सुनसरी लागूऔषध प्रयोगकर्ताका हिसाबले देशमै दोस्रो नम्बरमा आउँछ । कारोबारका हिसाबले पनि उच्च नै छ । नेपाल प्रहरीको तथ्याङ्कले त्यही देखाउँछ । अझ डरलाग्दो तथ्य त के भने विगतमा सामान्यखालका लागूऔषध प्रयोगकर्ताको बाहुल्य थियो भने अहिले कडाखालका लागूऔषधको कारोबार र प्रयोग बढेको देखाएको छ । यो गतिलो सङ्केत होइन । ब्राउनसुगर (जसलाई खैरो हेरोइन भनेर पनि चिनिन्छ) को कारोबार ह्वात्तै बढ्नुले कारोबारी र प्रयोगकर्ता पनि बढिरहेको देखाएको छ । खुल्ला सीमाका कारण पनि सुनसरीमा लागूऔषधको कारोबार बढी हुने गरेको अनुमान गरिन्छ । विशेषगरी नेपालबाट गाँजा भारततर्फ निर्यात हुने र भारतबाट कडा खालका लागूऔषध सुनसरीमा भित्रिँदै आएको छ । लागूऔषध नियन्त्रणका लागि प्रहरी पनि परिचालित भएकै छन् तर, कारोबारीले विभिन्न सूत्रहरू लगाएर पनि कारोबारीले भिœयाउने गरेको तथ्य छिपेको छैन ।

जिल्ला प्रहरी कार्यालय सुनसरीको तथ्याङ्क हेर्दा हरेक वर्ष बढ्दो ग्राफमा छ । आर्थिक वर्ष २०७५/०७६ मा २७० ग्राम २ सय ९३ मिलिग्राम बरामद हुँदा पछिल्लो वर्ष ४७ ग्राम ३ सय २६ मिलिग्राम बरामद भएको थियो । आ.व. २०७७/०७८ मा ५ सय २४ ग्राम २ सय ३१ मिलिग्राम बरामद भएको देखिन्छ । पक्राउ अभियुक्तका हिसाबले पनि हरेक वर्ष बढ्दो नै पाइएको छ । यो हुनु समाजका लागि पक्कै पनि गतिलो सन्देश होइन । यसले समाजको संरचनालाई धमिराले खाएजस्तै बनाइरहेको सङ्केत हो । यस्तो डरलाग्दो तथ्यका बीचमा हामी गुज्रिरहेका छौं । समाज पैसामुखी बन्दै गएको यसले पनि प्रमाणित गरेको छ । छोटो र छिटो पैसा कमाउने लोभका कारण पनि यस्ता अपराधहरूले जन्म लिइरहेका छन् । सामाजिक समस्याको रूपमा रहेको यो समस्यालाई निराकरणतर्फ सबैले हातेमालो नगर्ने हो भने भोलि ठूलै दुर्घटनामा निम्तिने सम्भावनामा छौं । तपाईं हाम्रा बालबच्चाहरू पनि यसको कुलतमा फस्न सक्ने र अपराध कर्ममा पुग्ने सम्भावना एकदमै छ । त्यसैले नियन्त्रणका लागि एक्लो प्रहरीकोे प्रयासले मात्रै सम्भव छैन । प्रहरीलाई हरेक नागरिकले साथ दिन जरुरी छ ।

प्रहरीको मात्रै जिम्मेवारी हो, ऊ मात्रै जवाफदेही हो भनेर नागरिकहरू पन्छिने हो भने सामाजिक संरचनालाई नै खल्बल्याउँछ । ढिलो–चाँडो हामी त्यो मार्गमा अगाडि बढिरहेको छौं कि भन्ने सङ्केत प्रहरीको तथ्याङ्कले देखाउँदै गएको छ । यसका निम्ति प्रहरी जति जवाफदेही हुनुपर्छ, त्यति नै जवाफदेही नागरिक पनि हुनुपर्छ । किनकि हाम्रा बालबच्चाको संरक्षण गर्ने दायित्व सबैभन्दा बढी हाम्रो हो । आज कसैको छोराछोरी यो कुलतमा र अपराधमा फसिरहेको होला, हामीलाई यस्तै लाग्ला तर, जुन बेला हाम्रा परिवारका सदस्य पनि त्यसतर्फ अगाडि बढिसकेका हुनेछन्, त्यतिबेला निक्कै ढिलो भइसकेको हुनेछ । हो, कानून कार्यपालकका हिसाबले प्रहरीको भूमिका केही बढी हुनसक्छ तर, हामी पनि समाजको सदस्य भएकाले हाम्रो पनि दायित्व उत्तिकै हुन्छ । त्यसका लागि प्रहरीलाई साथ सहयोग गरेर अपराधलाई न्यूनीकरण गर्न भूमिका खेल्नुपर्छ । त्यसका लागि आजैबाट प्रण गर्न जरुरी छ ।