कोरोना महामारीयता धेरैजसो भारतीय सीमा नाका बन्द छन् । खुलेका थोरै नाकामा पनि कडाइ गरिएको छ । नेपाल सरकारले सीमा नाकाहरूमा सशस्त्र प्रहरी राखेको छ भने सीमा नजिकै नेपाल प्रहरी पनि खटाएको छ । त्यसबाहेक सादा पोसाकका सुरक्षाकर्मीहरू पनि उत्तिकै खटाइएका हुन्छन् ।
यतिको दह्रो सुरक्षा व्यवस्था भएपछि नेपाल–भारत सीमाबाट तस्करी नियन्त्रणमा आउनु पर्ने हो तर, सुनसरी, मोरङ र झापाका सीमाक्षेत्रमा तस्करी घट्नुको साटो बढिरहेको छ । प्रहरीले नियन्त्रण गर्न नसक्दा नयाँ नयाँ तरिका अपनाउँदै तस्करी मौलाउँदो छ । प्रहरी प्रशासनले तस्करी गर्नेहरूलाई निरुत्साहित गर्न सकेको छैन ।
पछिल्लो समय मोरङका सीमा क्षेत्रबाट कपडाको तस्करी भइरहेको पाइएको छ । मोरङमा विराटनगरको दक्षिण गेट, दरैया र चाइना मार्केटबाट अवैध रूपमा भित्रिने कपडा विराटनगर, धरान, इटहरी, दुहबी, बेलबारी, पथरी, उर्लाबारीसम्म पुग्ने गरेको प्रहरीकै अनुसन्धानबाट खुलेको छ ।
सुनसरीबाट सप्तकोसी नदीको किनार हुँदै गाँजा भारततर्फ तस्करी हुने गरेको पाइएको छ । सुनसरी प्रहरीले गाँजा तस्करी नियन्त्रण गर्न अभियान चलाएको बताए पनि तस्करी गर्नेहरू पक्राउ परिरहनुले उनीहरू निरुत्साहित बन्न सकेका छैनन् अर्थात् भित्रभित्र तस्करी भइरहेको छ भन्ने बुझ्न कठिन छैन ।
नेपाल–भारत सीमा नजिकका क्षेत्रबाट लागूऔषधदेखि खाद्यान्न, लत्ताकपडालगायतका सामग्री गैह्रकानूनी रूपमा ल्याउने, लैजाने क्रम बढ्नुले सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरूकै संलग्नता छ कि भन्ने प्रश्न पनि उठ्ने गरेको छ । केही समयअघि चाइनिज स्याउ तस्करीमा उच्च सुरक्षा अधिकारीहरूकै संलग्नता रहेको चर्चा चलेको थियो ।
उक्त घटनामा सादा पोसाकमा खटिने सुरक्षाकर्मीहरूको समेत मिलेमतोमा सिल रहेको सीमा नाकाबाट ट्रकमै चाइनिज स्याउ तस्करी गराएको पाइएको थियो । विगतका घटनाहरूले पनि सुरक्षाकर्मीहरूकै संलग्नतामा सीमा क्षेत्रमा तस्करी हुने गरेको पुष्टि गर्छ । त्यसअर्थमा माथिल्ला निकायहरूले सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरूको पनि नियमन गरिरहनु जरुरी छ ।
नेपाल–भारत सीमा क्षेत्रमा तस्करी मौलाउनुको मुख्य कारण खुला सिमाना पनि हो । सरकारले मान्छे आवत–जावत गर्ने नाकाहरूमा सुरक्षाकर्मी राखेको छ तर, पूरै सीमा खुला भएकाले जङ्गल, झाडी, जहाँसुकैबाट सीमा वारपार गर्न सकिने अवस्थासमेत छ । यस्तो खुला सीमाका कारण तस्करलाई अवैध बाटोबाट सामान छिराउन सहज छ । त्यसको तुलनामा सुरक्षाकर्मी सीमित ठाउँमा रहेकाले सबैतिर नियन्त्रण गर्न सम्भव छैन ।
यो बेग्लै कुरा भयो । यहाँ त सीमा नाकाको बाटो हुँदै ट्रकमै समेत अवैध सामान छिराइन्छ । त्यस्तो गर्नु सुरक्षाकर्मीको मिलेमतो विना सम्भव हुँदैन । यदि सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरूले इमान्दारितापूर्वक काम गर्ने हो भने धेरै हदसम्म तस्करी नियन्त्रण हुन्छ । तस्करहरूको यसरी मनोबल बढ्दैन । त्यसअर्थमा सीमा क्षेत्रमा बढ्दो तस्करी नियन्त्रण गर्न नसक्नु सुरक्षा निकायको कमजोरी हो ।
राज्यको सेवा सुविधा लिएर जे काम गर्ने जिम्मेवारी पाएको छ, त्यो पूरा गर्नु जो कसैको कर्तव्य हो । यहाँ आफ्नो कर्तव्य पालना नगर्नु लापरबाही मात्र होइन अपराधसमेत हो । तस्करीबाट आउने सामानहरूबाट राज्यको कर छलिन्छ । त्यसको असर समग्र देशको विकासमा पर्छ । कर छली गर्नेलाई संरक्षण गर्नु अपराध नै हो ।
त्यसैले सीमा क्षेत्रमा बढ्दो तस्करी नियन्त्रणका लागि सुरक्षाकर्मीहरू इमान्दारितापूर्वक लाग्नु आवश्यक छ । यदि उनीहरूको मिलोमतोमा तस्करी भइरहेको हो भने छानबिन गरेर माथिल्लो निकायबाट कारबाहीको दायरामा ल्याउनुपर्छ । अघिल्ला घटनाहरूमा संलग्न भेटिएका र आशङ्का गरिएकाहरूमाथि राम्रो अनुसन्धान र कारबाही भएन ।
तस्करीमा संलग्नहरूलाई उन्मुक्ति दिँंदै जाने हो भने तस्करी नियन्त्रण होइन, दिनानु दिन बढ्दै जाने निश्चित छ । आगामी दिनमा सुरक्षा निकायका नेतृत्वकर्ताहरूले तस्करी नियन्त्रणमा ध्यान पु¥याउनु जरुरी छ ।