मोरङमा प्रहरी हिरासतभित्रै थुनुवाको रहस्यमय मृत्यु भएको घटना सेलाउन नपाउँदै जिल्ला प्रहरी कार्यालय सुनसरीमा पनि थुनुवाको मृत्यु भएपछि घटनाले उग्र रूप लिएको छ । सुनसरीको भोक्राहा–५ का मोहम्मद हकिम साहको प्रहरी हिरासतमै मृत्यु भएपछि आइतबार दिनभर प्रहरी र पीडितपक्ष बीच झडप भयो । प्रहरीले दुई दर्जन भन्दा बढी अश्रुग्याँस प्रहार ग¥यो भने झडपमा प्रहरी र प्रदर्शनकारी गरी दुई दर्जनजति घाइतेसमेत भए । पीडित पक्षसँगको सहमतिपछि आन्दोलन रोकिए पनि हिरासतभित्र थुनुवाको मृत्यु कसरी भयो भन्ने प्रश्न गम्भीर बनेको छ । थुनुवाको मृत्युलाई पीडित पक्षले हत्या भएको आशङ्का गरेको छ भने प्रहरीले भने आत्महत्या गरेको दाबी गरिरहेको छ । चौबीस घण्टा सुरक्षाकर्मी तैनाथ हुने जिल्ला प्रहरी कार्यालयभित्र थुनुवाले त्यति सजिलै आत्महत्या गर्न सम्भव छ ? अहिले उठेको मुख्य सवाल यही हो । घटनाअनुसार ती युवक र इनरुवा–९ बबियाकी एक युवती पहिलादेखि नै प्रेमसम्बन्धमा थिए । उनीहरू विवाह गर्न चाहन्थे । केही समयअघि भागेर केही महिना उनीहरू सँगै बसेका पनि थिए । तर, केही पक्षले उनीहरूको सम्बन्ध छुटाउन चाहेको थियो । त्यसपछि प्रहरी लगाएर युवकलाई पक्राउ गरियो । प्रहरीले उनलाई अभद्र व्यवहारमा मुद्दा चलाएर हिरासतमा राख्यो । प्रेम नितान्त दुई मनबीचको सम्बन्ध हो । प्रेम गर्न जसलाई पनि अधिकार हुन्छ । के प्रेम गरेकै अभियोगमा कसैलाई पक्राउ गर्नु न्यायसङ्गत हो ? प्रहरीले प्रेम गर्नेलाई किन पक्राउ गरेर हिरासतमा राख्यो ? छानबिन त्यहाँबाट सुरु हुनुपर्छ ।
प्रेमसम्बन्धमा रहेकी युवतीले आफ्ना प्रेमीलाई पक्राउ गरेपछि सामाजिक सञ्जालमा गुहार माग्दै आफ्नो परिवार र प्रहरी मिलेर उनलाई पक्राउ गरेको तथा उनलाई मार्न सक्ने जानकारी दिएकी थिइन् । उनले भिडियोमा आफू आफ्नो प्रेमीसँग खुसी रहेको तर, आफ्नो परिवार त्यसको विरुद्ध रहेको र युवालाई मार्नका लागि मान्छेहरू खटाएको बताउँदै उनले भनेकी छन्, ‘बुबाले इनरुवाका सबै प्रहरीलाई पैसा दिएर मिलाउनुभएको छ ।’ नभन्दै युवकको प्रहरी हिरासतमा मृत्यु भयो । यो संयोग पनि हुन सक्छ तर, युवतीले भनेका कुरालाई गम्भीर रूपमा लिएर अनुसन्धान गरिनु आवश्यक छ । युवतीको यो भिडियोसँगै युवकको हत्या भएको पनि हुन सक्ने आशङ्का बाक्लिएको छ । युवतीको भनाइ र प्रहरीले देखाएको व्यवहार केही हदसम्म मिल्छ । किनकी प्रेम गरेको अभियोगमा पक्राउ गर्नुपर्ने कुनै कारण छैन । प्रेम गर्ने युवायुवतीलाई छुटाउन किन प्रहरीले भूमिका खेल्यो ? यो कोणबाट अनुसन्धान हुनु आवश्यक छ ।
प्रहरीले युवकले आत्महत्या गरेको दाबी गरेको छ तर, सर्वप्रथमतः हिरासतमा चौतर्फी सुरक्षा पहराबीच कसरी आत्महत्या हुनसक्छ ? अनुसन्धान हुनुपर्छ । यदि आत्महत्या नै गरेको भए पनि त्यो प्रहरीको लापरबाही हो । एउटा जिल्लाको सुरक्षाको जिम्मा लिएको प्रहरी कार्यालयभित्र एउटा निहत्था व्यक्ति त्यो पनि हिरासतमा रहेको व्यक्तिले कसरी आत्महत्या गर्न सक्छ ? एउटा थुनुवाले आत्महत्या गर्दासम्म त्यत्रा प्रहरीहरू कहाँ थिए ? के त्यो उनीहरूको लापरबाही होइन ? आत्महत्या नै गरेको भए पनि प्रहरी पनि त्यसमा दोषी देखिन्छ । प्रहरीले प्रेमसम्बन्धमा रहेको व्यक्तिलाई पक्राउ गरेर मानसिक यातना दियो । त्यही कारण युवाले आत्महत्या गरेको भए प्रहरीले पनि आत्महत्या दुरुत्साहन गरेको ठहरिन्छ । त्यसअर्थमा पनि प्रहरीमाथि नै अनुसन्धान हुनु आवश्यक छ । कसैले कसैलाई मन पराउनु, माया गर्नु प्राकृतिक अधिकारै हो । कसैको मायाप्रेमले अरूलाई नकारात्मक असर पर्दैन भने किन पक्राउ गर्नु आवश्यक प¥यो ? के कसैले माया प्रेम गर्न नपाउने ? प्रहरीले माया प्रेम गर्नेलाई जुन हिसाबले पक्राउ गरेर छुटाउने काम गरेको छ, त्यो नै गलत छ । कसैको करकाप बिना राजीखुसीले प्रेम गर्नेलाई प्रहरीले सहयोग गर्नुपर्छ । यदि कानूनबमोजिम उमेर पूरा नभएको अवस्थामा विवाह भएको भए दुवै पक्षलाई सम्झाई बुझाई गर्न सकिन्छ तर, प्रेम गरेको र भागेकै आधारमा पक्राउ गर्नु प्रहरीको पनि गल्ती हो । यस विषयमा गम्भीर रूपमा छानबिन होस् ।