लामो समयदेखिको लकडाउनले उद्योगधन्दा चौपट छ । व्यापार–व्यवसाय ठप्प छ । गरिखाने वर्गका लागि समस्यैसमस्या बोकेर आएको छ, लकडाउन । त्यसैले पनि आम नागरिक लकडाउन चाँडो अन्त्य होस् भन्ने कामना गरिरहेका छन् । अहिले पनि देशमा लकडाउन जारी नै छ तर, यसको रूप फरक छ । खुकुलो लकडाउन भएका कारण धेरैजसो बजारहरू खुल्ला छन्, यातायात खुल्ला छ । बजारमा भीडभाड बढ्दो छ । बजारमा बढ्दो भीडले कोरोना सङ्क्रमण दर फेरि पनि बढ्न थालेको छ । सङ्क्रमण दर बढ्न थालेपछि विज्ञहरूले तेस्रो लहर नेपालमा फैलिने चिन्ता व्यक्त गरिरहेका छन् । त्यही आधारमा फेरि कडा लकडाउन गर्ने तयारी पनि भइरहेको छ । धरान उपमहानगरपालिकाले बजारमा भीड अनियन्त्रित भएको, विज्ञहरूले तेस्रो लहरको खतरा रहेको भन्दै सतर्क रहन सुझाव दिएको लगायतका कारण देखाउँदै कडाखाले लकडाउन गर्ने तयारी गरेको छ । तर, व्यापारी व्यवसायीहरू भने लकडाउन मात्र विकल्प नरहेको भन्दै लकडाउनको विपक्षमा देखिएका छन् । कोरोना महामारी अझै कहिलेसम्म रहन्छ भन्ने टुङ्गो लागिसकेको छैन । त्यसैले लकडाउन मात्र गरिरहँदा आम नागरिकदेखि राज्यसम्मको आर्थिकस्तर झनै खस्किँंदै जाने अवस्था छ । त्यसकारण पनि लकडाउनको विकल्प खोज्नुपर्ने बेला आएको छ ।
अन्य कतिपय देशहरूमा लकडाउनको समयमा सरकारले आफ्ना नागरिकहरूको समस्या बुझेर उनीहरूको बैङ्क खातामा पैसा पठाउने, व्यापारी व्यवसायीलाई क्षतिपूर्ति दिने, विद्यार्थीहरूलाई सहयोग गर्ने काम भएका छन् तर, नेपालमा सरकारले त्यसो गर्ने सम्भावना पनि देखिँंदैन । त्यसो हुँदा दैनिक काम गरेर खाने, सानोतिनो व्यापार–व्यवसाय गरी जीविकोपार्जन गर्ने नागरिकहरू सबैभन्दा बढी मारमा परेका छन् । यदि कडा लकडाउन नै गर्ने भए उनीहरूका बारेमा सोच्नु आवश्यक छ । यसअघिका लकडाउनबाट देखिएको कुरा के हो भने लकडाउनको समयमा स्थानीय सरकारले समेत नागरिकलाई राहत पु¥याउन सकेन । त्यसपछि आमनागरिक जोखिम मोलेर बजारमा निस्किए । उनीहरूलाई कारबाही गरेर मात्र पनि समस्या समाधान हुँदैन । मान्छेलाई जीवन यापन त गर्नै प¥यो । राज्यले अभिभावकको भूमिका निर्वाह गर्न नसकेकै कारण यस्तो अवस्था आएको हो । यदि राज्यले वास्तविक अर्थमा अभिभावकको भूमिका निर्वाह गरेको भए आम नागरिकलाई कडा लकडाउन गरेर नियन्त्रणमा पनि राख्न सक्थ्यो ।
तर, अर्कातिर विज्ञहरूले भनेजसरी नै कोरोना महामारी फैलिने क्रम बढिरहेको छ । तेस्रो लहरको कोरोना फैलिएमा भयावह अवस्था आउने विज्ञहरूले बताइरहेका छन् । त्यसकारण पनि यसबाट सतर्क भने रहनै पर्ने हुन्छ । अहिले फैलिरहेको सङ्क्रमणको कारण आम नागरिकको लापरबाही पनि हो । त्यसकारण एकातिर आम नागरिक सचेत बन्न आवश्यक छ भने अर्कातिर सरकारले लकडाउनको विकल्प खोज्नुपर्ने अवस्था छ । लकडाउनको विकल्पका रूपमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउने हो भने पनि धेरै हदसम्म नियन्त्रण हुन सक्ने विज्ञहरूले नै बताएका छन् । तर, आम नागरिकले मापदण्डसमेत पालना नगर्दा जोखिम बढिरहेको छ । सरकारले सबै नागरिकलाई खोपको व्यवस्था गर्नसके लकडाउन गर्नुपर्ने अवस्था नआउन पनि सक्छ । त्यसैले खोपमा ध्यान दिनु आवश्यक छ । कसरी सबै नागरिकलाई खोप लगाउन सकिन्छ भन्नेमा स्थानीय तहहरूले पनि सोच्नुपर्छ । सकेसम्म लकडाउन नगरेर यसका अन्य विकल्पहरूको खोजी गर्नु आवश्यक छ । नागरिकलाई कहिलेसम्म घरभित्र थुनेर राख्ने ?