कोरोना महामारीको दोस्रो लहर चलिरहेको छ । दुई सातायता कोरोनाले सबैलाई त्रस्त बनाएको छ । भारतमा सङ्क्रमित हुने र मृत्यु हुनेहरूको सङ्ख्या बढिरहेको बेला त्यसैको छिमेकी भएर रहेको नेपालमा सतर्कताका लागि खासै तयारी भने छैन । कोरोना विरुद्ध औपचारिकतामा सीमित रहेको सरकारी तयारी सबैले देखेकै हो । पछिल्लो समयमा भने चाडबाड, विभिन्न सांस्कृतिक मेलाको बहानामा भीडभाड बढिरहेपनि राज्यसंयन्त्र निरिह बनेको छ । समुदायस्तरमा कोरोना पैmलिरहेको अवस्थामा भीडभाड सिर्जना गर्ने गरी धार्मिक सांस्कृतिक मेला आयोजना गर्नु आयोजकको गलत अभ्यास भयो नै २५ जनाभन्दा बढी भेला नहुन सरकारले गरेको उर्दी पनि काम लागेको छैन । कोरोनाको जोखिम बढ्दै गएको बेला यता सुनसरी प्रशासनले कतै मेला लगाउन अनुमति दिएको छ त कतै दिएको छैन । मन्त्रिपरिषद्को निर्णयपूर्व नै भीडभाडजन्य गतिविधिमा रोक लगाइएको भए पनि सुनसरीमा निर्णय कार्यान्वयनको सवालमा भने प्रशासन आफैले मनपरी गर्नु कोरोना महामारीलाई स्वागत गर्नु हो । सुनसरी जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय रहेको इनरुवामा वैशाख ८ मा भगवती मन्दिरमा लाग्ने मेला प्रहरी प्रशासनले रोक्यो । तर, इटहरीको जब्दी, रामधुनीको धुनी मन्दिर र बर्जुलगायतका क्षेत्रमा भने निर्वाध मेला लागेको छ । जब्दीमा मेला लाग्नुपूर्व नै त्यसलाई रोक्न प्रशासनले निकै प्रयास गरे तापनि अन्ततः सो स्थानमा भीडभाडका साथ मेला लागेको छ । जब कि कोरोना महामारीका कारण जब्दीमा अघिल्लो वर्ष मेला लागेको थिएन ।
विश्व मिडियाले यसपटकको दोस्रो लहर सुरु भएपछि दिल्लीको तबलिगी जमातले गरेको कार्यक्रम र हरिद्वारको गङ्गा स्नान अर्थात् कुम्भ मेलालाई तुलना गर्दै विभेद गरेको विषयलाई व्यापक रूपमा उठाए । भारतीय मिडियामा तबलिगी जमातको कार्यक्रम कोरोना हटस्पट भनेर चर्चा गरेका थिए । तर, कुम्भ मेलाको हकमा भने भगवान्ले बचाउने आसयको समाचारहरू पस्किएपछि अमेरिकी, बेलायती मिडिया, कतारको मिडियाले त्यसको तुलना गर्दै ठूला समाचार तथा फिचर स्टोरीहरू तयार गरे । भारतमा हुने धार्मिक विभेदको व्यापक चर्चा गरियो । ठीक यसैगरी नेपालको सुनसरीमा पनि कुनै स्थानको मेलालाई रोकियो भने कुनै ठाउँ खुल्ला छाडियो । जब्दीमा मेला आयोजक महारानी मन्दिर सेवा समितिले प्रशासनबाट इजाजत लिएर मेला लगायो । मठमन्दिरमा धार्मिक र सांस्कृतिकरूपमा लाग्ने परम्परागत मेला होस् वा अन्य मेला जहाँ पनि मानिसको भीड हुन्छ । अन्यखाले महामारीको तुलनामा कोरोना महामारी भीडभाडबाटै तीव्ररूपमा सर्ने भएकाले कतिपय मुलुकमा लकडाउन गरिएको छ । नेपालगञ्जमा त तीन दिनदेखि लकडाउन गरिएको छ । सुनसरी भारतीय सीमानसँग जोडिएको जिल्ला हो । सिमाना खुल्ला छ । सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली र भारतीय समुदायबीच धार्मिक र सांस्कृतिक रीतिरिवाजमा एकरूपता छ । त्यसैले पनि खुला सिमानाको फाइदा उठाउँदै यस्ता मेलामा दुवै मुलुकका नागरिकहरू भेला हुने गर्छन् । धार्मिक, सांस्कृतिक मूल्य मान्यता आफ्नो ठाउँमा छ तर, मानिस बाँच्नसकेमात्र उसको धर्म, संस्कृति जोगिन्छ । मानिस बाँचेमात्रै उसले मानिल्याएको पुजिल्याएको भगवान, देवताहरू सम्मानित हुन्छन् । एक पटकलाई धार्मिक मेला नलगाउँदा वा सरकारको सूचना मान्दा वा कुनै पनि भगवान वा देवता पक्कै पनि रिसाउँदैनन् । सर्वसाधारण भक्तजनलाई भगवानलाई खुसी बनाउन पूजाअर्चना गर्ने लोभ, व्यापारी व्यवसायीलाई मेलामा व्यापार गरेर नाफा कमाउने लोभ जाग्दा प्रहरी प्रशासनले कुन लोभले कतै मेला लगाउने अनुमति त कतै रोक्ने काम गरेको हो बुझ्न सकिएको छैन ।
सुनसरीमा लागेका कतिपय मेलाहरू त प्रहरी प्रशासनकै सुरक्षामा लागेका छन् । जिल्ला प्रशासनले स्थानीय तह र सरोकारवालासँग कोरोना नियन्त्रणका लागि समन्वय गरिरहेको बताउन छाडेको छैन । प्रशासन भनेको कानून कार्यान्वयन गराउने मुख्य निकाय हो । उसले नै कार्यान्वयन गर्न गराउन सक्दैन भने सर्वसाधारणले त आफूखुसी नै गर्ने भए । सुनसरीमा धर्म, संस्कृतिको नाममा लागेका मेलाहरूले कोरोना महामारी केही होइन फगत् भ्रम मात्र हो भन्ने सन्देश दिन खोजेका छन् । कोरोना नियन्त्रणमा असफल भइरहेको प्रशासनले पनि यस्ता धार्मिक मेला लगाउन अनुमति दिएर त्यसैमा लालमोहर लगाइदिएका छन् । सङ्क्रमणको दर र मृत्युदर बढिरहेको भए पनि अनदेखा गर्नु आगामी दिनमा आइपर्ने भयावह स्थितिलाई नजरअन्दाज गर्नु सरह हो ।