हालै प्रदेश १ मा मुख्यमन्त्री बनेका भीम आचार्यले पद पाएको दिनदेखि नै सरकार ढल्ने दिनगन्ती सुरु भएको छ । उनी यस्तो बेलामा मुख्यमन्त्री बने कि यो मुख्यमन्त्री पद उनका लागि ‘निल्नु न ओकल्नु’ जस्तो भएको छ । प्रदेशसभामा बहुमत प्राप्त एमाले विभाजित बनेपछि हालै राजीनामा दिएका अर्का मुख्यमन्त्री शेरधन राईलाई नै पद जोगाउन हम्मे परिरहेको अवस्थामा भीम आचार्यको आगमन झनै सकसपूर्ण देखिँदै छ । प्रदेशसभामा एमालेको ५२ मध्ये एक सांसद् निलम्बित छन् । ५१ जनामध्ये पनि सभामुखले मत दिन पाउने अधिकार हुँदैन । ५० जना सांसद्मध्ये पनि एमाले विभाजन भएपछि १० जना माधवकुमार नेपालको पार्टी नेकपा एकीकृत समाजवादीमा जाने निर्णय गरेका छन् । यो निर्णय नै मुख्यमन्त्री भीम आचार्यका लागि ‘पहिलो गाँसमै ढुङ्गो’ सावित हुने सङ्केत देखिएको छ । मुख्यमन्त्रीकै लागि उनी यसअगि पनि माधव गुटमा खुलेर लागेका थिए । पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनले गरेको संसद् विघटनका विरुद्धमा खुलेर लागे । अध्यक्षमाथि विभिन्न आरोप लगाउनसम्म भ्याए । अहिले माधव समूहले अर्को पार्टी दर्ता गरेलगत्तै उनी पुनः ओली क्याम्पमै फर्किए । मुख्यमन्त्री पदको लालचमा परेका उनको अब राजनीति करिअरमाथि नै प्रश्न उठ्ने अवस्था सिर्जना हुँदै गएको छ ।
मुख्यमन्त्रीकै लागि ओली क्याम्पमा आएको आरोप एकातिर खेपिरहेका छन् भने अर्कोतिर मुख्यमन्त्री पद पनि विश्वासको मत नलिउञ्जेलसम्मका लागि मात्रै स्थायित्व हुने देखिएको छ । उनी अहिलेकै अवस्थामा अल्पमतमा परिसकेका छन् । किनकि उनी पदमा बस्नका लागि ४७ जना सांसद् उनको पक्षमा देखिनुपर्छ । प्रदेश १ प्रदेशसभामा ९३ सांसद् रहेकामा बहुमत पु¥याउनका लागि ४७ मतको आवश्यकता पर्छ । एमाले विभाजित भएको र १० जना खुलेरै माधव नेपालको पार्टीमा जाने निश्चय गरिसकेकाले मुख्यमन्त्री आचार्यका लागि पद नै धरापमा परेको सङ्केत हो । अर्कोतिर अध्यक्ष ओलीले आफ्ना निकटका सांसद्लाई मन्त्री बनाउन भनेर दिएको निर्देशनको अवज्ञा गरेकाले पनि उनीमाथि पार्टीमा अर्को नैतिक प्रश्न पनि उठेको छ । पार्टी अध्यक्षको निर्देशनलाई लत्याएको बाहानामा उनी पार्टीबाट पनि किराना लाग्ने सम्भावना बढेको छ । एकातिर मुख्यमन्त्री पद जाने सङ्केत अर्कोतिर पार्टीमा किराना लाग्ने सम्भावनाले उनको राजनीतिक करिअरमाथि नै प्रश्न उठ्ने देखिएको छ । धेरैले उनलाई अवसरवादी नेताको रूपमा चित्रण गर्ने गरेका छन् । यसपटक माधव समूहले पनि त्यही प्रकृतिको आरोप लगाउन भ्याएको अवस्था छ । पदलोलुपताका कारण उनले सबैतिर विश्वास गुमाउँदै गएको अवस्था छ ।
राजनीति भनेको विश्वासमा गरिने क्रियाकलाप हो । त्यसको जग पनि विश्वासमै टिकेको हुन्छ । मुख्यमन्त्री भीम आचार्यले मुख्यमन्त्री पदका लागि जुन भूमिकामा देखिए, त्यसले उनको राजनीतिमाथि प्रश्न उठ्न थालेको छ । अब उनलाई पद जोगाउने जिम्मेवारी आइलागेको छ । यसका लागि उनले धेरै होमवर्क गर्न आवश्यक छ । माधव समूहमा जाने निर्णय गरेका नेताहरूलाई पार्टीमै टिकाइराख्नका लागि पनि भूमिका खेल्न आवश्यक छ । त्यसका लागि पनि ओलीले भीम आचार्यलाई परीक्षण गरेको हो कि भन्ने सङ्केत गरेको छ । यदि त्यसो हो भने मुख्यमन्त्री आचार्यको काँधमा ठूलो जिम्मेवारी छ । एकातिर मुख्यमन्त्री पद जोगाउने जिम्मेवारी छ भने अर्कोतिर विभाजित पार्टीमा बहकिन नदिनका लागि सांसद्लाई एमालेमै टिकाइरहने जिम्मेवारी पनि उनकै काँधमा छ । राजनीतिमा त्याग, समर्पण र विश्वासको वातावरण बनाई राख्नका लागि पनि व्यक्तिले महŒवाकाङ्क्षालाई तिलाञ्जलि दिनुपर्छ । अनिमात्रै राजनीतिमा असली खेलाडी भइन्छ । आजको दिनमा मुख्यमन्त्री आचार्यमा यही त्याग र समर्पणको आवश्यकता थियो तर, उनी त्यसमा चुकेका छन् । अबको राजनीति यात्रा र मुख्यमन्त्री पद दुवै धरापमा छ ।