अन्तर्राष्ट्रिय कानूनअनुसार दशजगा क्षेत्रमा कुनै पनि मानवीय गतिविधि रोक लगाइएको हुन्छ । नेपाल–भारत सीमा क्षेत्रमा भने बारम्बार अन्तर्राष्ट्रिय कानून उल्लङ्घन हुने गरेका छन् । नेपालमा धेरै भू–भागमा भारतले कानूनविपरीत अतिक्रमण गर्नेदेखि दशगजाभित्रै भौतिक संरचनाहरू निर्माण गर्ने गर्दै आएको छ । भारतले दादागिरी शैलीमा कतै सीमास्तम्भ नै सारिदिने, कतै दशजगामै सडक बनाउने, बाँध बाँधेर नेपाली भू–भागलाई डुबानमा पर्ने जस्ता अमानवीय र कानूनविपरीतका गतिविधि गर्दै आएको छ । भारतको यस्तो हेपाहा प्रवृत्ति कतिसम्म छ भने तुइनमा मान्छे तर्दै गरेका बेला तुइन नै काटिदिएर नेपालीलाई बेपत्ता बनाएको घटना सेलाएको छैन । यस्तो अमानवीय व्यवहार गर्दासमेत सरकारले कडा रूपमा भारतसँग कुरा गर्न सकेको छैन । नेपालले कूटनीतिक रूपमा दह्रो कुरा गर्न नसक्दा नै पटक पटक हेपिनुपरेको छ । 

भारतको बलमिच्याइँको पछिल्लो उदाहरण नेपाल–भारत सीमाक्षेत्रमा पर्ने विराटनगर भन्सार कार्यालय रानीको १ नम्बर गेटछेउमा भारतले नेपालतर्फ सिसिटिभी राखेर गुप्तचरी गर्ने गरेको सार्वजनिक भएको छ । कोरोना महामारीपछि सीमा क्षेत्र सिल भयो । त्यसको केही समयपछि नै भारतले दशगजा क्षेत्रमा सिसिटिभी राखेर रानी भन्सार कार्यालय क्षेत्रको सम्पूर्ण दृश्य कैद गर्ने गरेको छ । नेपाली सुरक्षाकर्मीका सम्पूर्ण गतिविधि समेत भारतबाटै निगरानी गर्ने गरिएको छ । जोगवनीमा सिसिटिभीको मनिटर राखेर नेपालतर्फका गतिविधि निगरानी गर्नु कानून विपरीतको कार्य हो । यस विषयमा नेपालका सुरक्षा निकायहरूले चनाखो हुनु आवश्यक छ । यस्तो गलत हर्कत रोक्न कानूनबमोजिमका कार्य अघि बढाउनु पर्छ । करिब दुई वर्षदेखि भारतले यसरी सिसिटिभी नेपालतर्फ फर्काएर निगरानी गरिरहे पनि सीमा क्षेत्रको सुरक्षा जिम्मा पाएको सशस्त्र प्रहरी र जिल्ला प्रशासन कार्यालयले अहिलेसम्म थाहा पाएको छैन । सीमा क्षेत्रमा खटिएका सुरक्षा निकायले नै आफूमाथि भइरहेको निगरानी पत्तो नपाउनुले उनीहरूको क्षमतामाथि पनि प्रश्न उठेको छ । अन्तर्राष्ट्रिय सीमा अर्थात् दशगजा क्षेत्रमा यस्ता अवैध गतिविधि गर्न नहुने कानूनै रहेको हुँदा सिसिटिभीबाट भइरहेको निगरानी तुरुन्त बन्द गरिनु पर्छ । त्यसका बारेमा नेपालका सरोकारवाला निकायले खोजी गर्नु आवश्यक छ । 

सुरक्षाका दृष्टिले संवेदनशील मानिने सीमा क्षेत्रमा कानून विपरीतका गतिविधि गर्न तुरुन्तै रोक्न नसके हो भने त्यसले भविष्यमा नेपालको राष्ट्रियतामाथि नै खतरा निम्त्याउन सक्छ । यस्तो अवस्थामा नेपालले चुप रहनु हुँदैन र फेरि पनि भारतको दादागिरी शैलीले निरन्तरता पाउनु हुँदैन । नेपाली भू–भाग पटक–पटक मिच्दै आएको भारतका अन्तर्राष्ट्रिय कानूनविपरीतका कार्यलाई हामीले अन्तर्राष्ट्रिय रूपमा कडाइका साथ राख्न नसक्दाको परिणाम पनि हो पछिल्लो गतिविधि । यस्ता मुद्दामा पनि बोल्न नसक्ने हो भने नेपालले भोलिका दिनमा फेरि यस्तै हेपाइ सहिरहन तयार हुनुको विकल्प छैन । एउटा स्वतन्त्र राष्ट्रका नाताले पनि भारतको बारम्बारको थिचोमिचो सहिरहनु हाम्रो पनि कमजोरी हो । यसर्थ सीमा क्षेत्रमा नेपाली भू–भागको गुप्तचरी गर्ने किसिमले राखिएका सिसिटिभी भारतले तुरन्त हटाउनु पर्छ ।