कोरोना महामारीका कारण शैक्षिक क्षेत्र सबैभन्दा बढी प्रभावित बनेको छ । देशको भविष्यका लागि आधार स्तम्भ निर्माण गर्न अथवा विकासको जग बसाल्न शैक्षिक व्यवस्था प्रभावकारी हुनु आवश्यक हुन्छ ।
महामारीको समयमा भने विकासको महत्वपूर्ण पूर्वाधार शिक्षाको गति अवरुद्ध भयो । यस अर्थमा पनि शैक्षिक क्षेत्रले सबैभन्दा बढी क्षति व्यहोर्नु प¥यो । यसलाई पहिलेकै अवस्थामा पुर्याउन निक्कै समय लाग्न सक्छ ।
त्यसै पनि हाम्रो शैक्षिक नीतिलाई पहिलेदेखि नै अव्यवहारिक भएको आरोप लाग्दै आएको छ । त्यसमाथि लामो समय शैक्षिक गति अवरुद्ध भएपछि अबको शैक्षिक अवस्था कस्तो हुने हो भन्ने चिन्ताको विषय बनेको छ ।
सरकारले नयाँ शैक्षिकसत्रमा वैकल्पिक माध्यमबाट निरन्तरता दिने नीति लिएको छ । तर, महामारीपछि एक्कासि आएको यस्तो परिस्थितिका कारण अनलाइन शिक्षा जस्ता वैकल्पिक व्यवस्था अझै प्रभावकारी बन्न सक्ने अवस्था छैन । यसको कारण के हो भने हाम्रो शिक्षा व्यवस्था, सामुदायिक विद्यालयहरूको अवस्था परम्परागत शैलीमै चलिरहेको थियो ।
शिक्षकले अगाडि उभिएर एकोहोरो विषयवस्तु बारे बताउने र विद्यार्थीले चुपचाप सुन्ने परम्परागत शैलीमा विद्यार्थीसँग अन्तरक्रिया अत्यन्तै कम हुन्छ । यसले सिकाइमा खासै उपलब्धि हुन सक्दैन । यो त पढाउने शैलीको कुरा भयो । हाम्रा अधिकांश सामुदायिक विद्यालयका भौतिक पूर्वाधार पनि परम्परागत छन् । सामुदायिक विद्यालय शिक्षकहरूको राजनीति गर्ने थलोका रूपमा विकास भएपछि भएका संरचना पनि थलिएर बसेका छन् ।
उता निजी विद्यालयहरू दैनिक मौलाइरहेका छन् । सामुदायिक विद्यालय गरिबका छोराछोरी पढ्ने विद्यालयका रूपमा परिचित भइरहेका छन् । सरकारले राम्रो नीति बनाउन नसक्दा धेरै सामुदायिक विद्यालयमा विद्यार्थी बस्ने राम्रा डेस्क बेञ्चसमेत छैनन् । उता यी विद्यालयका विद्यार्थीहरू अधिकांश निम्न वर्गका छन् । उनीहरूसँग अनलाइन कक्षा पढ्नका लागि न इन्टरनेट छ, न त ल्यापटप र मोबाइल नै ।
अझ एउटै घरमा धेरैजना विद्यार्थी हुन्छन्, सबैलाई मोबाइल वा ल्यापटप चाहियो । यस्तो अवस्थामा अनलाइन कक्षा कसरी प्रभावकारी होला रु सरकारले वैकल्पिक शिक्षाका रूपमा टेलिभिजन र रेडियो कार्यक्रमलाई पनि लिएको छ ।
तर, ती पनि प्रभावकारी बन्न सकेका छैनन् । प्रत्यक्ष शिक्षकको निगरानीमा रहँदा त पढाइमा ध्यान नदिने विद्यार्थीहरूलाई अप्रत्यक्ष रूपमा हुने कक्षाले आकर्षित गर्न सक्दैन । रेडियो वा टेलिभिजनबाट दिइने कक्षामा विद्यार्थी आकर्षित नहुनुको कारण के पनि हो भने हाम्रो शिक्षा प्रणाली व्यवहारिक छैन । व्यवहारिक नभए पनि विद्यार्थीले जबरजस्ती पास हुनका लागि मात्र पढ्नु पर्ने, घोक्नु पर्ने अवस्था छ ।
शैक्षिक नीति नै परिवर्तन गरेर पाठ्यक्रम सुधार नगरेसम्म शिक्षकले जति भट्याए पनि विद्यार्थीले ध्यान दिँदैनन् । यसकारण हाम्रो शैक्षिक नीतिमा व्यापक परिवर्तन गरी व्यवहारिक र रुचिपूर्ण बनाउनु आवश्यक छ ।
तर, तत्कालका लागि वैकल्पिक शिक्षालाई कसरी प्रभावकारी बनाउने भन्नेमा ध्यान दिनु जरुरी छ । समयको परिवर्तनसँगै अबको युगमा अनलाइन शिक्षा नै सबैभन्दा राम्रो विकल्प हो भन्नेमा दुईमत छैन तर, हाम्रा सामुदायिक विद्यालयका विद्यार्थी यसमा अभ्यस्त भइसकेका छैनन् भन्ने कुरा धरानजस्तो सुविधा सम्पन्न क्षेत्रका सामुदायिक विद्यालयमा पनि करिब २० प्रतिशत विद्यार्थी मात्र अनलाइन कक्षामा सहभागी हुन्छन् भन्ने तथ्याङ्कले प्रष्ट पार्छ ।
कहिल्यै इन्टरनेट नचलाएका विद्यार्थीलाई एक्कासि अनलाइन कक्षा दिइँदा कसरी पढ्न सक्छन् रु कतिपय ग्रामीण क्षेत्रमा त अहिलेसम्म राम्रोसँग मोबाइल फोनसमेत चल्दैन । इन्टरनेटको त कुरै छाडौं ।
यस्तो अवस्थामा अनलाइन शिक्षा प्रभावकारी हुन सक्ने कुरै भएन । सबै विद्यार्थीलाई अनलाइन शिक्षा असम्भव जत्तिकै छ । त्यसैले वैकल्पिक शिक्षाका अन्य प्रभावकारी माध्यमको खोजी गरी सबैले शिक्षा पाउने अवस्था हुनु आवश्यक छ । संविधानले नै सबैले अनिवार्य शिक्षा पाउने मौलिक हक अन्तर्गत व्यवस्था गरिसकेको हुँदा सङ्घीय सरकारले मात्र होइन, स्थानीय तहहरूले पनि प्रभावकारी वैकल्पिक उपायको खोजी गर्नु अत्यावश्यक छ ।