धरानका सहकारी संस्थाहरूबाट बचतकर्ताहरू जोखिममा परिरहेका घटना सार्वजनिक भइरहँदा पनि सरोकारवाला निकायहरू मौन झैं देखिन्छन् । एकपछि अर्काे सहकारी संस्थाले बचतकर्ताको करोडौं रकम डुबाइरहँदा पनि सरोकारवालाले चासो नदेखाउनु दुःखद् हो । यसले सहकारीप्रति आम बचतकर्ता तथा सर्वसाधारणको विश्वास घट्दै जाने पक्का छ । यदि सरोकारवालाले चासो दिएर यस्ता समस्या आउँदा समाधानको पहल गरे मात्र सहकारीप्रति जनविश्वास बढ्नेछ । धरान क्षेत्रका सहकारीले बदमासी गर्दा धरान उपमहानगरपालिकाले तुरुन्तै चासो लिनुपर्ने हो । वर्तमान नेपालको संविधानले सहकारी संस्थालाई स्थानीय तहको अधिकारको सूचीमा राखेको छ । यसको अर्थ सहकारी संस्थालाई नियमन गर्ने, व्यवस्थित गर्ने र समस्या आए समाधान गर्ने अधिकार र जिम्मेवारी पनि स्थानीय तहकै हो । धरान उपमहानगरपालिकाले पनि सहकारी ऐन जारी गरिसकेको छ भने सहकारी विकास समिति समेत गठन गरिसकेको छ । तर, धरानमा देखिएका समस्या समाधानका लागि प्रभावकारी काम हुन सकेको देखिंँदैन । यसले बदमासी गर्नेहरूलाई सहयोग पुगिरहेको छ भने आम सर्वसाधारण बचतकर्ता समस्यामा परेका छन् । बचतकर्ताले रकम फिर्ता नपाउँदा सहकारीका बजार प्रतिनिधिहरू पनि समस्यामा परेका छन् । सयपत्री बचत तथा ऋण सहकारी संस्था धरान–९ का बजार प्रतिनिधिहरूले सहकारीको बदमासीले आफूहरूलाई समस्या भएको भन्दै छानबिन गरी कारबाही गर्न माग गरेर प्रशासनमा उजुरी समेत दिएका छन् । यसतर्फ सरोकारवाला निकायहरूको ध्यान जानु आवश्यक छ । 

यसअघि पनि सहकारीका नाममा विभिन्न बदमासी भए पनि उचित कारबाही हुन नसक्दा ठगी गर्नेहरूको मनोबल बढेको छ । अबका दिनमा पनि ठगी गर्ने, बदमासी गर्नेहरूको मनोबल बढ्ने काम गर्न दिनुहुँदैन । उनीहरूलाई कानूनी कारबाहीको दायरामा ल्याएर सर्वसाधारणको बचत फिर्ता गराउन सरोकारवालाहरू लाग्नु पर्छ । अन्यथा धरानमा अझै धेरै व्यक्तिहरूको करोडौं बचत जोखिममा पर्ने निश्चित छ । यो कुरा सहकारी क्षेत्रमा लागेका र सहकारिता बुझेकाहरूले अवश्य पनि बुझेकै छन् । तर, सबै मौन देखिँदा बदमासीको समर्थन गरेको हो कि जस्तो लाग्छ । अतः सरोकारवाला निकायले चासो नदेखाए पनि सहकारिताकै विकासमा लाग्ने र सहकारीहरूको हित सोच्नेहरूले पनि सक्रियता देखाउनु जरुरी छ । बेलैमा राम्रो काम गर्ने सहकारीहरूलाई प्रोत्साहन र बदमासी गर्नेहरूलाई निरुत्साहन गर्न नसके सहकारीको विकास हुन सक्दैन । सहकारीलाई आम मान्छेले ठगी धन्दाका रूपमा बुझ्ने अवस्था आयो भने यसले एकदिन सहकारीतालाई नै बदनाम गराउँछ । त्यसैले सहकारी अभियन्ताहरू सुधार अभियानमा लाग्नु जरुरी छ ।

अहिले सहकारीहरूले विभिन्न लोभ देखाएर पनि बचतकर्तालाई आकर्षित गर्ने कोशिस गरिरहेको देखिन्छ । महँगो ब्याजको लोभमा परेर धेरैको बचत डुबेको यथार्थलाई बुझ्दै बचतकर्ताहरूले पनि सचेत भएर मात्र सहकारीमा बचत गर्नुपर्ने अवस्था छ । त्यसकारण सहकारीबारे राम्ररी बुझेर र उक्त सहकारीको अवस्था बारे अध्ययन गरेर मात्र बचत गर्नु उचित हुन्छ । बचतकर्ताहरूले पनि सहकारीका सिद्धान्त र नियमहरू बुझ्नु आवश्यक भइसकेको छ । साना–साना पुँजीहरूलाई जम्मा गरेर ठूला काम गर्न सकिने अवधारणासहित सहकार्यबाट सहकारी आएको हो । सहकारीहरूले खासमा आफ्ना सदस्यहरूलाई फाइदा हुने किसिमले काम गर्नुपर्नेमा अहिले केही व्यक्तिहरू मालिक बन्ने अभ्यास भएपछि विविध समस्याहरू देखा परिरहेका छन् । हरेक समस्याका समाधान पनि हुन्छन् । धरानका सहकारीहरूमा देखिएका समस्याहरूमा पनि समाधानको खोजी गरिनु जरुरी छ । त्यसका लागि सरोकारवाला निकायहरू सक्रिय बन्नुपर्छ । सहकारी र बचतकर्ता दुवैको हित हुने गरी कदम अघि बढाउनुको विकल्प छैन ।