सर्वोच्च अदालतको परमादेशपछि प्रधानमन्त्री नियुक्त भएका नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाबाट आमजनताले त्यति धेरै अपेक्षा राखेका थिएनन् । यसको मतलव उनले सरकार सञ्चालन गरिरहँदा आधारभूत आवश्यकताहरूमाथि पनि नजरअन्दाज गरून् भन्ने चाहिँ थिएन तर, आज सरकार गठन भएको चौथो हप्तामा प्रवेश गरिरहँदा पनि जनताले न्यूनतम् आवश्यकताहरू प्राप्त गर्न सकेका छैनन् । यतिबेला कोरोनाको दोस्रो चरणको महामारी र तेस्रो चरणको पूर्वावस्थामा आम नेपाली गुज्रिरहेका छन् । यो बेलामा सरकारको पहिलो प्राथमिकता खोप हुनुपर्छ भन्ने नै हो । केपी शर्मा ओली सरकार सत्ताच्यूत भइरहँदा आम नेपालीले खोप चाहिरहेका थिए । असार २९ गते सरकार गठन भइरहँदा देउवा सरकारले आउँदो चैतभित्र नेपालीलाई खोप दिलाइसक्ने प्रतिबद्धता गरेको थियो तर, सरकारको कार्यशैली हेर्दा आगामी चैतभित्र खोप दिलाउन सक्ने अवस्था देखिएको छैन ।
आमजनताले देउवा नेतृत्वको सरकारबाट जति आशा भरोसा गरेका थिए, त्यो पनि पूरा हुन सक्ने अवस्था देखिएको छैन । किनकि आजको दिनसम्म आइपुग्दा पनि गठबन्धनको पूर्ण सरकार बनाउन सकिरहेका छैनन् । यस्तो विषम परिस्थितिमा स्वास्थ्य मन्त्री चयन गर्न सकिरहेका छैनन् । व्यवसायीलाई स्वास्थ्य राज्यमन्त्री चयन गरेर उनी थप आलोचित बनिरहेको अवस्था छ । स्वास्थ्य राज्यमन्त्रीले आफ्नो जिम्मेवारीलाई कसरी अहिलेको पृष्ठभूमिमा पूरा गर्लान्, त्यो हेर्न बाँकी छ । आज आमनागरिकलाई कोरोना भाइरसविरुद्ध खोपको आवश्यकता छ । खोपको उपलब्धता भने शून्यकै अवस्थामा छ । अहिले पनि आम नागरिकहरू खोपका लागि चर्को घाममा लाइन बसिरहेका छन् तर, खोप पाउन सकिरहेका छैनन् । कतिपय स्थानमा खोपमाथि नै राजनीति भइरहेको अवस्था छ । विराटनगरका प्रमुख भीम पराजुलीले आफ्ना कार्यकर्तालाई सुटुक्क खोप दिएको भनी समाचार नै प्रकाशित भयो । त्यस्तै झापाको बिर्तामोडमा स्वास्थ्यकर्मीले नै होटलमा खोप लुकाएको अवस्थामा पक्राउ परे । यस्ता कर्तुतहरू बाहिर आइरहेका छन्, तर पनि उनीहरूमाथि कारबाही गर्ने निकायले कारबाही गर्न सकिरहेको छैन । सरकार जुन परिस्थिति र अवस्थाका बीचमा बनेको थियो । त्यस हिसाबमा सरकारले गर्ने जिम्मेवारीहरू अहिले पनि अगाडि बढाउन सकेको देखिँदैन । अझै सरकार गठनमै अलमल भएको देखिन्छ ।
हरेक बिहानीले नै दिउँसोको सङ्केत गर्छ भन्ने लोकोक्तिले नै देउवा नेतृत्वको सरकारको छनक दिन थालेको छ । हिजो जुन जुन कालखण्डमा देउवा सरकारमा थिए, त्यो बेला पनि देउवा नेतृत्वको सरकारले गतिलो प्रगति गर्न सकेको थिएन । सधैँ आलोचित हुँदै आएका थिए । यसपटक सुधार गर्ने सम्भावना छ तर, त्यसको छनक आइरहेको छैन । पाँचौंपटक उनी प्रधानमन्त्रीका रूपमा छन् । उनको उपस्थितिका हिसाबमा परिपक्व हुनुपर्ने हो, त्यसअनुरूप भएको पाइँदैन । यतिबेला कोरोनाको तेस्रो लहर आउने भनी विज्ञहरूले चेतावनी दिइरहेका छन् । त्यसउपर देउवा सरकार गम्भीर भएको पाइँदैन । पहिलो र दोस्रो लहरबाट पाठ सिकेर पनि विज्ञसम्मिलित टिम बनाएर जोखिम आँकलन गर्दै महामारीविरुद्ध लड्ने रणनीति तय गर्न आवश्यक देखिएको छ तर, देउवा सरकारले त्यसतर्फ पाइला चालेको देखिँदैन । देश महामारीसँगै बाढीपहिरोबाट पनि उस्तै प्रभावित बनेको अवस्था छ । यो बेलामा बाढीपहिरो पीडितलाई राहतको आवश्यकता छ । जन, धनको क्षति भएको अवस्था छ । त्यस्तो पीडादायी अवस्थामा सरकारले पीडामा मल्हम लगाउनेतिर ध्यान दिनुपर्छ । महामारीको सङ्कट तत्काल समाधान गर्न नसकिएला तर, कम्तीमा खोपको प्रबन्ध मिलाउनु आजको आवश्यकता हो । हाम्रोजस्तो सानो अर्थतन्त्र भएको मुलुकमा हरेक पटक बन्दाबन्दी गरेर जानु विकल्प होइन । त्यसलाई चिर्नका लागि पनि सरकारले गतिलो कदम चालोस् ।