कोरोना महामारी बढ्दै गएपछि सरकारले देशका सहरी क्षेत्रमा पर्ने ४० स्थानीय तहका विद्यालय वैशाखभर बन्द गर्ने निर्णय गरेको छ । ठूला सभा, गोष्ठी नगर्न र २५ जनाभन्दा बढी भेला नहुन पनि सरकारको निर्देशन छ । तर, आम सर्वसाधारणले सरकारको यो निर्णयलाई गम्भीर रूपमा लिएको देखिँंदैन । त्यसको उदाहरणका रूपमा धरानलाई नै लिन सकिन्छ । सरकारले शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेका ४० स्थानीय तहमध्ये धरान उपमहानगरपालिका पनि एउटा हो । तर, मङ्गलबार धरानका शैक्षिक संस्था बन्द भएनन् । सरकारको निर्णय अटेर गरेर विद्यालय सञ्चालन गर्दा कोरोना सङ्क्रमण फैलिएमा त्यसको जिम्मेवारी कसले लिन्छ ? सम्बन्धित स्कुलले वा स्थानीय तहले ? सर्वसाधारणलाई कोरोना बारे सचेत गराउने र सरकारको निर्णय कार्यान्वयन गर्दै ठूला कार्यक्रम गर्न रोक्नु पर्ने स्थानीय तहका प्रमुखहरू आफै भीडभाडसहित सार्वजनिक कार्यक्रम गरिरहेका छन् । कोरोना महामारीलाई सामान्य ठानेर यसरी लापरबाही गरिँदा आमसर्वसाधारणले के सिक्ने ? के बुझ्ने ? 

कोरोनाको नयाँ भेटिएण्टले बालबालिका तथा युवाहरूलाई बढी समस्या भएको सार्वजनिक भइरहँदा विद्यालय सञ्चालन गरिरहनु लापरबाही हो । सरकारले वैशाखभर भौतिक रूपमा विद्यालय सञ्चालन नगर्ने तर, अनलाइन कक्षा सञ्चालन गर्न सक्ने बताइरहँदा पनि अटेर गर्ने र व्यापार मात्र हेर्ने विद्यालय सञ्चालकहरूको गैरजिम्मेवारीले भोलि समाजमा कोरोनाले नसोचेको महामारी निम्त्याउन सक्छ । विद्यालय सञ्चालकहरूले पैसाको मुख मात्र हेर्ने होइन, सामाजिक उत्तरदायित्व पनि पूरा गर्नेतर्फ ध्यान दिनुपर्छ । शिक्षाभन्दा महŒवपूर्ण मानिसको स्वास्थ्य हो भन्ने कुरा सबैले ख्याल गर्नुपर्छ । पढ्न त अर्को वर्ष पनि सकिन्छ तर, स्वास्थ्यमा समस्या आयो भने त्यसको क्षतिपूर्ति कसरी होला ? सबैले गम्भीर बन्नु पर्ने विषय हो । स्थानीय तह सर्वसाधारणको अभिभावकका रूपमा रहेकाले उसले यस्ता समस्याका बेला सर्वसाधारणको हितमा काम गर्नु पर्ने हो तर, स्थानीय तहहरू नागरिकका हितमा भन्दा आफ्नो इच्छामा काम गर्न आतुर देखिन्छन् । कोरोना महामारीलाई स्थानीय तहहरूले नै गम्भीर रूपमा नलिएसम्म सर्वसाधारणले गम्भीरताका साथ लिन्छन् भन्न मुस्किल छ । 

कोरोनाका युके भेरिएण्ट, ब्रालिज भेरिएण्ट, दक्षिण अफ्रिका भेटिएण्ट हुँदै हालै इण्डिया भेरिएण्ट पनि पत्ता लागेको छ । भारतलगायतका देशमा तीव्र गतिमा फैलिरहेको नयाँ भेरिएण्टको कोरोना पहिलेको भन्दा खतरनाक रहेको विज्ञहरूले बताइरहेका छन् । नेपालमा पनि पछिल्लो समय फैलिरहेको कोरोना पुरानै हो वा नयाँ भेरिएण्टको हो भन्ने स्पष्ट भइसकेको छैन तर, दैनिक सङ्क्रमण बढिरहँदा र भारतसँगको खुला सीमाका कारण खतराको अवस्था छ । त्यसकारण पनि बेलैमा सचेत हुन नसके हाम्रोमा भएका तयारीले धान्न नसक्ने अवस्था आउन सक्छ । विज्ञहरूले पटक–पटक सचेत गराएपछि सरकारले सहरी क्षेत्र केन्द्रित गरेर शैक्षिक संस्था बन्द गर्न र ठूला कार्यक्रम नगर्न निर्देशन त दियो तर, स्थानीय तहहरूले नै लापरबाही गर्दा खतरा बढेको छ । 

सरकार वा अरू कसैले गर्लान् भनेर पर्खिएर बस्नुभन्दा पनि अब हरेक नागरिक आफै सचेत भएर सतर्कता अपनाउनुको विकल्प छैन । नागरिकहरू आफै सचेत नबनेसम्म समस्या समाधान हुँदैन, बरु झन् बढ्ने निश्चित छ । अहिले बजारको अवस्था हेर्दा पनि आम नागरिक आफै सचेत भएजस्तो देखिँंदैन । सरकारले कडाइ गरेर प्रहरी खटाएपछि मात्र सतर्क बन्ने हाम्रो बानीले पनि समस्या निम्त्याइरहेको छ । आफै सचेत बनेर भीडभाडमा नजाने, घरबाहिर निस्कँदा मास्क लगाउनेलगायत सामान्य सचेतता अपनाए पनि धेरै हदसम्म जोगिन सकिन्छ । त्यसैले आफ्नो स्वास्थ्यको आफै ख्याल गरौं, अरूको निर्देशन नपर्खौं । किनकी आफ्नो स्वास्थ्यको ख्याल अरूले गरिदिँंदैनन्, आफै गर्नुपर्छ ।