कोरोनाको तेस्रो लहर सुरु हुने सङ्केत देखिएको बेला नेपालमा खोप अभाव भइरहेको छ । जब कुनै पनि देश आर्थिक रूपमा धरासायी, लाचार हुन्छ र सरकार पनि निकम्मा हुन्छ, शक्तिहीन हुन्छ, त्यसबेला सर्वसाधारण जनताले सबैभन्दा बढी दुःख पाउँछन् । अनि अनावश्यक झमेला भोग्छन् । रोग, शोक र भोकबाट पीडित बन्छन् । सरकार, राजनीतिक दल र तिनका नेता कार्यकर्ताहरू, समाजका हुनेखाने सुकिला मुकिला, पद, प्रतिष्ठा र पैसा भएकाहरू व्यक्तिगत स्वार्थमा तल्लीन हुन पुग्छन् । संविधान,  सरकार, ऐन, नियम, कानून, प्रशासनदेखि राज्यका तीनवटै अङ्गहरू कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका लङ्गडो, अन्धो र बहिरो बन्न पुग्छन् । यसैबेला ‘जसको शक्ति उसको भक्ति’ ले टाउको उठाउँछ । अहिले नेपालको समग्र अवस्था यस्तै छ । जसले जे गरे पनि हुने भएको छ । प्रतिकारमा उत्रन सक्ने बाँच्ने प्रयास गरिरहेका छन् । नसक्ने जति आफ्नो भाग्यलाई दोष दिँदै कुनामा रुँदै छन् । यसैको सानो उदाहरण बनेको छ, कोरोना खोपमा अनियमितता । विभिन्न उमेर समूहका लागि दातृनिकायले सहयोग गरेको कोरोना खोप कतै होटलमा लुकाइएको त कतै आफ्ना कार्यकर्तालाई मात्र राति राति वितरण गरिएको समाचारहरूले लाजमर्दों अवस्था सृजना गरिदिएको छ ।

खोप सबैलाई चाहिन्छ । यदि नेपालको राजनीति र सरकार अन्य मुलुकका लागि विश्वसनीय भइदिएको भए करिब ३ करोड ३० लाख जनसङ्ख्यालाई चाहिने खोप आपूर्ति भइसक्थ्यो । तर, सरकार र राजनीतिक दलका शीर्षनेताहरूले सर्वसाधारणका लागि आवश्यक कोरोना खोपलाई प्राथमिकतामा नराखी सत्ता साझेदारी र जुँगाको लडाइँमा एकोहोरो व्यस्त भए । त्यसको परिणाम यतिन्जेलमा जति मात्रामा खोप आपूर्ति भइसक्नु पथ्र्यो, त्यो हुन सकेन । युरोप अमेरिका, चीन, जापान, कोरियाजस्ता मुलुकमा भएका नेपालका राजदुतहरूमध्ये अधिकांश त कूटनीतिमा असफल भएकैले पनि आफ्नो मुलुकका लागि खोपको जोहो गर्न सकेनन् । उनीहरू ती मुलुकमा मासुभात खाँदै मस्ती गरेर तलब भत्ता पचाउन मात्र पठाइएका जस्ता देखिए । अर्कातिर सरकार कोरोना नियन्त्रण गर्न असफल भइरहेको त छँदैछ । ऊ आफै मापदण्ड बनाउँछ र आफै त्यसको उल्लङ्घन पनि गर्छ । कतिपयले कोरोना केही होइन भन्दाभन्दै पनि कोरोनाकै कारण मृत्यु हुनेको सङ्ख्या करिब १० हजार नाघ्यो । तर खोप छैन ।

खोप ल्याउन ढिलाइ त गरेकै हो, बल्लतल्ल अरू मुुलुकले कोभ्याक्स कार्यक्रममार्फत् उपलब्ध गराएको खोप पनि लुकाउने, नेता, मन्त्री, पदाधिकारी र उनीहरूका आफन्त त्यसपछि कार्यकर्तालाई लुकाई लुकाई लगाइदिने निकृष्ट घटनाहरू सृजना हुनुमा सरकार जिम्मेवार छ । खोप लुकाउने व्यक्तिभन्दा पनि त्यस्तो प्रवृत्ति झाङ्गिएको छ । झापाको झापाको बिर्तामोडस्थित होटल टाइमलेस मोमेण्टमा लुकाएको सय भायल कोरोनाविरुद्धको भेरोसेल खोपसहित  कोरोना फोकल पर्सन ओम खड्का पक्राउ परे । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले गत बुधबार मध्यरातमा आफ्ना कार्यकर्तालाई बोलाएर घरैमा खोप लगाइदिएको घटना बिर्सनलायक छैनन् । दलका नेता र कार्यकर्तामा नैतिकता हराएपछि कसैको केही लाग्दैन रहेछ । कोरोना खोपमा राजनीति गर्दा पाँच महिनाअघि पहिलो चरणमा कोभिशिल्ड लगाएका वृद्धवृद्धाहरूले समेत अहिलेसम्म लगाउन पाएका छैनन् । दोस्रो डोज पुग्ने गरी उक्त खोप जोहो गर्न नसक्नु राज्यको चरम् लापरबाही बाहेक अरू के हुनसक्छ र ? पछिल्लो समयमा कोभ्याक्समार्फत् विभिन्न मुलुकले नेपाललाई कोरोना विरुद्धको खोप सहयोग गरिरहेका छन् । तर, त्यसलाई व्यवस्थापन गर्न नसक्दा खोपको अभाव जस्तो देखिएको छ । हुन त छिमेकी मुलुक भारतमै कोरोनाविरुद्धको खोप उत्पादन हुँदै आएको छ । तर, उसको जनसङ्ख्या सवा अर्ब भएकाले उसैलाई नपुगिरहेको बेला अन्य मुलुकबाट आपूर्ति गर्ने प्रयास गर्नुपर्ने थियो तर, नेपालका केही मन्त्री र नेताहरूले भारतको गुलामी, आशा र भरोसा गरेर पर्खिबस्दा झापाको बिर्तामोड र मोरङको विराटनगरमा निकृष्ट घटना दोहोरिएका हुन् । सर्वसाधारणहरू खोप लगाउन भनेर दिनभर घामपानी नभनी लाम लागेर बसे पनि खोप नपाउनु भनेको स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकार (तीन सरकार) ले गरेको नैतिकताहीन राजनीतिमात्र नभएर जघन्य अपराध नै हो ।