अहिले कोरोना भाइरसको महामारीबाट विश्व आक्रान्त छ । यो महामारी अहिले पनि पूर्ण नियन्त्रणमा आइसकेको छैन । नेपालमा पनि कोरोनाबाट १० हजार ९४८ जना मानिसले ज्यान गुमाइसकेका छन् । सात लाख ७९ हजार ४९२ जना सङ्क्रमित भइसकेका छन् । अझै हुने क्रम रोकिएको छैन । तर यहीँ बीचमा छिमेकी देश भारतका दक्षिणी प्रान्तमा निपा भाइरसको जोखिम बढेको खबर बाहिरिएको छ । यस भाइरसबाट एकजना बालकको ज्यान गएपछि भारतको दक्षिणी प्रान्त केरलामा उच्च सतर्कता अपनाउन थालिएको छ । अन्यत्र पनि यस भाइरसको जोखिम हुने स्वास्थ्यका विज्ञहरूले बताउँदै आइरहेका छन् । एउटा भाइरसबाट प्रताडित भइरहेका नागरिक फेरि अर्को किसिमको भाइरसको सामाना गर्नुपर्ने खतरा देखिएको छ । नेपालका स्वास्थ्य विज्ञहरूले पनि सावधानी अपनाउन सरकारलाई आग्रह गरिसकेको छ । नेपालमा हालसम्म यस भाइरसबाट पीडित भइसकेका छैनन तर निकट भविष्यमा पनि हुँदैनन् भन्ने कुनै ग्यारेन्टी छैन । त्यसैले स्वास्थ्य विज्ञहरूले निपा भाइरसको लक्षण तथा त्यस्ता शङ्कास्पद बिरामीहरू देखिए बेलैमा जानकारी गराउनका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आग्रह गरेको अवस्था छ ।
निपा भाइरसको सङ्क्रमणबाट भारतको केरलामा १२ वर्षे बालकको ज्यान गएको विजनेस स्ट्यान्डर्स्ले समाचार छापेको छ । भारतमा थप दुईजनालाई सङ्क्रमण पुष्टि भएको बताइन्छ । सन् २०१८ को मे महिनामा केरेलामा निपा भाइरस सङ्क्रमण पुष्टि भएको थियो । त्यसबेलामा १७ जनाको ज्यान गएको थियो । तर, २०१९ को डिसेम्बरबाट चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसले विश्वलाई नै आक्रान्त बनायो । जसका कारणले निपा भाइरसको ठूलो चर्चा हुन पाएन । अर्थात् यसबारे धेरै मानिसलाई जानकारी हुन पाएन । निपा भाइरस पशुबाट मानिसमा सर्ने र गम्भीर प्रकृतिको रोग लाग्ने जसले दिमागमा असर पु¥याउने बताइन्छ । उक्त भाइर प्राकृतिक रूपमा फ्रूट ब्याट जातको चमेरोमा पाइने जनाइएको छ । जसले कोरोनाजस्तै श्वासप्रश्वासमा असर पु¥याउने बताइन्छ । भारतको पश्चिम बङ्गाल र बङ्गलादेशमा पनि यस भाइरस देखिसकेको परिप्रेक्ष्यमा नेपाल पनि त्यसको जोखिममा रहेको सहजै अनुमान लगाउन सकिन्छ । किनकि नेपाल र भारतको खुल्ला सिमानाका कारण पनि हामीकहाँ चाँडै नै त्यस्ता भाइरसहरू आइपुग्ने अनुमान गर्न सकिन्छ । कोरोनाको तेस्रो भेरिएन्टको रूपमा रहेको डेल्टा त्यसको उदारहणका रूपमा लिन सकिन्छ । त्यसैले आजका दिनमा सरकारले सीमा क्षेत्रहरूलाई बढीभन्दा बढी ध्यान दिन जरुरी हुँदै गएको छ । सीमा नाकामा स्वास्थ्य जाँचलगायतका कार्यक्रमहरू गर्न आवश्यक देखिएको छ ।
बितिसकेपछि मात्रै सतर्कता अपनाउने हाम्रो अभ्यासहरू छन् । त्यस्ता अभ्यासलाई परिवर्तन गर्न आवश्यक देखिँदै गएको छ । त्यो कोरोना महामारीले नै हामीलाई सिकाएर गएको छ । अझै पनि कोरोनाको तेस्रो लहरको उच्च जोखिम रहेको स्वास्थ्य विज्ञहरूले बताइरहँदा हामी अर्को पनि भाइरसको सङ्क्रमणको जोखिममा पर्न सक्ने सम्भावनाहरू छन् । त्यसका लागि नागरिकले पनि आफ्नो कर्तव्य भुल्नु हुँदैन । नागरिक सचेत बन्नुपर्ने त छँदैछ, सरकारले पनि थप उच्च सतर्कता अपनाउन आजैबाट प्रयासहरू थाल्नुपर्छ । अनिमात्रै हामी भोलि हुन सक्ने सम्भावित दुर्घटनाबाट बच्न सक्छौं । कोरोनाले नै हाम्रो आर्थिक व्यवस्था तथा आर्थिक वृद्धिदरलाई यतिधेरै खुम्च्याइदिएको छ कि आम नेपालीको टाउकोमा विदेशी ऋण दिनप्रतिदिन बढ्दो छ । ५ अर्बमा सीमित ऋण कोरोना अवधिमा १७ अर्ब नाघेको अवस्था छ । यसले पनि हामी कति खस्किसकेका छौं भन्ने देखाएको छ । त्यसकारण पनि रोग लाग्नुभन्दा लाग्न नदिनुचाहिँ आजको आवश्यकता हो । त्यसका लागि पनि सरकार बेलैमा सचेत बनोस् । नागरिकले पनि आफ्नो दायित्वलाई मनन् गरेर हाल जारी रहेको कोरोना महामारीको तेस्रो लहरलाई नियन्त्रण गर्नका लागि पाइला चालियोस् । ताकि हामी सुरक्षित हुन सकौं ।