हिउँदयामको सुख्खा समय भनेको आगलागी हुने उपयुक्त समय हो । विशेषगरी फागुन, चैत र वैशाख महिनामा जताततै डढेलो, आगलागी हुने गरेको छ । आगलागी किन हुन्छ भन्ने प्रश्नको जवाफ दिन गाह्रो छैन । यसैबेला सबैथोक सुख्खा हुन्छन् र पानीको अभाव हुन्छ । तर, आगलागी आफै हुँदैन । खाना पकाउँदा ग्यास पड्केर, लिक भएर वा विद्युत् सर्ट भएर आगलागी हुनु आकस्मिक घटना हो । तर, बढीजसो आगलागी हुनुमा मानवीय गतिविधि नै जिम्मेवार देखिएको छ । मानवीय लापरबाही यसको मूल कारण हो । खेतबारी मलिलो बनाउन सुख्खा पातपतिङ्गर जलाउने, जङ्गलमा बिनाकारण आगो लगाउने, चुरोट खाएपछि आगो ननिभाई त्यत्तिकै छाडि दिने, खोरिया फाँडेर आगो लगाउनेजस्ता गतिविधिले आगलागी, डढेलो लाग्ने गरेको छ । आगलागी वा डढेलोपछि प्राकृतिक पर्यावरण, वातावरण, इकोसिस्टममा मात्र असर पर्दैन, त्यसको सिधा असर मानिसमै पर्छ । करोडौंको धनमाल क्षति, मानवीय क्षति त हुने नै भयो, आगलागी वा डढेलोबाट उत्पन्न धुलो, धुवाँले वातावरण नै धुमिल बनाउँदा रोगव्याधी पनि उत्पन्न हुन्छ । दीर्घकालका लागि कार्वनडाइअक्साइड उत्पन्न हुने र अक्सिजन कम हुन पुग्छ । योसँगै खेतबारी, वनजङ्गलमा लगाएको डढेलोले रुख बिरुवा र माटोका लागि अति आवश्यक मानिएका पर्यावरणीय सूक्ष्म जीवदेखि ठूला जीवजन्तु, पंक्षीहरू जलेर नष्ट हुन्छन् । आगलागी र डढेलो आगोको सानो झिल्कोबाटै सुरु हुन्छ । तर, यो विस्तार हुँदै जाँदा के–केसम्म क्षति गर्छ भन्ने पूर्वानुमान गर्न नसक्दा लहड वा रमाइलोका लागि गरिने मानवीय गल्ती दुर्घटना बन्न पुग्छ । डढेलोले वर्षौंंदेखि हुर्काइएका वन, बहुमूल्य जैविक विविधता र सम्पदा पनि मासिएका छन् । कतिपय डढेलोले मानव बस्तीलाई पूरै उजाड बनाएको छ। जानेर वा नजानेर भए पनि यी सबै घटनामा मानव नै दोषी छन् । डढेलो नियन्त्रण राज्यको प्राथमिकतामा परे पनि प्रभावकारी कार्यान्वयन भएको छैन ।
नेपालमा दुई दशकमा ४५ लाख हेक्टर क्षेत्रलाई डढेलोले सखाप पारेको तथ्याङ्क छ । भौगोलिक रूपमा चुरे, तराई र मध्यपहाडी क्षेत्रमा सबैभन्दा बढी डढेलो लाग्ने क्षेत्रमा पर्ने गरेको पनि तथ्याङ्क छ । विश्वमा ९० प्रतिशतभन्दा बढी आगलागीको मुख्य कारणमा मानवीय गतिविधि नै प्रमुख भएको विश्व खाद्य र कृषि सङ्गठनले पनि दाबी गरेको छ । नेपालमा हुने अधिकांश आगलागी र वन डढेलो मानवीय कारणबाटै हुने गरेका छन् । आगलागीमा परेर नेपालमा बर्सेनि ६० जनाभन्दा बढी मानिसले ज्यान गुमाउने, सयौं घाइते र अर्बौं रुपैयाँ बराबरको धनमालको क्षति र असीमित पर्यावरणीय विनाश हुने गरेको छ । गृह मन्त्रालयमातहत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विभागका अनुसार नेपालमा सन् २०११ देखि २०२० सम्ममा १३ हजारभन्दा बढी आगलागीका घटना सूचीकृत भएका छन् । उक्त अवधिमा १६ हजार घर नष्ट भएको, ६ सयभन्दा बढी मानिसले ज्यान गुमाएको र १८ सय जनाभन्दा बढी घाइते भएका तथ्याङ्क छ । नेपालमा बर्सेनि १ अर्ब ८४ करोड रुपैयाँभन्दा बढीको क्षति त आगलागीकै कारण हुने गरेको छ । बर्सेनि हुने यस्ता आगलागी र डढेलो रोकथाम तथा नियन्त्रण गर्न भने राज्य उदासिन देखिएको छ ।
वितेका वर्षमा भएका भयानक आगलागीका घटनाहरूबाट राज्य संयन्त्रमा बसेका पदाधिकारीहरू कुनै पाठ सिक्न चाहँदैनन् । एक तथ्याङ्कअनुसार हरेक वर्ष डढेलोबाट १५ लाखदेखि २० लाख हेक्टरसम्म वनमा क्षति पुग्ने गरेको छ । कतिपय घटनामा सिधा मानवीय क्षति नपुगे पनि पर्यावरणमा गम्भीर क्षति पुग्ने गरेको छ । अहिले पनि आगगलागी वा डढेलो नियन्त्रणका नाममा सहरी क्षेत्रमा केही थान दमकल र केही जनशक्ति मात्र छ । तर, वनजङ्गलमा लाग्ने डढेलो नियन्त्रण र रोकथामका लागि भनेर राज्यले कुनै नयाँ कार्यक्रम र प्रविधिको प्रयोग गर्न सकेको छैन । समाधानका लागि भन्दै तलब, भत्ता पचाउने शैली अपनाएर हरेक वर्ष मौसमी छलफल नगरी सरकारी तथा गैरसरकारी संस्थालाई समेत सहभागी गराएर राज्यले प्रभावकारी भूमिका खेल्नु जरुरी छ ।