सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोलागाउँमा एकै परिवारका ६ जनाको हत्याले समाजलाई सोच्न बाध्य बनाइदियो । उक्त घटनामा एकपछि अर्को ट्वीस्ट आउँदै गएको छ ।

२७ भदौमा हत्याका मुख्य आरोपी मानिएका लोकबहादुर कार्की (नातामा मृतकका भतिज) ले आवेग प्रेरित हत्या गरेको भनी प्रहरीमा खटिएका अनुसन्धान अधिकारीले सार्वजनिक गरेका थिए । यहाँसम्म कि प्रदेश १ प्रहरी कार्यालयका डिआइजी अरुणकुमार बिसीले पनि हत्या आवेग प्रेरित भनी मिडियालाई बताएका थिए ।

तर, अनुसन्धान हुँदै जाँदा थप चारजना पक्राउ परे । सोमबार उनीहरूलाई पनि सार्वजनिक गरिसकिएको छ । उनीहरूलाई सार्वजनिक भएलगत्तै यो घटना मनसाय प्रेरित भएको पुष्टि भएको छ । यतिसम्म कि हत्याको अघिल्लो दिनमात्रै हत्या योजना बनेको देखिन्छ ।

हत्या योजनाका मुख्य योजनाकार खड्गबहादुर कार्की रहेको खुल्नुले मनसाय प्रेरित हत्या भएको प्रष्ट भएको छ । तर, अहिले पनि हत्याका जुन कारणहरू खुलेका छन्, त्यो पर्याप्त कारण हुन् भन्नेमा आशङ्का जन्माउँदै गएको छ ।

हत्याको कारण अहिले पनि सामान्य नै छन् । गाउँघरमा यस्ता शब्दहरू एकले अर्कालाई प्रयोग गर्ने तथा हेलोहोचो गर्ने प्रचलन व्याप्त छ । यो हुनु आफैमा राम्रो हुँदै होइन तर, यसैका आधारमा हत्या हुनुले हाम्रो सामाजिक धरातल राम्रैसँग पराकम्प गरेको प्रतीत हुन्छ । हाम्रो समाज कतातिर गइरहेको छ, हामी कतातिर गइरहेका छौं ? पक्कै पनि एकपटक सोच्नुपर्ने बेला आएको छ । हरेक नागरिकका लागि यो पाठ बनेको छ । यदि यति नै कारण हो भने पक्कै पनि समाज कतातिर गइरहेको छ भनेर गम्भीर मन्थन गर्ने बेला भएको छ ।

आफ्ना आफन्त नै काल बनिरहेको जुन अवस्था छ, यसले सामाजिक विचलनको टड्कारो रूप प्रस्तुत गरेको छ । यो घटना समाजका लागि ऐना बनेको छ । यस्ता दुर्घटना हुन नदिनका लागि अब समाजले एकपटक हैन, हजारपटक सोच्नुपर्ने आवश्यकता बन्दै गएको छ ।

हो, कसैले कसैमाथि हेलोहोचो गर्नु सामाजिक अपराध हो । अहिलेको अपराध संहिताले मानहानिमा मुद्दा दर्ता गर्न सक्ने र कारबाही गर्न सक्ने अधिकार प्रत्यायोजन गरेको छ । बलियोले निर्धालाई हेलोहोचो गर्ने जुन समाजमा चलन छ, त्यो चलन कसरी प्रत्युत्पादक बन्दै गएको छ भन्ने यसले पुष्टि गरेको अवस्था छ । 

यस्ता घटनाहरूबाट के पाठ सिक्न जरुरी देखिँदै गएको छ भने कसैले पनि कसैलाई कुनै पनि बहानामा हेलोहोचो हुने किसिमका बोलीहरू बोल्नु हुँदैन । अर्कोतिर समाजमा मनोसामाजिक परामर्शको आवश्यकता बढ्दै गएको छ ।

अपराध आवेग प्रेरित र मनसाय प्रेरित हुने भनी कानूनले व्याख्या गरेको अवस्था छ तर, अहिले समाजमा जति पनि अपराधहरू हुने गरेका छन् । ती अपराधहरू मनसाय प्रेरित हुने गरेका छन् । सुनियोजित रूपमा हुने अपराधलाई हामी मनसाय प्रेरित अपराधको संज्ञा दिन्छौं । आफ्ना आफन्तहरूबाट पछिल्लो समय जुन खालको अपराध भइरहेको छ, त्यो आङ नै जिरिङ बनाउने खालको छ । पाँचथरको मिक्लाजुङ घटना त्यसको एउटा उदाहरण हो ।

त्यसकारण समाजलाई अब सामाजिक मनोपरामर्श दिनुपर्ने अवस्था देखिँदै गएको छ । मनोपरामर्श अपराधमा संलग्नहरूलाई मात्रै हैन, समाजमा सबै तह र तप्काका व्यक्तित्वहरूलाई पनि दिन आवश्यक बन्दै गएको यो घटनाले पनि पुष्टि गरेको छ ।

अपराधरहित समाजको परिकल्पना गर्नका लागि पनि सबै नागरिक सचेत हुन आवश्यक छ । हरेक सचेत नागरिकले सबै नागरिकलाई उत्तिकै माया र सद्भाव देखाउनुपर्छ । जसले गर्दा समाज एउटा दिशातर्फ उन्मुख हुनेछ ।