कोरोना महामारी फैलिएसँगै जारी भएका निषेधाज्ञा खुकुलो बनाइएपछि कोरोना सङ्क्रमण पुनः बढ्न थालेको तथ्याङ्क सार्वजनिक भइरहेको छ । स्वास्थ्य मन्त्रालयले बुधबार जारी गरेको तथ्याङ्कअनुसार एकैदिन देशभर ३ हजार ८ सय ४० सङ्क्रमित थपिएका छन् भने ३३ जनाको मृत्यु भएको छ । मङ्गलबार पनि यही हाराहारीमा सङ्क्रमित थपिएका थिए । दैनिक रूपमा निको हुनेभन्दा थपिने सङ्क्रमित बढिरहेपछि सरकारले पनि सतर्क रहन र सुरक्षा मापदण्ड पालना गर्न अनुरोध गरिरहेको छ । तर, बजारमा बढेको चहल–पहलले आमनागरिकले सरकारको अनुरोध नसुने झैं देखिन्छ । पछिल्लो समय सङ्क्रमण बढिरहेका जिल्लामा प्रदेश १ का झापा, मोरङ र सुनसरी पनि हुन् । सङ्क्रमण बढेसँगै झापामा त विभिन्न पालिकाहरू सिल गरिएका छन् । सुनसरी र मोरङमा पनि लापरबाही जारी रहे सिल हुने अवस्था आउन सक्छ । कोरोनाको तेस्रो लहर आउने हल्ला चलिरहेको छ ।
आमनागरिकले हेल्चेक्र्याइँ गर्दा तेस्रो लहर फैलिन सहज हुनसक्छ । आमनागरिकले आफ्नो र आफूजस्तै अन्य व्यक्तिको सुरक्षालाई ध्यानमा राखेर स्वास्थ्य मापदण्ड पालना गर्नु आवश्यक हुन्छ । तर, बजारमा स्वास्थ्य मापदण्ड पालना होइन, उल्लङ्घन गर्ने बढिरहेका छन् । यस्तो कुरामा आमनागरिक आफै सचेत रहनु आवश्यक हुन्छ । सङ्क्रमण फैलिइरहे पनि हाटबजारमा भीडभाड बाक्लो छ । व्यापारिक केन्द्र, यातायातका साधन सबैतिर न सामाजिक दूरी पालना गरिएको छ, न त स्वास्थ्य मापदण्ड नै । कोरोना विरुद्धको खोप लगाइने खोप केन्द्रहरूमा समेत यस्ता मापदण्ड पालना भएको देखिँंदैन । खोप केन्द्रहरूमा तँछाड, मछाड गर्दै भीड लागेको देख्दा त्यहीँबाट सङ्क्रमण फैलिने त्रास थपिएको छ । स्वास्थ्य केन्द्रदेखि बजार, पसलसम्मका भीडभाडले फेरि पनि सङ्क्रमण बढाउन थालेको हो । महामारीको तेस्रो लहर पहिलो र दोस्रोभन्दा बढी जोखिम हुने विज्ञहरूले भनिरहँदा हामी आफै भीडभाड गरेर जोखिमलाई निम्तो दिइरहेका त छैनौं ? भन्ने प्रश्न पनि उठ्छ । आफूले नबुझेर भए त अलग कुरा तर, हामी आफै जोखिम आउँछ भन्ने बुझीबुझी पनि हेल्चेक्र्याइँ गरिरहन्छौं भने सरकारले मात्र सूचना गरेर पनि केही हुँदैन । हरेक व्यक्ति आफै सचेत नभएसम्म सङ्क्रमण फैलिइरहन्छ र जोखिम बढिरहन्छ ।
लामो समयको बन्दाबन्दीले आमनागरिक, व्यापारी–व्यवसायी सबैलाई समस्या परेको छ । उनीहरू आफ्नो जीविकोपार्जनका लागि दैनिक काममा फर्किनु पर्ने बाध्यता छ । त्यसकारण पनि सधैँ बन्दाबन्दीले मात्र समस्याको समाधान पनि हुँदैन । यस्तो अवस्थामा आमनागरिक आफै सचेत बनेर आफ्ना काम तथा व्यापार–व्यवसाय गर्नुपर्ने हो तर, अधिकांशले लापरबाही गरेको पाइन्छ । यही अवस्था बढ्दै गए सङ्क्रमण झन् फैलिने र त्यसपछि बन्दाबन्दी हुने निश्चित छ । फेरि पनि बन्दाबन्दी भए आमनागरिककै दैनिकीमा असर पर्ने हो, रोजीरोटी खोसिने हो । फेरि पनि बन्दाबन्दीको मारमा पर्ने कि आफै बेलैमा सचेत बन्ने त्यो आफैले बुझ्न आवश्यक छ । लामो समयको बन्दाबन्दीले आमनागरिकलाई समस्या परेको सबैले बुझेकै कुरा हो । फेरि पनि त्यस्तै अवस्था आए समस्या झनै बढ्नेछ भन्ने पनि सबैलाई ज्ञात भएकै कुरा हो । कसैको लापरबाही, हेल्चेक्र्याइँले सतर्क रहनेहरूलाई समेत समस्या पर्ने हुँदा प्रहरी प्रशासनले पनि उचित रूपमा बजार अनुगमन गरेर लापरबाही हुन नदिने भूमिका खेल्नुपर्ने अवस्था छ । सकेसम्म प्रहरी प्रशासन आउनै नपर्ने गरी आमनागरिक नै सचेत बनौं । सबैभन्दा ठूलो आफ्नो र आफूजस्तै मान्छेको स्वास्थ्य हो भन्ने कुरालाई गम्भीर रूपमा लिएर हेल्चेक्र्याइँ नगरौं ।