काठमाडौंलगायत देशका अन्य सहरमा वायु प्रदूषणको ग्राफ हरेक दिन उकालो लागिरहेको छ । एकातिर वायु प्रदूषण डरलाग्दो अवस्थामा छ भने अर्कोतिर कोरोना भाइरसको नयाँ भेरिएण्ट पत्ता लाग्दै गएको अवस्था छ । अहिले नेपालमा दुई खालको खतराबाट हामी गुज्रिरहेका छौं । वायु प्रदूषणले प्रत्येक ५ मिनेटमा संसारभरि १३ जनाको ज्यान जाने गरेको तथ्य छ । यस्तो भयावह अवस्था कोरोना भाइरसको महामारीमा पनि छैन । तर, हामीले वायु प्रदूषणको हकमा नजरअन्दाज गरिरहेका छौं । काठमाडौं विश्वको प्रदूषणका हिसाबले टप १० भित्र पर्दछ । यो हुनुका पछाडिको कारण आम नागरिक पनि दोषी छन् । एकातिर कार्वन उत्सर्जनका कारण जलवायु परिवर्तन तीव्र रूपमा बढिरहेको छ भने अर्कोतिर प्रदूषणका कारण अर्को खतरा निम्तिरहेको छ ।
नेपालको संविधान २०७२ को भाग ३ को मौलिक हक र कर्तव्यको धारा ३० लाई एकपटक हेर्ने हो भने हामीलाई निकै ढुक्क लाग्छ । तर, त्यो धाराको कार्यान्वयनको अवस्था हेर्ने हो भने चाहिँ कहालीलाग्दो छ । धारा ३० को स्वच्छ वातावरणको हकको उपधारा १, २ र ३ ले भन्छ, ‘प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुनेछ । वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षतिबापत पीडितलाई प्रदूषकबाट कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुुनेछ । त्यस्तै राष्ट्रको विकास सम्बन्धी कार्यमा वातावरण र विकासबीच समुचित सन्तुलनका लागि आवश्यक कानूनी व्यवस्था गर्न यस धाराले बाधा पु¥याएको मानिने छैन ।’ तर, अवस्था फरक छ । अहिले वातावरणमा चासो राख्नेहरूले दैनिक आफ्नो सामाजिक सञ्जाल तथा भौतिक रूपमै उपस्थित भएर वायु प्रदूषणको हकमा सरकारले पाइला नचालेको भन्दै विरोध भइरहेको छ । वातावरणमा चासो राख्नेको विरोध जायजै देखिन्छ ।
विकासको नाममा अहिले जुन विनाश भइरहेको छ, त्यसले पनि वातावरण प्रदूषण गर्नमा ठूलो भूमिका खेलिरहेको छ । भौतिक पूर्वाधार, बाटोघाटो, बिजुली, पानी विभिन्न नाममा भइरहेको विकासे गतिविधिले पनि वायु प्रदूषणमा भूमिका खेलिरहेको छ । काठमाडौं वायू प्रदूषण हुनुमा विकास निर्माण र उद्योगधन्दा कलकारखानाका साथै सवारी साधनको अहम् भूमिका छ । त्यसरी नै अन्य क्षेत्रमा पनि यस्ता गतिविधिकै कारण वातावरणमा ठूलो क्षति पुगिरहेको छ । विकास आवश्यक हो, त्योभन्दा धेरै आवश्यक चाहिँ वातावरण हो । आज नेपालले कार्वन उत्सर्जन सञ्चितीकरण गरेकै कारण लाखौं डलर अनुदान प्राप्त गरिरहेको अवस्था छ । यस तथ्यलाई पनि सरकारले भुल्नु हुँदैन । विकास अनिवार्य सर्त होला तर, नागरिकको स्वास्थ्यमाथि खेलवाड गरेर गरिने विकास किमार्थ आवश्यक छैन । आज विश्वमा वायु प्रदूषणका कारण जुन हिसाबमा मानिसहरूको ज्यान गइरहेको छ, त्यो हामीले गरेको गम्भीर गल्तीकै कारणबाट भइरहेको छ । यो तथ्य निकै डरलाग्दो छ । जबकि कोरोना भाइरसबाट मृत्युदर त्यो अवस्थामा छैन । त्यसैले आजको दिनमा वायु प्रदूषणको अवस्थालाई सरकारले पनि नजरअन्दाज गरेर अगाडि बढ्नु हुँदैन । अहिलेको आवश्यकतालाई बुझेर सरकार गम्भीर बन्नु आवश्यक छ ।