आजबाट हामी २७ औं वर्षमा प्रवेश गरेका छौं । एक प्रकारले भन्ने हो भने हामी वयस्क बनेका छौं । यो वयस्कता हुनुमा पाठकवृन्द, विज्ञापनदाता, शुभेच्छुक, आलोचकको अहम् भूमिका छ । विशेष गरी हामीभन्दा तपाईंहरूप्रति हामी आभारी छौं । हामी तपाईंहरूकै कारण यहाँ छौं । आज २७ औं वर्ष प्रवेशको ‘सेलिब्रेसन’ गर्न पाएका छौं । यो माया, सद्भाव र प्रेम अझ आउँदा दिनहरूमा पनि थप प्रगाढ पारिदिनुहुनेछ भन्ने आशावादी छौं । यस २७ वर्षका बीचमा विभिन्न आरोह–अवरोहहरूको सामाना गर्दै आयौं । पञ्चायती शासनको अन्त्यसँगै जन्मिएको अर्थात् प्रजातन्त्रको पुनर्वहालीपश्चात् धरानबाट प्रकाशन थाल्दा कम चुनौती थिएन । केन्द्रिकृत राज्यसत्ता हुँदै आज देश सङ्घीयतामा प्रवेश गरिसकेको छ । देश सङ्घीयतामा प्रवेश गरे पनि अहिले पनि केन्द्रिकृत सोचको धङ्गधङ्गी हट्न सकेको छैन । सङ्घीय, प्रदेश र स्थानीय तह गरी तीन तहमा विभक्त छ तर पनि अझै हामीले पूर्ण रूपमा अनुभूति गर्न पाएका छैनौं ।
प्रदेश १ को नेतृत्व गरिरहेको ब्लाष्ट टाइम्स दैनिकले पक्कै पनि प्रदेशका मुद्दाहरूलाई बढीभन्दा बढी स्थान दिने गरेको छ । यहाँका जनमानसका मुद्दाहरू, जनजीविकाका विषय र सामाजिक, राजनीतिक, भ्रष्टाचार, अनियमितता, यौन, अपराध, स्वास्थ्यजस्ता विषयलाई बढीभन्दा बढी प्राथमिकता दिइरहेका छौं । हरेक वर्ष पत्रकारिताको प्रवृत्ति (ट्रेन्ड) परिवर्तन भइरहेको छ । अहिले प्रविधिले गर्दा छापा पत्रकारितामाथि दिनानुदिन चुनौती थपिँदै आइरहेको छ । अब छापा मिडियाहरू टिक्दैनन् भन्ने हल्लाहरू पनि समाजमा व्याप्त छ । तर यथार्थ त्योभन्दा विल्कुल फरक छ । आज पनि अमेरिका, युरोपजस्ता मुलुकहरूमा छापा पत्रकारिताको लोकप्रियता घट्न सकेको छैन । छापा पत्रकारिता एउटा दस्तावेज हो । जसले सयौं वर्ष पछि पनि उत्तिकै महत्त्व बोक्ने गर्दछ । आज जसरी छापा पत्रकारितामाथि प्रश्न उठिरहेका छन् । पक्कै पनि केही न केही परिवर्तन हुन आवश्यक चाहिँ भइसकेको छ । त्यो किन पनि भने अहिले हरेकको हात हातमा मोबाइल छ । मोबाइलमार्फत विश्वको समाचारहरू पढ्न पाउँछन् भने दोस्रो चुनौतीका रूपमा सामाजिक सञ्जालहरू छन् । आज एउटा समाचार दशौं हजार व्यक्तिले हेर्न सक्ने भएका छन् । अमेरिकाको समाचारसँग सहज पहुँच छ । जुन हामीले थालनी गर्दा कल्पनाबाहिर थियो ।
अहिले भनिन्छ कि हरेक नागरिक पत्रकार हो । हो पनि, जो सामाजिक सञ्जालको पहुँचमा हुनुहुन्छ, उहाँहरूले छिनछिनमा सूचनाहरू आफ्नो किसिमले प्रवाह गरिरहनु भएको हुन्छ । ती सूचनाहरू नागरिकका लागि पर्याप्त छन् छैनन् त्यो वहसको विषय हो तर जुन प्रकारले सूचना प्राप्त गरिरहेका छन् वा आफैले पोष्ट गर्न सक्ने भएका छन् त्यस हिसाबमा पनि छापा पत्रकारितालाई केही चुनौती अवस्य पनि आएको हो । तर यसको प्रभावकारिता अहिलेकै अवस्थामा घटेको छैन । आज खोजी पत्रकारिता, तथ्याङ्क पत्रकारिताजस्ता विधाहरू छापा माध्यमले नै विश्लेषण गरेर लेख्न सकेका छन् । हो, अनलाइन मिडियाले पनि त्यस्ता विषयहरू उठान गरिरहेका छन् तर अहिले नै जनतामा अनलाइनप्रतिको विश्वास हुन सकेको अवस्था छैन । ती विविध कारणले त्यस्तो भइरहेको छ । मेन स्ट्रिमका मिडियाका सम्पादकहरू भएका अनलाइन मिडियाप्रति केही विश्वास भए पनि अधिकांश अनलाइन मिडियाले अहिले पनि टिआरपी बढाउने गरी मात्रै समाचारहरू पस्किरहेका छन् । २०५० को दशकमा छापा पत्रकारिताको पनि सन्ध्याकालीन पत्रिकाले गर्नेजस्तो सनसनीखेज बनाएर अनलाइन मिडियाहरूले सामग्री बेचिरहेका छन् । जसको कारणले पनि मानिसहरूप्रति विश्वास बढ्नुको सट्टा घटिरहेको छ । अझ युट्युबरका कारणले हाम्रो नेपाली मिडिया र पत्रकारहरूमाथि दिनदिनै चुनौती थपिएको यथार्थ हामीले कदापी भुलेका छैनौं । हामी अहिले पनि ‘इथिकल’भन्दा बाहिर गएर कुनै कुरालाई पस्किएर सनसनीखेज बनाउने प्रयास गरिरहेका छैनौं । त्यसैकारण पनि प्रदेश १ मा आजका दिनसम्म हामी आइपुग्न सफल भएका छौं । कोरोना महामारीका बीच पनि हामी सङ्घर्षरत थियौं, अहिले पनि छौं । यो वैश्विक युद्धमा ब्लाष्ट टाइम्सले हरदम नागरिकलाई सचेत गराउनेदेखि लिएर त्यससम्बन्धी लड्नका लागि प्रेरित पनि गरिरहेका छौं ।
कोरोनापछि थुप्रै छापा मिडियाहरू प्रकाशन हुन नसकेको यथार्थ हामीसामु छर्लङ्ग छ । प्रदेशका विभिन्न स्थान तथा जिल्लाबाट प्रकाशित हुँदै आएको छापा मिडियालाई कोरोनाले नराम्ररी पछा¥यो । कतिपय छापा सञ्चारमाध्यमहरू अहिले पनि माथि उठ्न सकेका छैनन् । तर हामी महामारीसँग युद्ध लड्दै पौठेजोरी खेल्दै पाठकहरूलाई सूचना र समाचारहरू पु¥याइरहेका छौं । यो हुनुको पछाडि पनि तपाईंजस्ता असल पाठक, असल विज्ञापनदाता, असल शुभेच्छुक र असल आलोचक भएकै कारणले सम्भव भएको हो । हामी यहाँ हुनु तपाईंहरूको योगदान र श्रेय हो । त्यसकारण पनि हाम्रो यात्रामा हातेमालो गर्दै एउटा युगमा प्रवेश गर्ने अवसर प्रदान गर्नुहुनेछ भन्ने आशाका साथ धन्यवाद ज्ञापन गर्न चाहन्छौं । जो हाम्रा लागि सदैव तपाईंहरू ऋणी हुनुहुन्छ ।