कोसीटप्पु वन्यजन्तु आरक्षमा रहेका जङ्गली हात्तीमध्ये गत शनिबार राति आरक्षनजिकै मकुना नामक भाले हात्ती पनि करेण्ट लागेर मरेको घटनासहित ११ महिनाको अवधिमा करेण्ट लागेर तीनवटा हात्ती मरे । हुन त मकुनाले आरक्ष आसपासको मध्यवर्ती क्षेत्रमा आतङ्क मच्चाउँदा चार वर्षको अवधिमा ८ भारतीय नागरिकसहित २३ जनाको ज्यान लिइसकेको थियो । जङ्गली जनावरले ज्यान लिने गरे पनि आरक्ष मानवीय जनधनको सुरक्षा गर्दै वन्यजन्तुको संरक्षण गर्नमा भने चुक्दै आएको छ । यसअघि ०७७ मङ्सिर ७ गते आरक्षमा जङ्गली हात्तीको नाइके मानिएको ‘दाह्रे’ पनि करेण्ट लागेर म¥यो । सप्तरीको कञ्चनरूप नगरपालिका–५ स्थित पडेमारा भन्ने स्थानमा ३३ केभीको हाइटेन्सन विद्युत्को पोलमा धसारिने क्रममा अचानक तार चुँडिएर करेण्ट लाग्दा ‘दाह्रे’ मरेको थियो । दाह्रे हात्ती मरेको ५० दिनपछि आरक्षको अर्को हात्ती सप्तरीमा मृत अवस्थामा भेटिएको थियो । गहुँ खेतमा लगाइएको करेण्ट लागेर मरेको अवस्थामा सप्तरीको राजविराज क्षेत्रमा उक्त जङ्गली हात्ती फेला परेको थियो । जङ्गली जनावरबाट जनधनको क्षति हुनबाट बच्न मध्यवर्ती क्षेत्रका बासिन्दाले धानखेतमा विद्युतीय धराप लगाउने गरेका छन् । वन्यजन्तु संरक्षणका लागि आरक्ष भए पनि जङ्गली जनावर मानव बस्तीमा जान नसक्ने गरी आरक्ष र सरकारले व्यवस्था गर्न नसक्दा धरापमा परेर जङ्गली हात्ती मर्ने गरेका घटना सामान्य हुन थालेका छन् ।

वन्यजन्तुका आक्रमणका कारण आरक्ष आसपासका बासिन्दा असुरक्षित महसुस गर्छन् भने मानिसको कारण वन्यजन्तु पनि असुरक्षित हँुदै आएका छन् । आरक्ष र पशुअधिकारकर्मीहरूले मानिस र वन्यजन्तुबीचको सहअस्तित्वको वकालत त गर्छन् तर, त्यो सह–अस्तित्वलाई कसरी व्यवस्थित गर्ने भन्नेतिर ध्यान दिन नसक्दा वन्यजन्तुको आक्रमणबाट जनधनको क्षति हुने गरेको छ भने मानिसबाट वन्यजन्तु मर्ने र मारिने गरेका छन् । सुनसरी, सप्तरी र उदयपुर जिल्ला गरी कोसीटप्पु वन्यजन्तु आरक्ष १ सय ७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । तर, वन्य जन्तु संरक्षणका लागि आरक्षको क्षेत्रफल पर्याप्त नहुँदा पछिल्लो समय आरक्षभित्र रहेका विभिन्न प्रजातिका वन्यजन्तु असुरक्षित हुनु स्वभाविकै हो । सानो क्षेत्रफल भएकाले त्यहाँभित्र बसेर चरिचरन गर्ने अर्ना, हात्ती, बँदेललगायत वन्यजन्तु खानेकुरा खोज्दै आरक्ष आसपासका बस्तीमा प्रवेश गरेर जनधनको क्षति पु¥याउने गरेका छन् । यसको विकल्प आरक्षको क्षेत्रफल विस्तार गर्नु जरुरी छ । नत्र हात्ती, अर्नासहितका जङ्गली जनावर र मानवबीचमा द्वन्द्व यथावत् रहँदा दुवै पक्षले क्षति व्यहोर्नु पर्ने अवश्यम्भावी छ ।

आरक्ष प्रशासन जङ्गली जनावरबाट हुने मानवीय क्षति रोक्न र वन्यजन्तु व्यवस्थापनको मामिलामा चुक्दै आएको छ । जङ्गली जनावर र पर्यावरणबीच अन्तरसम्बन्ध हुन्छ । तिनै जङ्गली जनावरको संरक्षण गर्न राज्यले बर्सेनि करोडौं खर्च गर्दै आएको छ । आरक्ष पर्यटकीयस्थल पनि हो । जङ्गली जनावर र विभिन्न प्रजातिका चरा अवलोकन गर्न समेत आरक्षमा देशविदेशका पर्यटकहरू आउने गरेका छन् । तर, आरक्ष र सरकारको व्यव्स्थापकीय लापरबाहीले यसरी एकपछि अर्को गर्दै जङ्गली जनावर मर्नु र मारिनुले पर्यटन, पर्यावरण, प्राकृतिक सौन्दर्यतामा नकारात्मक असर पर्छ र त्यसको सोझो असर मुलुकलाई पर्छ । जङ्गली जनावरले मानवीय क्षति पु¥यायो भने त्यसका लागि विद्युतीय धराप थाप्ने वातावरण सिर्जना हुन नदिन राज्य ती जङ्गली जनावरको संरक्षणमा ध्यान दिन भने चुकेको देखिएको छ । अब पनि चेत नखुले चितवनमा एकपछि अर्को गर्दै दुर्लभ गैंडा मारिए झैं आरक्षका जनावरहरू पनि मारिने र मर्ने सम्भावना बढ्नेछ ।