हिन्दीमा एउटा मुहावरा (उखान) छ, ‘हम नहीं सुध्रेंगे ।’ यो उखान ठ्याक्क लागू हुन्छ, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हकमा । स्थापना भएको करिब २८ वर्ष भइसकेको छ ।
त्यसपछि अनेक उतार चढाव भए । भारतको दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) को मोडेलमा धरानको बीपी प्रतिष्ठान तयार भएको हो । मुलुकमै सबैभन्दा भौतिक पूर्वाधार पर्याप्त भएको स्वास्थ्य शैक्षिक संस्था बीपी प्रतिष्ठान नै हो ।

तर, लामो समयदेखि आर्थिक हिनामिना, भ्रष्टाचार, कमिसन र घूसको वरिपरिमात्र व्यवस्थापन पक्ष घुमिरहेकाले आफ्नो पुरानो साख पनि गुम्दै जान थालेको छ । भएको भौतिक पूर्वाधारलाई सही रूपमा सदुपयोग गर्न सकेको छैन ।

केन्द्रीय राजनीतिक वृत्तबाट उपकुलपति नियुक्त हुने र उपकुलपतिले शिक्षाध्यक्ष, रजिष्ट्रार र अस्पताल निर्देशक नियुक्त गर्ने विधान छ । प्रतिष्ठान आफैमा चिकित्सा शास्त्र अध्ययन, अनुसन्धान र बिरामी उपचार गर्ने क्षेत्रमा ग्लोबल ब्राण्ड हो ।

तर, अहिलेसम्म जति पनि पदाधिकारी भएर आए, ती सबैले प्रतिष्ठानको यो ग्लोबल ब्राण्ड भजाएर व्यक्तिगत उन्नति मात्र गरे । पदाधिकारी मोटाउँदै गए तर प्रतिष्ठानलाई सुकेनाश लाग्दै गयो । यतिबेला प्रतिष्ठानमा आधुनिक मेडिकल उपकरणयुक्त अङ्कोलोजी, एमसिएच, कार्डियोलोजी, किड्नी ट्रान्सप्लाण्ट सेण्टर, लिवर ट्रान्सप्लाण्ट सेण्टर, न्यूरो सेण्टरका बेग्लाबेग्लै विभाग स्थापना भइसक्नु पर्ने हो ।

तर, ती सबै योजनाहरू कागजमै सीमित भएका छन् । मोरङको सुन्दर हरैंचास्थित कर्जुनामा रहेको १५ बिघा  जग्गामा आफ्नै फर्मास्युटिकल (औषधि उत्पादन) केन्द्र तयार भइसक्नु पर्ने हो तर त्यो पनि छैन । काठमाडौंको बाँसबारी र धरानको छाताचोकको जग्गा सदुपयोग हुनु पर्ने हो तर सबै त्यसै छन् ।

ती भौतिक सम्पत्तिहरू अहिलेसम्म खालीखाली छन् ।  पदाधिकारीहरूमा प्रतिष्ठानको हितमा दीर्घकालीन योजना तय गर्ने योग्यता, क्षमता र धारणाकै अभाव देखिएको छ । पदाधिकारीहरू प्रतिष्ठानले खरिद गर्ने एमआरआई, सिटीस्क्यान, अक्सिजन प्लाण्ट, आइसियु, डेण्टल चियर, भिडियो एक्स–रे मेसिनलगायतका मेडिकल उपकरणहरू र भवन निर्माण गर्दा कम्पनी वा ठेकेदारबाट पाउने कमिसनमै अल्झिरहेकाले प्रतिष्ठान अद्योगतितिर लागेको हो ।

यसबीचमा प्रतिष्ठानभित्र हुने भ्रष्टाचार र बेथितिलाई सुधार गर्न पहिलो पटक धरानका राजनीतिक दल, धरान उपमहानगरपालिका र नागरिक समाज गोलबद्ध भएर ‘धरान नागरिक दबाव सञ्जाल’ गठन भएको छ ।

अब यो सञ्जालले प्रतिष्ठानमा विभिन्न विभागमा सेवाको गुणस्तर कसरी बढाउन सकिन्छ भन्नेबारे पहिलो कदम चाल्नु जरुरी छ । त्यसपछि प्रतिष्ठानको सेवा विस्तारमा कसले बाधा पु¥याउँदै छ, त्यो पहिचान गरेर उसलाई नसिहत दिन तयार हुनुपर्छ ।

सञ्जालले प्रतिष्ठानलाई खराब मेडिकल उपकरण सप्लाइ गर्ने, उपकरणको नियमित मर्मत सम्भार गर्न आनाकानी गर्ने र अदालतमा मुद्दा परेका कम्पनीहरूलार्ई दण्डित गर्ने तथा कालोसूचीमा राखेर भविष्यमा कारोबार नगर्ने अवस्थामा पु¥याउन सक्नु पर्छ ।

मोटो कमिसनको लोभमा परेर मेडिकल उपकरण खरिद गर्ने तर सदुपयोग नगरी प्रतिष्ठानका विभिन्न विभागमा थन्क्याएर राखिएका उपकरणको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने उपाय अवलम्बन गर्नेतर्फ पनि सञ्जालले भूमिका खेल्नु पर्छ ।

पूर्ण आर्थिक पारदर्शिता कानून निर्देशित गोपनीयताबाहेक हरेक महिनामा सम्पूर्ण आर्थिक आय–व्यय अनिवार्य रूपमा आफ्नो वेबसाइटमा राख्ने नीति बसाउन पनि सञ्जालले प्रतिष्ठानको व्यवस्थापन पक्षलाई दबाव दिन सक्नु पर्छ ।

बीपी प्रतिष्ठानमा व्याप्त विकृति, विसङ्गति, अनियमितता सुधार गर्न निर्णायक पहल गर्ने भनेर गठन भएको सञ्जालले यी सबै काम गर्न सक्छ कि सक्दैन, त्यो हेर्न भने बाँकी छ ।

किनकी यसअघि पनि २०७४ सालमा प्रतिष्ठानभित्र हुने गरेका भ्रष्टाचारदेखि स–साना समस्याहरू समाधान गर्न ‘स्वस्थ, स्वच्छ प्रतिष्ठान हाम्रो अभियान’  भन्ने नारासहित ‘एक्सन धरान’ भन्ने दबाव समूह बनेको थियो ।

त्यसपछि पनि प्रतिष्ठानको बेथिति अन्त्यका लागि भन्दै उद्योग वाणिज्य सङ्घ सुनसरीको नेतृत्वमा दबाव समूह बनेको थियो । तर, ती दबाव समूह एकपटक ज्ञापन–पत्र बुझाएर औपचारिकतामा सीमित बन्न पुगे ।

त्यसपछि दबाव समूहहरूले कुनै गतिविधि गरेको देखिएन । तेस्रोपटक हाल गठन भएको दबाव समूह पहिलेको जस्तो फितलो नबनोस् । बीपी प्रतिष्ठानको हितलाई ध्यानमा राख्दै चिकित्साशास्त्रको अध्ययन, अनुसन्धान, उपचार सेवामा अब्बल बनाउन जस्तोसुकै चुनौतीको सामना गर्न सञ्जाल सक्षम र सबल रहोस् ।