायी कुरबान मन्सुरी । 

कोसीटप्पु लोपोन्मुख अर्ना र पृथ्वीको उत्तरी गोलाद्र्धमा पर्ने साइवेरियाका चराहरूको विचरण स्थलमात्र होइन, विश्वकै सूचीमा परेको रामसार क्षेत्र पनि हो । रामसार क्षेत्र आफैमा जैविक विविधताले भरिएको हुन्छ । अन्तर्राष्ट्रिय महŒवको सिमसार क्षेत्रलाई इरानको रामसार सहरमा सन् १९७१ मा भएको वैज्ञानिक सम्मेलनमा सूचीकृत भएपछि रामसार भनिन थालिएको हो । यसर्थ कोसीटप्पु विश्वकै ध्यानाकर्षण गर्न सक्ने उत्कृष्ट पर्यटकीय रामसार क्षेत्र हो । तर, स्थानीय पर्यटन व्यवसायी कुरबान मन्सरीले व्यक्त गरेको विचारलाई ध्यानमा राखेर एकछिन सोच्ने हो भने कोसीटप्पुको महŒव सरकारले नबुझेको जस्तो देखिएको छ । अर्थात् बुझे पनि केही गर्न इच्छाशक्ति नभएको लाचार भएको देखिन्छ । त्यहाँ अर्नाको चर्तिकला हेर्न आएका पर्यटकहरू हुन् वा चराहरूको हुल हेर्न आएका पर्यटक, दिनभर घुमघाम गर्ने अनि साँझ परेपछि अन्तै सहरमा गएर बास बस्ने अवस्था सिर्जना हुनुले कोसीटप्पुमा आन्तरिक र वाह्य पर्यटकका लागि गुणस्तरीय खाने, बस्ने र सुरक्षित महसुस गराउने व्यवस्था छैन भन्ने देखाउँछ ।

आखिर अर्नाको राजधानी, चराहरूको स्वर्ग कोसीटप्पुमा एकरात बस्ने होम–स्टे र सामान्य होटल त छन् तर, कम्तिमा दिनभर घुमफिर गरेपछि आरामयुक्त गुणस्तरीय होटल, होम–स्टे अभावले कतिपपय वाह्य पर्यटकहरू विराटनगरको कुनै स्टार होटल खोज्दै बाहिरिने गरेका छन् । प्राकृतिक सौन्दर्य भएर मात्र हुँदैन, त्यो सौन्दर्य हेर्न आउनेहरूलाई त्यही प्रकृतिकै आसपासमा कम्तिमा एकरात रोकेर राख्ने सक्ने गुणस्तरीय खाने र बस्ने सुविधा पनि दिन सक्नुपर्छ पर्यटन व्यवसायीले । त्यसका लागि कोसीटप्पु वन्यजन्तु आरक्ष र सरकारले पहलकदमी गर्नु जरुरी छ । नत्र, कोसीटप्पु भएको र नभएको कुनै अर्थ हँुदैन स्थानीय बासिन्दाका लागि । विराटनगर, धरान, इटहरी, बिर्तामोड, दमकबाट घुम्न गएकाहरू घरनजिक भएकाले एकै दिनमा फर्किन सक्छन् । तर, उनीहरूलाई पनि एकरात कोसीटप्पुमै रोकेर राख्न सकेमा स्थानीय पर्यटन व्यवसायी र त्यहीँका सुमदायले आर्थिक लाभ लिन सक्छन् । झन् विदेशबाट घुम्न आएका पर्यटकहरूका लागि उनीहरूले चाहेजस्तो कम्तिमा स्टार होटल, स्वीमिङ पुल, स्थानीय कला, संस्कृति झल्किने सांस्कृतिक कार्यक्रम, स्वदेशीदेखि विदेशी खानाका परिकारको व्यवस्था पनि गर्न सक्नुपर्छ, कोसीटप्पु घुम्न आएका पाहुनालाई एकरात रोक्ने हो भने । पर्यटकहरूलाई लोभ्याउने अनेक उपाय छन् । कोसीटप्पुमा पुगेपछि त्यहाँको आदिवासी मौलिक खाद्य र पेयको परिकार के हो ? चराहरू त हेरियो, अर्ना पनि देखियो, हात्तीमा चढेर जङ्गल सफारी पनि गरियो । थकित भएपछि आरामदायक होटल, साउना वाथ, मनोरञ्जनात्मक सांस्कृतिक रमझमको उचित व्यवस्था गर्नसके एकरात मात्र होइन, खर्च गर्न सक्नेले एकसाता नै पनि जो कोही कोसीटप्पुमा रोकिन सक्छन् । सरकारले पर्यटन व्यवसायको बारेमा नारामात्र दिने गरेको छ । नीति र नियम पनि नबनाएको होइन तर, त्यसलाई मूर्तरूप दिनका लागि कार्यान्वयन गर्नसके कोसीटप्पुमा चल्ने पर्यटन व्यवसायबाट मात्र सरकारले वार्षिक रूपमा करोडौं राजस्व असुली गर्न सक्छ । पर्यटन प्रवद्र्धनका लागि सरकारले निजी स्तरमा लगानीमैत्री नीतिलाई कडाइकासाथ लागू गरे कोसीटप्पु अर्ना र चराका लागि मात्र नभएर पर्यटकहरूका लागि पनि साँच्चैको स्वर्ग बन्न सक्छ । जैविक विविधताले भरिपूर्ण रामसार भनेर मात्र हँुदैन, चराको स्वर्ग र अर्नाको राजधानी भनेर मात्र पुग्दैन । सिमसार, अर्ना र चरालाई पोष्टरमा देखाएर पर्यटकीय स्थल भनेर मात्र पनि हँुदैन । पर्यटकको ध्यानाकर्षण गर्ने अतिरिक्त क्रियाकलाप, भौतिक पूर्वाधार, यातायात, सञ्चारदेखि सुरक्षा र आरामदायी होटल रेस्टुराँको पनि व्यवस्था गर्नु जरुरी छ ।