देशमा कोरोना महामारी फैलिएर लकडाउन गरिएको वर्षदिन नाघेको छ । देशव्यापी लकडाउन सुरु भएको एक वर्षपछि पुनः कोरोना सङ्क्रमण देखिन थालेपछि त्रास बढेको छ । कोरोना भाइरसको दोस्रो लहर सुरु भएपछि देशैभर सतर्कता अपनाउन थालिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना जारी गरेर भीडभाड नगर्न, सभा सम्मेलन नगर्न र मास्क तथा सतर्कताका उपाय अपनाउन सचेत गराइसकेको छ । तर, बजारमा सर्वसाधारण त बिना सतर्कता भीडभाडमा बिना मास्क नै हिँडिरहेका छन् नै राजनीतिक दलहरूले समेत भीड जम्मा गरेर सार्वजनिक कार्यक्रम गरिरहेका छन् । दलहरूका यस्ता ठूला भेलाहरूलाई रोक्न नसक्ने हो भने कोरोना महामारी फैलिन कति पनि समय लाग्दैन ।

भारतमा कोरोना सङ्क्रमण तीव्र गतिमा फैलिएसँगै भारतसँग सीमा जोडिएका प्रदेशहरूमा जोखिम बढेको छ । प्रदेश नं. १ मा बुधबार मात्र १३ जनामा कोरोना सङ्क्रमण भेटिएको छ । सरकारको निर्देशनसँगै प्रहरी प्रशासनले प्रदेश १ मा सतर्कता अपनाएको छ । प्रदेश १ का मुख्य बजार रहेका जिल्लाहरू झापा, मोरङ र सुनसरी भारतसँग प्रत्यक्ष कारोबार र आवत–जावत हुने जिल्ला भएकाले पनि यो क्षेत्रमा कोरोना महामारीको जोखिम बढी नै छ । अहिले सरकारी तवरबाट सतर्कता अपनाइएको बताइरहेपनि बजारमा सतर्कताको अवस्था देखिँंदैन । हामी अहिलेदेखि नै सचेत नहुने हो भने कोरोना महामारी फैलिन समय लाग्दैन । गतवर्ष पनि नेपालमा भारतबाट आउनेहरूबाट नै बढी कोरोना सङ्क्रमण भित्रिएको थियो । बेलैमा सतर्कता अपनाउन नसक्दा महामारीका रूपमा फैलिएको कोरोनाले धेरैको ज्यान लिएको थियो भने बजार अस्तव्यस्त पारेको थियो । कोरोनाका कारण धेरैको व्यवसाय डुब्यो । अर्थतन्त्र नै धरासायी बन्यो । कोरोनाको मारमा पारेको अर्थतन्त्र हालसम्म पनि तङ्ग्रिन सकेको छैन । यस्तो बेला फेरि पनि कोरोना महामारी फैलिए अर्थतन्त्र ध्वस्त हुन्छ । हाम्रोजस्तो विकासको गतिमा भर्खर अघि बढ्दै गरेको देशको अवस्था झनै नाजुक बन्छ । त्यसकारण पनि अहिलेदेखि नै सतर्कता अपनाउनु आवश्यक छ ।

भारतसँग सीमा जोडिएका प्रदेशहरूमा कोरोना सङ्क्रमण नियन्त्रणका लागि धेरै चुनौतीहरू छन् । विशेषगरी खुला सिमानाका कारण भारतबाट सङ्क्रमितहरू पनि निर्बाध आउने–जाने गरिरहेका हुन्छन् । प्रहरी प्रशासनले मात्र नियन्त्रण गर्न सक्दैन भन्ने कुरा हामीले अघिल्लो वर्षका घटनाक्रमबाट पनि देखिसकेकै छौं । त्यसकारण पनि आम नागरिकले आफै सतर्कता अपनाउनु आवश्यक छ । अघिल्लो वर्ष पनि सरकार र नागरिक दुवैले बेलैमा सतर्कता अपनाउन सकेनन् । त्यसैको परिणाम ठूलो क्षति व्यहोर्नु प¥यो । फेरि पनि सचेत नहुने र त्यसरी नै लापरबाही गरिरहने हो भने अघिल्लै वर्षको जस्तो वा अझ त्योभन्दा भयानक समस्या नआउला भन्न सकिन्न । त्यसकारण पनि सरकारले नियन्त्रण थालेको छैन, हामी किन सतर्क हुने भनेर पर्खेर बस्नेभन्दा आफै आजैदेखि सतर्क बन्नुको विकल्प छैन । किन कि आफ्नो स्वास्थ्यको ख्याल सबैभन्दा बढी आफैले गर्नुपर्छ, अरूले गरिदिंँदैनन् । त्यसैले यसपालि बेलैमा सचेत बनौं अनि कोरोना महामारी नियन्त्रणमा सबै नागरिक सहभागी बनौं । त्यसो गर्न सकेमात्र हामी सबैको हित हुनेछ ।