मानव स्वास्थ्य सबैभन्दा सम्वेदनशील विषय हो । सानो लापरबाहीले पनि स्वास्थ्यमा ठूलो असर पर्ने सक्छ, कतिपय अवस्थामा ज्यानै जान पनि सक्छ । कोरोना भाइरस विरुद्धको खोप लगाउने क्रममा कतिपय ठाउँमा लापरबाही हुने गरेका घटना सार्वजनिक भएका छन् । पछिल्लो पटक सुनसरीको इटहरी–२० तरहरामा लापरबाही भएको घटना सार्वजनिक भएको छ । यो घटनाले खोप लगाइदिने स्वास्थ्यकर्मीको त लापरबाही देखाएकै छ, त्यो भन्दा बढी लापरबाही चाहिँ तालिमै नपाएका स्वास्थ्यकर्मीलाई खोप लगाउने जिम्मा दिने निकायको देखिन्छ ।

पहिलो डोज भेरोसेल खोप लगाएकी ५५ वर्षीया लक्ष्मीमाया पुरी भदौ १३ गते खोप लगाइँंदै गरेको खबर सुनेर खोपकेन्द्रमा पुगिन् । उनको खोप कार्डमा पनि अघिल्लो पटक भेरोसेल खोप लगाएको उल्लेख थियो । तर, खोपकेन्द्रका स्वास्थ्यकर्मीले त्यसतर्फ ध्यान दिएनन् । उनलाई अस्ट्राजेनिका खोप लगाइदिए । उनलाई खोप लगाइदिने स्वास्थ्यकर्मी यो खोपसम्बन्धी तालिमप्राप्त स्वास्थ्यकर्मी होइनन् । उनी करारमा खोपका लागि नियुक्त भएकी हुन् । कोरोना विरुद्धको खोप लगाउन तालिमप्राप्त स्वास्थ्यकर्मी खटाउनुपर्छ । स्थायी कर्मचारीहरूलाई खोपसम्बन्धी तालिम दिइएको भए पनि करारका कर्मचारीलाई तालिम दिइएको थिएन । तालिम नपाएका कर्मचारीलाई खोप लगाउने जस्तो स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित कुरामा लगाउने व्यक्ति र निकाय यस्ता घटनामा जिम्मेवार हुनुपर्छ ।
भेरोसेल र अस्ट्राजेनिका फरक कम्पोजिसनका खोप हुन् । एउटै काम गर्ने भए पनि यिनीहरूको निर्माण नै फरक तरिकाबाट भएका छन् । हुन त हालसम्म दुवै खोप लगाउँदा कस्तो असर पर्छ वा लगाउन हुन्छ कि हुँदैन भन्ने बारे स्पष्ट छैन । यो अध्ययन अनुसन्धानकै विषयका रूपमा रहेको छ । तर, नेपाल सरकारले अहिलेसम्म पहिला जुन खोप लगाएको हो, त्यही मात्र लगाउने नीति लिएको छ । सरकारको नीति विपरीत फरक खोप लगाइँदा स्वास्थ्यमा कुनै गम्भीर समस्या उत्पन्न भएको त्यसको जिम्मेवारी कसले लिने ? खोप लगाउने व्यक्तिले कि, उनलाई नियुक्त गर्ने निकायले ?

फरक खोप लगाइएकी महिला बिरामी परेकी छन् । उनको अवस्था सामान्य नै रहे पनि त्यसले पछिसम्म केही असर गर्छ वा गर्दैन ? भन्ने विषयमा स्पष्ट भइसकेको छैन । यदि पछि त्यसले असर गर्ने देखिएमा के गर्ने ? त्यसको जवाफ कसले दिने ? यो घटनामा तालिमै नपाएका करारका कर्मचारीलाई स्वास्थ्यजस्तो संवेदनशील कुराको जिम्मा दिने अधिकारीहरूले जवाफ दिनुपर्छ । यो उनीहरूको लापरबाहीको उपज हो । मानव स्वास्थ्य कतिसम्म संवेदनशील विषय हो भने एकपटक गल्ती भएपछि सच्याउने ठाउँ पाउन मुस्किल पर्छ । कतिपय अवस्थामा सच्याउनै सकिँंदैन । यस्तो विषयमा लापरबाही कसरी भयो ? सरोकारवाला निकायले छानबिन गर्नु आवश्यक छ । छानबिनमा लापरबाही गर्नेलाई कारबाही होस् ता कि भविष्यमा यस्ता गल्ती नदोहोरिउन् । स्वास्थ्यसम्बन्धी निकायहरूले यो घटनालाई एउटा सामान्य गल्ती मात्र सम्झेर बेवास्ता गर्नु हुँदैन, किनकि आज बेवास्ता गरिए भोलि यस्ता घटना दोहोरिइरहने निश्चित छ । अहिले नै गम्भीर बनेर अनुसन्धान गरी कारबाहीको दायरामा ल्याए मात्र लापरबाही गर्नेहरू भविष्यमा सचेत हुन्छन् । अतः यो घटनामा राम्रोसँग छानबिन होस् ।