झापाको मालपोत तथा भूमिसुधार कार्यालयका कर्मचारीहरूले गरेको फटाइँ भर्खरै सार्वजनिक भएको छ । जहाँ अधिकृतदेखि कम्प्युटर अपरेटरसम्मका कर्मचारी घटनामा संलग्न भएको आशङ्का गरिएको छ । घटनाको लहरो तानिँदै गर्दा उनीहरू फरार हुनुले त्यही सङ्केत गर्दछ । बिर्तामोडका टुङ्गबहादुर बस्नेतको नाममा रहेको एक कठ्ठा १४ धुर जग्गामा अधिकृत वारेसनाम नै कीर्ते गरेर बिक्री गरिएको घटनामा उनीहरू जोडिएका छन् । मालपोत तथा भूमिसुधार कार्यालयमा यस्ता घटना पटक–पटक हुँदै आएको समाचारहरू हामीले सुन्दै र पढ्दै आएका छौं । आखिर यो कसरी सम्भव भइरहेको छ भन्नेतिर भन्ने हाम्रो ध्यान गएको पाइँदैन । यो लुटको पराकाष्ठा मात्रै होइन, गम्भीर अपराध पनि हो । यस्ता अपराधमा जोडिनेहरूलाई सामान्य कारबाही गरेर समस्याको समाधान होला भन्ने कल्पना गर्नु मूर्खता मात्रै हुन जान्छ । झापा जिल्ला अदालतले घटनामा संलग्न भएकाको नाममा थुनछेकको आदेश जारी गर्दैगर्दा फरार भएका मालपोत अधिकृत चेतन अधिकारी, मोठ फाँटका सुब्बा हरि तिवारी, रजिष्ट्रेशन फाँटका सुब्बा चैतन्य घिमिरे, खरिदार हेम शर्मा र कम्प्युटर अपरेट झलेन्द्र बराल छन् । पाँचमध्ये अदालतले दुईजनाको नाममा मात्रै थुनछेक आदेश जारी गरेको थियो । अन्य तीनजना पनि घटनाबाट फरार हुनुले उनीहरूको पनि संलग्नता रहेको प्रष्टिन्छ । 

भनिन्छ–कलियुगमा आफ्नैले आफ्नैलाई बेच्छन् । आज पैसाका लागि मान्छे जेसुकै कुकृत्य गर्न तयार छन् । यो माथिको घटनाले त्यसको पुष्टि गर्दछ । एक कठ्ठा पौने १४ धुर जग्गाका लागि उनीहरूले गरेको कृत्य लाजमर्दो मात्रै छैन, मालपोत तथा भूमिसुधार कार्यालयमा के के हुन्छ भन्ने कुराको पुष्ट्याइँ पनि गरेको छ । त्यसैले अबका दिनमा हरेक मान्छे चनाखो हुन आवश्यक देखिएको छ । यस घटनाले लाग्छ–मालपोत तथा भूमिसुधार कार्यालय नै आपराधिक गतिविधि गर्ने एउटा सङ्गठन हो । हामीले मालपोत कार्यालयलाई यो सङ्गीन आरोप लगाउन खोजिएको होइन । तर, यस्ता गतिविधिहरूले त्यही पुष्टि गरिरहेको अवस्था भने छ । त्यसैले सुधार सबैतिर आवश्यक छ । मालपोत तथा भूमिसुधार कार्यालयमा कार्यरत कर्मचारीहरूले आफ्ना गतिविधिलाई सुधार गर्न आवश्यक देखिँदै गएको छ । सामान्य गल्ती कमजोरी हुनुलाई अन्यथा लिनुहुँदैन किनकि मानवीय कार्यमा कहिलेकाहीँ गल्ती कमजोरी हुन सक्छ । तर, यो घटनामा जोडिएका जति पनि कर्मचारी छन्, उनीहरूले मानवीय गल्ती गरेछन् भनेर छाड्ने अवस्था देखिँदैन । उनीहरू आपराधिक मनसाय नै गलत छ । त्यसैले यस्ता विषयमा कानूनी कारबाही गर्दा अदालतले हदैसम्मको कारबाही गर्नेतर्फ पाइला चाल्नुपर्छ । कानूनका छिद्रहरूको प्रयोग गरेर उनीहरू धरौटी वा सामान्य तारेखमा छुट्नेभन्दा पनि पुर्पक्षका लागि जेल चलान गरेर मुद्दाको किनारा लगाइनुपर्छ । 

हाम्रो देशमा हुने हरेक अपराधमा कुनै न कुनै छिद्र प्रयोग गरेर छुट्ने कारण नै अपराधीको मनोबल बढ्ने गरेको छ । अपराधीलाई संरक्षण गर्नुको सट्टा हदैसम्मको कारबाहीको भागीदार बनाउँदै जाने हो भने भोलि गल्ती गर्नेले पनि एकपटक सोच्नेछ । अझ कर्मचारीको हकमा उनीहरूको जागिरबाट बर्खास्तीदेखि लिएर उनीहरूको सातपुस्तासम्मले सरकारी जागिर खान नपाउने व्यवस्था गरिने गरी कानूनको परिमार्जन आवश्यक छ । आज गरेको गल्तीले भोलिका दिनसम्म पछुताउनुपर्ने अवस्था सिर्जना भएमा पक्कै पनि सुधार हुनेछ भन्ने आशा राख्न सकिएला । नत्र हिजो पनि यस्ता घटना नभएका होइनन् । यस्ता घटना भोलि पनि नहोलान् भन्न सकिन्न । त्यसका लागि कानून नै सबल बनाइनुपर्छ । आजको युग कम्प्युटरको युग हो, जसरी अहिले मालपोत तथा भूमिसुधार कार्यालयहरूमा कम्प्युटराइज हुँदै गएको अवस्था छ, अब त्यसलाई पूर्णरूपमा परिपालना गर्ने अवस्था सिर्जना गरिनुपर्छ । एकपटक होइन, हजारपटक जाँच गर्ने व्यवस्था हुनसके मात्रै भोलिका दिनमा यस्ता गम्भीर अपराधहरू हुने अवस्था आउँदैनन् । त्यो अवस्था सिर्जना गर्न राज्यको नै भूमिका अपरिहार्य देखिन्छ ।