सुनसरीको रामसार क्षेत्र कोसीटप्पु वन्यजन्तुलाई आरक्ष राष्ट्रिय निकुञ्ज बनाउने तयारी हुनुले राम्रै सन्देश प्रवाह गरेको छ । निकुञ्ज बन्दाका फाइदा र आरक्ष मात्रै रहँदाका बेफाइदा के हुन्छन् भनेर नागरिकस्तरमा पनि बुझाउन आवश्यक चाहिँ छ । कोसीटप्पु आरक्ष भए पनि अहिले त्यहाँका नागरिकलाई प्रत्यक्ष फाइदाभन्दा बढी घाटा बेहोरिरहेका छन् । बर्सेनि हात्ती आतङ्कको मारमा स्थानीय पर्दै आएका छन् । हात्ती आतङ्कले मानवीय र भौतिक क्षतिको सामना गरिरहनुपरेको छ । झण्डै १५ भन्दा बढी नागरिकले ज्यान गुमाउँदै आएका छन् भने करोडौंको बालीनालीमा क्षति पुर्याउँदै आएको छ । त्यसलै अहिले आरक्ष भएर पनि नागरिकको तहमा भने फाइदा हुन सकेको देखिँदैन । उल्टो घाटा बेहोरिरहनु परेको छ ।

निकुञ्ज हुनु नराम्रो हुँदै होइन तर, त्यसका फाइदाबारे नागरिकलाई जानकारी दिनुपर्छ । हाम्रो देशमा गा.वि.स.हरू जसरी गाउँपालिकामा परिणत भए, त्यसले नागरिकस्तरमा फाइदा पुग्यो कि पुगेन, त्यसको लेखाजोखा अझै हुन सकेको छैन । कसैका निम्ति गरिदिने परिपाटी हाम्रो देशको पुरानै रोग हो । जनहितलाई ध्यानमा राखेर काम गर्नु चाहिँ हितकर हुन्छ तर, त्यसो भएको पाइँदैन । हात्ती आतङ्कबाट प्रताडित बन्दै आएका नागरिकले निकुञ्ज बनेपछि यो–यो सुविधा प्राप्त गर्छन् भन्ने प्रत्याभूति चाहिँ अवश्य हुनुपर्छ । आजका दिनमा आरक्षले धेरै पर्यटकलाई भित्र्याउन सक्ने अवस्था छ तर, त्यसो भएको पाइँदैन । चराका लागि प्रख्यात कोसीटप्पुमा चरासम्बन्धी अध्ययन गर्न चाहने, अनुसन्धान गर्न चाहने र हेर्न चाहनेलाई मात्रै भित्र्याउन सक्दा पनि लाखौं रुपैयाँ राजस्व राज्यको ढुकुटीमा जाने सम्भावना छ तर, यसतर्फ आरक्षका अधिकारीहरूले ध्यान दिएको पाइँदैन । हचुवाको भरमा काम गर्ने र त्यो कामको श्रेय लिने परम्परामात्रै छ । त्यसलाई फलाउने, फुलाउनेतर्फ हाम्रो ध्यान गएको पाइँदैन । अहिले हुन लागेको निकुञ्जको प्रयास पनि त्यसतर्फ मात्रै केन्द्रित नहोस् ।

अहिले सुनसरीबाट चुनाव जितेर मन्त्री बनेका कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जुन प्रयास गरेका छन् । त्यसको प्रशंसा नै गर्नुपर्ला तर, मैले गरेँ भन्ने श्रेय लिनका लागि मात्रै गरिन लागिएको हो भने त्यसका फाइदा र बेफाइदाबारेमा नागरिकको तहमा विशेषगरी स्थानीयलाई बुझाउन जरुरी छ । स्थानीयले निकुञ्ज हुँदाका फाइदा बुझ्नसके र त्यसबाट उनीहरूले राहत पाउने स्थिति सिर्जना हुन सक्यो भने चाहिँ पक्कै पनि आरक्षबाट निकुञ्ज बन्नु राम्रो हो तर, हिजोजस्तो हात्ती तथा त्यस्ता जङ्गली जनावरबाट प्रताडित भइरहने स्थिति आयो भने त्यसको कुनै अर्थ हुन्न । स्थानीय जनताले त्यसबाट लाभ पाउने स्थिति सिर्जना भएन भने निकुञ्ज र आरक्षबीचको ताŒिवक भिन्नता रहँदैन । एक सय ७५ वर्गकिलोमिटरमा फैलिएको आरक्षबाट जसरी हामीले लाभ लिनुपर्ने हो, त्यसरी अहिले पनि लाभ लिन सकेको स्थिति छैन । यसका लागि केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको भूमिका सबैभन्दा महŒवपूर्ण हुन्छ । निकुञ्ज हुनेबित्तिकै हजारौं पर्यटक भित्रिहाल्ने भन्ने हुँदैन । त्यसका लागि पूर्वाधार र विदेशी पर्यटकका लागि त्यसखाले वातावरणको विकास गरिन जरुरी छ । उनीहरूका लागि सहज भएमा मात्रै हाम्रो गन्तव्यमा आउनेछन् । त्यो वातावरण सबैभन्दा बढी स्थानीय र प्रदेश सरकारले खेल्न आवश्यक छ । निकुञ्ज बन्दै भएका सबै समस्या छुमन्तरका भरमा हट्छन् भन्नु चाहिँ कुनै पनि कोणबाट सुहाउँदो कुरा होइन । त्यसैले आरक्ष होस् या निकुञ्ज त्यसका लागि वातावरण तयार गर्नु चाहिँ कोसीटप्पुका लागि श्रेयष्कर हुन्छ ।