रोग निको पार्न र जीवन बचाउनका लागि प्रयोग गरिने औषधिलाई कसैले मानिसको जीवन बर्बाद बनाउन प्रयोग गर्छ भने त्यो अपराध हो । बजारमा पछिल्लो समय यस्तै अपराधका घटना बढेका छन् । औषधिको दुरुपयोग गरेर लागूऔषधका रूपमा बेच्ने र त्यसबाट नाफा कमाउने गिरोहहरू पक्राउ पर्न थालेका छन् । प्रदेश १ का उदयपुर, सुनसरी, मोरब र झापामा कतिपय औषधि व्यवसायीहरू नै यस्तो धन्दामा संलग्न हुने गरेको पाइएको छ । विभिन्न रोगका पीडितका लागि प्रयोग गरिने विभिन्न औषधिहरू मिश्रण गरेर लागूऔषध बनाई बिक्री गरेको अभियोगमा धरान–१८ स्थित बीपी प्रतिष्ठानअगाडि सञ्चालित बिम्ब फार्मेसीका सञ्चालक नवीन राईलाई औषधि व्यवस्था विभाग विराटनगरले पक्राउ गरेको छ ।
विभागको अनुगमनले यसअघि नेपाल औषधि व्यवसायी सब्घ उदयपुरका महासचिव वीरेन्द्रकुमार झाले नै औषधिको दुरुपयोग गरी लागूऔषध प्रयोगकर्तालाई बिक्री गरेको भेट्टाएको थियो । व्यवसायी सब्घका महासचिव नै यस्तो धन्दामा संलग्न छन् भने अन्य सामान्य औषधि व्यापारीहरूमा यस्तो अपराध गर्नेहरू धेरै रहेको सहजै अनुमान गर्न सकिन्छ ।
विभागले हरेक वर्ष बदमासी गर्ने औषधि व्यापारीलाई कारबाही गर्ने गरेको छ । तर, यस्तो कारबाही प्रभावकारी बन्न सकेको छैन । कतिपय अवस्थामा राजनीतिक दबाव र आर्थिक प्रभावका कारण पनि दोषीलाई कडा कारबाही हुन नसकेका उदाहरणहरू भेटिन्छन् । कसैको जीवनमाथि खेलवाड गर्नेहरूलाई कारबाही गर्नुको साटो मिलेमतोमा विभागकै कर्मचारीले छाड्ने गरेको आरोप पनि नयाँ होइन ।
आम सर्वसाधारण औषधि बारे सम्पूर्ण रूपमा जानकार हुँदैनन् । उनीहरूलाई कस्तो औषधि, कति दाम पर्ने भन्दा पनि कुन औषधिले चाँडो निको हुन्छ भन्ने मात्र ध्यान हुन्छ । तर, व्यापारीहरू एउटै काम गर्ने औषधि पनि महँगो मूल्यको भिडाउन खोज्छन् । सस्तो मूल्यमा कम गुणस्तरका औषधिसमेत भेटिन्छन् बजारमा । यस्तो धन्दामा सामान्य औषधि व्यापारीदेखि ठूला चिकित्सकहरूसम्मको संलग्नता हुने गरेका उदाहरण पनि प्रशस्त पाइन्छन् ।
ठूला औषधि कम्पनीहरू आफ्नो औषधि बिक्री गराउन ठूला चिकित्सकहरूलाई गाडीदेखि विदेशयात्रासम्मका अफर दिन्छन् । औषधि व्यापारीहरूलाई एक पत्ता किन्दा अरू दुई पत्तासम्म सित्तैँ दिने अफर ल्याउँछन् । तर, आम सर्वसाधारणले भने औषधि पसलबाट सामान्य छुटसमेत पाउँदैनन् । औषधि व्यवसायभित्रको यो खेल अन्त्य हुनै पर्छ । औषधि व्यवसायलाई नाफाको व्यवसायका रूपमा होइन, सेवामूलक व्यवसायका रूपमा हेर्ने गरिन्छ । बिरामीलाई निको पार्ने औषधि व्यवसाय फगत् नाफा कमाउने व्यापार मात्र होइन र त्यस्तो हुनु पनि हुँदैन ।
तर, कतिपय औषधि व्यापारीहरू आफ्नो फाइदाका लागि अरूको ज्यान जोखिममा पार्न उद्यत हुने गरेको पाइन्छ, जुन कदापि राम्रो होइन । यस्तो धन्दा गर्नेलाई कडाभन्दा कडा कारबाही हुनु जरुरी छ । तर, कारबाही झारा टार्ने खालको होइन, वास्तविक कारबाही हुनुपर्छ । औषधि व्यवसाय क्षेत्रमा धेरै विकृतिहरू छन् । त्यसलाई निरुत्साहित गर्न विभागले प्रभावकारी भूमिका खेल्नु आवश्यक छ । प्रदेश १ का विभिन्न ठाउँबाट यस्ता गिरोह खोजी गरेर कारबाहीको दायरामा ल्याउन औषधि व्यवस्था विभाग विराटनगरले सकारात्मक सुरुवात गरेको छ ।
यस्तो कार्यले निरन्तरता पाउनु र दोषी भेटिएकालाई कारबाही हुनु जरुरी छ । अन्थया विभागले दुई–चार व्यापारीलाई कारबाही गरेर अरूलाई तर्साउने गरेको आरोप लागी नै रहनेछ । अतः दोषीलाई कानून बमोजिम कारबाही गरेरस्वच्छ व्यवसायीलाई प्रोत्साहित र कमाउ धन्दामा लाग्नेलाई निरुत्साहित गरिनुपर्छ । त्यसका लागि विभाग र अन्य सरोकारवालाले ध्यान दिनु आवश्यक छ ।