‘दिल्लीमा पानी पर्दा काठमाडौंमा छाता ओढ्नु पर्छ’ भन्ने उक्ति अहिले राजनीतिमा मात्र नभएर कोरोना महामारीको दोस्रो लहरमा पनि सावित भएको छ । भारतका विभिन्न प्रान्तमा कोरोनाले भयावह अवस्था सिर्जना गरेको छ । त्यही मुलुकसँग खुला सिमाना जोडिएको नेपालमा त्यसको असर पनि उत्तिकै देखिँदै छ । कोरोनाको नयाँ भेरिएण्टबाट सङ्क्रमण जारी रहेकै बेला भारतका विभिन्न प्रान्तमा चुनावहरू भए । चुनाव जारी रहेकै बेला धार्मिक कुम्भ मेलाहरू आयोजना भए । धर्मसँग जोडिएकाले त्यस्ता मेलामा लाखौं भक्तजनहरू सहभागी भए । तिनीहरूले नै अन्ततः कोरोना फैलाए । भारतमा फैलिएको कोरोना खुला सिमाना हुँदै नेपाल प्रवेश ग¥यो । एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि प्रवेश ग¥यो । यता नेपालमा सत्ताको खेल चलिरहँदा कोरोनाको फैलावटलाई पूरै नजरअन्दाज गरेर जताततै राजनीतिक गुटका भेला भए । आन्दोलनको नाममा झुण्ड–झुण्ड देखिए । लकडाउन समाप्त भएसँंगै सबैलाई लाग्यो, कोरोना भाग्यो । सरकारले कारोनाबाट बच्न एक वर्षअघिको भयावह घटनाबाट कुनै पाठ सिकेन वा सिक्न चाहेन । विज्ञ चिकित्सकहरूले विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमा सरकारको ध्यानाकर्षण गरिरहे । तर, राजनीतिक दलका नेता, कार्यकर्ता र राज्य चलाउने पदाधिकारीहरूले विज्ञ चिकित्सकहरूको बोलीलाई भाउ दिएनन् ।
अहिले त्यसैको परिणाम भयावह रूप लिँदैछ कोरोनाले । खुला सिमाना छ, नियन्त्रण गर्न गाह्रो छ भनेर सरकार पन्छिएको जस्तो देखिएको छ । खुला सिमाना भए केही समयका लागि पूर्णरूपमा बन्द गर्न सक्थ्यो सरकारले । सरकारले चाहेमा सीमा सिल गर्न सक्छ । चाहेन भने पर्खाल नै लगाए पनि मानिसको प्रवेश रोक्न सक्दैन । नेपालमा अहिले देखिएका सङ्क्रमितहरूको सङ्ख्या गतवर्षमा जस्तो खोजी खोजी पीसीआर टेष्ट गरेर फेला परेकाहरूको होइन । केही सीमा नाकामा र काठमाडौंका प्रयोगशालामा ९ हजार २ सय ९२ पीसीआर परीक्षणबाट पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ३२ जनामा कोरोना पोजेटिभ रिपोर्ट देखिएको छ भने १६ जनाको मृत्यु भएको छ । ७ सय ८६ एण्टिजेन परीक्षण गर्दा ९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै पछिल्लो २४ घण्टामा पीसीआर र एण्टिजेन परीक्षणमा ३ हजार १ सय २२ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य चौकी, अस्पताल वा शिविरमार्फत् निःशुल्क गर्दै व्यापक रूपमा पीसीआर परीक्षण र एण्टिजेन टेष्टको दायरा बढाउने हो भने अहिले पनि दैनिक पाँच हजारभन्दा बढी पोजेटिभ रिपोर्ट आउन सक्ने देखिएको छ । कोरोना महमारीको पहिलो लहर चलेपछि अस्पतालमा शल्यक्रियाका लागि भर्ना हुनेहरूले अनिवार्य पीसीआर परीक्षण गर्नुपर्ने, विदेशबाट आएका वा विदेश जानेहरूले कोरोना सङ्क्रमण भए नभएको पीसीआर टेष्टको रिपोर्ट तयार गर्नैै पर्ने नीति बनाएको छ । त्यस्तै कोरोना सङ्क्रमण भएको आशङ्का लागेर स्वेच्छाले पैसा तिरेर पिसिआर टेस्ट गर्ने र अस्पताल भर्ना हुन आउनेहरुको पिसिआर गर्दा पोजेटिभ रिपोर्टको तथ्याङ्क नै सरकारले दैनिक जारी गरेको तथ्याङ्क हो भन्दा फरक पर्दैन । सुरुवाती समयमा जस्तै, निःशुल्क पीसीआर टेष्ट गर्ने हो भने कति पोजेटिभ रिपोर्ट आउँदो होला ? कसैले यसतर्फ ध्यान दिएको पाइएको छैन ।
लकडाउन समस्याको समाधान होइन भनिन्छ । तर, कोरोना महामारीले अस्तव्यस्त बनाएको चीनले लकडाउन गरेरै कोरोनालाई जितेको सबैले देखेकै हो । कोरोना फैलिँदै गर्दा युरोप र अमेरिकाले लोकतन्त्रको नाममा लकडाउन गर्न हिच्किचाए । त्यहाँ झन् फैलियो । यता चिनियाँ सरकारले कोरोना महामारी र लकडाउनका बीच आफ्ना नागरिकलाई घर–घरमै खाद्यान्न आपूर्ति गर्ने काम ग¥यो । यता दक्षिण एसियाली मुलुकका भारत र नेपालले पनि लकडाउन गरे तर, जनताको समस्या समाधान गर्न नसकेपछि लकडाउन समस्याको समाधान होइन भनेर चिच्याइरहे । अहिले पहिलो लहरभन्दा कयौं गुणा तीव्र रूपमा सङ्क्रमण गर्न सक्ने नयाँ भेरिएण्टले जताततै आतङ्क मचाइरहेको बेला सरकार भने अझै राजनीतिक सत्ताकै खेलमा व्यस्त छ । विपक्षी राजनीतिक दलहरू पनि कोरोनाप्रति सजग देखिएका छैनन् । एक वर्षको अवधिमा जति सिक्नुपर्ने र तयारी हुनुपर्ने हो, त्यसको एक प्रतिशत पनि नभएकाले आउँदो समय चुनौतीपूर्ण रहेको छ । एक वर्षको समयमा स्वास्थ्य क्षेत्रमा हुनुपर्ने तयारी नभएकाले भारतीय सहरहरूमा कोरोना महामारीले जुन ताण्डव मच्चाइरहेको छ, त्यही अवस्था पर्खेर बस्नुको विकल्प छैन । त्यसैले सरकारले कोरोना सङ्क्रमणबाट जनता बचाउन यो चाँडै ठोस कदम चाल्नु उपयुक्त हुनेछ ।