ठेकेदारमार्फत् गरिने कामहरू ‘ठगदारी’ प्रमाणित हुँदै गएको एक ज्वलन्त उदाहरण पाँचथरको फिदिम नगरपालिकाबाट कुम्मायकको यासोक सडकलाई हेरे पुग्छ । ३३ किलोमिटर सडकको दूरी पार गर्न एउटा सवारीलाई १५ दिन लाग्छ भन्दा धेरैले आश्चर्य मान्दै जिब्रो टोक्छन्, तर यथार्थ यही हो । सरदर एक घण्टाको बाटो पार गर्न सवारीलाई १५ दिन लाग्ने अवस्था आउनु लाजमर्दो विषय हो । हाम्रो सडक सञ्जालको दुर्गति कस्तो रहेछ भन्ने यसले प्रमाणित गर्दछ । ठेकेदारहरूले समयमा काम नगर्ने र काम गरे पनि गुणस्तरीय काम नगर्ने रोगबाट हामी आक्रान्त छौं । त्यसको पूरापूर दोष सरकार चलाउने सञ्चालकहरूलाई जान्छ । किनकि एउटा ठेकेदारले गल्ती कमजोरी ग¥यो भने उल्टो बचाऊ गर्ने परिपाटी हाम्रो राजनीतिक संस्कारमा हुर्किँदै गएको छ । यो आजबाट सुरु भएको संस्कार होइन, तर यसलाई नियन्त्रण गर्न यदि सरकारले चाह्यो भने नसक्ने भन्ने हुँदैन ।

हरेक राजनीतिक दल तथा तिनका नेता सरकारमा गएमा ‘विकास र समृद्धि’ भन्दै फलाक्ने गरेका छन् । यतिसम्म कि उनीहरूको चुनावी घोषणा–पत्र हे¥यो भने विकासको मूल फुटाउने कुरा गरिएको हुन्छ । यति वर्षभित्रमा देशलाई ‘फलानो देशजस्तै बनाउने’ भनी भाषाणबाजी र प्रचारबाजी गरिरहेका हुन्छन्, तर जब उनीहरू सरकारमा पुग्छन्, त्यस्ता वाचा र प्रतिबद्धताहरू क्षणभरमै भुल्छन् । हामीकहाँ एउटा सवारीलाई एक घण्टामा पूरा गर्ने बाटो काट्न १५ दिन लाग्छ भने सोचौं हाम्रो विकास कसरी र कुन गतिमा अगाडि बढिरहेको छ । एउटा सडकका कारण सवारीले जुन दुःख भोगिरहेका छन् त्यो हेर्दा सामान्य लाग्छ, तर त्यसभित्रको भित्रीकथालाई खोतल्ने हो भने पक्कै पनि थुप्रै त्रुटिहरूका चाङ लाग्न सुरु हुन्छ । हामी हरेक कुरामा किन पछाडि परिरहेका छौं, यही दृष्टान्तले प्रष्ट पार्छ । हामीमा सुशासन र पारदर्शिता हराउँदै गएको छ । जवाफदेहिता हराउँदै गएको छ । ठेकेदार टालटुले काम गरेर पैसा कुम्ल्याउन चाहन्छ भने ठेकेदारसँग अलिकति भए पनि लुटौं भन्ने प्रवृत्ति राजनीतिक दल र तिनका कार्यकर्तामा हुन्छ । सबैले हाम्रो सडक हो भन्ने सोच राख्ने हो भने गुणस्तरीय काम गर्नेतर्फ र गराउनेतर्फ हामी जान्थ्यौं होला, तर त्यस्तो भएको पाइँदैन । ‘लुट कान्छा लुट’ गीतजस्तै हामी जताबाट पनि लुट्न तयार छौं । जसले गर्दा जुन परिमाणमा काम हुनुपर्ने हो, त्यो हुन सकेको पाइँदैन, परिणाम एउटा सवारीलाई ३३ किलोमिटर दूरी पार गर्न १५ दिन लागेजस्तै हुन्छ ।

समस्या ठेकेदारमा मात्रै छैन, समस्या आम नागरिकमा पनि छ । सबैभन्दा बढी समस्या राजनीतिक दल र तिनका कार्यकर्तामा छ । त्योभन्दा पनि बढी समस्या सरकारमा बसेकाहरूमा छ र कर्मचारीमा छ । यो समस्या हल गर्नका लागि मुहान नै सफा बनाउनुपर्ने दायित्व सबैभन्दा बढी फेरि पनि सरकारमै छ । सरकारले चाह्यो भने गुणस्तरीय काम हुने वातावरण बन्न सक्छ । यदि त्यो नहुँदा सरकारले त्यस्ता कम्पनी तथा ठेकेदारलाई कारबाही गर्न सक्छ । त्यो गर्ने वातावरण सिर्जना गराउने हो भने मात्रै ‘फलानो देशजस्तो’ भन्ने भाषण वास्तविकतामा परिणत हुन्छ । हामी पनि विकासशील देश बन्नेछौं । त्यसका लागि सबैभन्दा बढी सरकार प्रतिबद्ध र जवाफदेही हुनुपर्छ । सरकार जवाफदेही नहुँदाको परिणाम नै आज हामीले भोगिरहेका छौं । अझै कति समयसम्म भोग्नु पर्ने हो, त्यसको लेखाजोखा छैन । त्यसैले नागरिक स्तरबाट जागरुकता आउन जरुरी भइसकेको छ । नागरिकको खबरदारी नै सरकारका लागि गतिलो झापड हुनेछ ।