पहिला–पहिला गाउँघरतिर चक्रवर्ती ब्याज उठाउने साहुहरूको कथा निकै सुन्न र देख्न पाइन्थ्यो । आजकाल पनि मधेशमा यस्तो चक्रवर्ती ब्याज उठाउने चलन व्यापक नै छ । तर, समाजमा बाहिर खासै आउँदैन । आजकाल यही चक्रवर्ती ब्याज उठाउने साहुहरूलाई ‘मिटर ब्याजी’ भन्ने चलन छ । गैह्रकानूनी हिसाबमा सहर, बजार, गाउँ सबैतिर मिटर ब्याज प्रचलनमा छ ।
यो त भए गैह्रकानूनी रूपमा सञ्चालनमा हुने गरेका चक्रवर्ती ब्याज उठाउने साहुको कुरा । नेपालमा कानूनी रूपमै नेपाल राष्ट्र बैङ्कबाट अनुमति प्राप्त लघुवित्त संस्थाहरू चक्रवर्ती साहुकै अर्को रूप हुन् भन्दा फरक पर्दैन । अहिले पनि लघुवित्त संस्थाहरूले २२ प्रतिशतसम्म ब्याज असुल्ने गरेका छन् । राष्ट्र बैङ्कले पनि त्यसलाई सहर्ष रूपमा स्वीकारेको छ ।
गाउँघरमा चक्रवर्ती ब्याज लगाउने साहुहरूले तमसुकका भरमा ऋण दिन्थे । अझ कतिपयलाई त तमसुक नै नबनाई बोलीका आधारमा रकम दिने अनि त्यही रकमलाई चक्रवर्ती बनाएर लिने चलन व्याप्त थियो । यस्तै लघुवित्तहरूले पनि बिना लगानी नै समूह बनाएर रकम दिने गरेका छन् । समूहका एकजनाले ऋण खाएर भागिदियो भने उक्त ऋण समूहमा रहेका सबैलाई तिर्न बाध्य पारिन्छ ।
चक्रवर्ती ब्याजको यो सञ्जाल कानूनी रूपमै पनि अहिले पनि व्याप्त हुनु चाहिँ दुःखद् कुरा हो । यस्तै चक्रवर्ती ब्याज लिनेमध्येमा स्वावलम्बन लघुवित्त संस्था पनि एक बनेको छ । यो बेला राष्ट्र बैङ्कले पनि ब्याज छुट र ऋणीलाई ताकेता नगर्नू भनेको अवस्थामा स्वावलम्बनले आफ्ना सदस्यलाई फोन गरेर, म्यासेज गरेर र घरमै पुगेर ताकेता गरी ऋण असुली गरिरहेको छ ।
अझ ऋण नतिरेको खण्डमा ब्याजलाई सावाँमा परिवर्तन गरी चर्को ऋण असुली गरिरहनु ‘साहु’ कै काइदा हो । कोरोना महामारीले विश्व थलिएको अवस्था छ । त्यसबाट नेपाल अछुतो रहेको छैन । पहिलो चरणको महामारीमा झण्डै ९ महिना बजार बन्द भएको अवस्था थियो । दोस्रो चरणको महामारीमा दुई महिनादेखि लगभग ठप्प जस्तै छ ।
यस्तो अवस्था जान्दाजान्दै पनि लघुवित्तहरूले ऋणीलाई ताकेता गरी रकम असुल्नु कानून विपरीत मात्रै छैन, मानवीयताको हिसाबमा पनि गलत छ । यो त चक्रवर्ती ब्याज लिने साहुकै अर्को नमुना रूप भएको आभास भएको छ । हो, ऋणीले समयमा ऋण भुक्तान गर्नुपर्छ । तर, ब्याजलाई सावाँमा जोडेर पुनः स्याज बनाउने परिपाटी भनेको ‘साहु’ कै काइदा हो । यसको जतिसुकै भत्र्सना गरे पनि कम हुन्छ । राष्ट्र बैङ्कले यस्ता लघुवित्तहरूको निगरानी बढाउन जरुरी छ ।
आज हरेक बैङ्कहरूले पनि कुनै न कुनै लघुवित्तसँग साझेदारी गरिरहेको अवस्था छ । अझ कतिपय बैङ्कले त लघुवित्तसँग ‘मर्ज’ गरी नयाँ नामका लघुवित्तहरू खडा गरिरहेका छन् । चर्को ब्याज असुल्न पाउने भएकाले पनि बैङ्कहरू लघुवित्तप्रति आकर्षित बनिरहेको आभास हुन्छ । अझ शेयर बजारमा अन्यको तुलनामा लघुवित्तको बजारभाउ महँगो पनि छ ।
बैङ्कको भन्दा दशौं गुणा महँगा लघुवित्त पनि छन् । त्यसकारण पनि बैङ्कहरू लघुवित्तसँग कुनै न कुनै रूपमा मर्ज गर्न चाहिरहेका छन् । त्यसैले यस्ता लघुवित्तप्रति निगरानी बढाउनु आवश्यक हुँदै गएको छ । हामीले नयाँ साहु जन्माउने होइन, सहजीकरण गर्ने र सुलभ दरमा ऋण दिने लघुवित्तहरूको आवश्यकता छ । ता कि देशले आर्थिक रूपमा नयाँ क्रान्ति गर्न सकोस् । आज सबैजसो लघुवित्तप्रति आकर्षित भइरहँदा पक्कै पनि यसबारेका गहन खोजहरू हुन आवश्यक देखिँदै गएको छ ।
यो खोज र अनुसन्धान गर्दै मितव्ययी बनाउने जिम्मेवारी पनि सरकार र सरकारमा बसेका प्रतिनिधिहरूकै हो । त्यसकारण यसलाई राष्ट्र बैङ्कले कडा भन्दा कडा निगरानी बढाउन आवश्यक हुँदै गएको छ । विशेषगरी लघुवित्तमा गरिब परिवारका व्यक्तिहरू आकर्षित हुने गरेका छन् । किनकि उनीहरूसँग बैङ्कमा धरौटी राख्ने पुँजी हुँदैन ।
त्यसकारण सहजै ऋण पाउने लघुवित्तमा आकर्षित भएका छन् । आर्थिक हैसियतअनुसार ऋण लिने र ऋण चुक्ता गर्ने गरिरहेकै अवस्थामा दबाव दिने र ताकेता गरेर हैरानी दिने कार्य आफैमा गलत हो । यसतर्फ लघुवित्त आफैले पनि ध्यान दिन आवश्यक छ । ऋणीलाई सहज र सरल बनाउनेतिर ध्यान दिन सकिएमा मात्रै एउटा उपलब्धि हासिल होला । यसतर्फ लघुवित्तहरूले पनि गम्भीर भएर ध्यान दिने हो कि ?