निजी स्तरमा खोलिएका राम्रा अस्पतालहरूमा भीड देखिन्न । अर्थात् बिरामीको चाप भएको अनूभूति हुन्न । ओपीडीमा चिकित्सकको टेवलसम्म पुग्न केही पालो भने पर्खिनु नै पर्छ । त्यसपछि भने सबै काम फटाफट हुने गरेको छ । तोकको शुल्कमात्र तिर्न सक्नु पर्छ रगत, पिसाब, दिसा, खकार जाँचदेखि एक्स–रे, भिडियो एक्स–रे, अल्ट्रासाउण्ड, इण्डोस्कोपी, कोलोनोस्कोपी, सिटीस्क्यान, एमआरआई सबै फटाफट हुन्छ । ७२ घण्टे कल्चर रिपोर्टबाहेक प्रायः रिपोर्ट पनि फटाफट दिइन्छ । शल्यक्रिया गर्नुपरे रिपोर्ट आएलगत्तै पिएसीको रिपोर्टअनुसार शल्यक्रिया पनि फटाफट हुन्छ । तर, दिल्लीस्थित भारतीय आयुर्विज्ञान संस्थान एम्सको मोडलमा अढाई दशकअघि स्थापना भएको धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भने उपचार गर्न आउने बिरामीका लागि सास्ती बनेको छ । भौतिक पूर्वाधार, दक्ष जनशक्ति, विशेषज्ञ चिकित्सक नभएर बिरामीले सास्ती खेपेका भने होइनन्, प्रतिष्ठानका पदाधिकारीहरूले फटाफट काम गर्न नजानेर, बिरामीको चाप व्यवस्थापन गर्न नसकेर, आधुनिक उपकरण थप्न नसकेर हालत खराब भएको हो ।  

प्रतिष्ठानमा फ्याकल्टी डाक्टर २ सय बढी छन् । फ्याकल्टी डाक्टरले मात्र ओपीडीमा बिरामी नहेरेर जुनियर रेसिडेन्सियल (जेआर) चिकित्सकहरूले पनि हेरिरहेका हुन्छन् । उनीहरूको सङ्ख्या पनि करिब डेढसय बढी छ । अर्थात् उपचारका लागि प्रतिष्ठानमा आउने दैनिक ४ हजार बिरामीका लागि चिकित्सकको यो सङ्ख्या काफी हो । आधा चिकित्सक बिदामै बसे पनि बाँकी रहेका चिकित्सकमध्ये एकजनाको भागमा ३० जना बिरामी मात्र पर्छ । ती ३० जनालाई एक चिकित्सकले कम्तीमा १० मिनेट समय लगाएमा ५ घण्टा मात्र लाग्छ । बाँकी समय विद्यार्थी पढाउने, आफ्नो अनुसन्धान गर्न पर्याप्त हुन्छ । तर, यहाँ हिसाब गरे जस्तो देखिएको छैन । चिकित्सकलाई मात्र दोष नदिए हुन्छ । मुख्य कुरो व्यवस्थापन पक्ष हो । पुर्जी काट्न लामो लाइन लागेर ओपीडी पुग्न त्यहाँको सास्ती भोगिसकेका बिरामीले अर्को सास्ती खेप्न तयार हुनुपर्छ । बिल काउण्टरमा फेरि सास्ती खेपिसकेपछि चिकित्सकले पठाएको विभिन्न ल्याव, एक्स–रे, सिटीस्क्यान वा एमआरआईमा पुग्नु पर्छ । त्यहाँ पनि उस्तै लाइन । प्रतिष्ठानको हकमा सिटीस्क्यान, एमआरआई, अल्ट्रासाउण्ड, इण्डोस्कोपी, दन्तचिकित्सकका एक्स–रे सेफालोग्रामलगायत केही ल्याव टेष्ट रिपोर्टका लागि बाहिर नै जानुपर्ने अवस्था छ । प्रतिष्ठानभित्रै रिपोर्ट उपलब्ध गराए पनि कम्तिमा एक दिन कुर्नुपर्छ । नत्र दुई दिन । कतिसम्म भने शुल्क तिर्न पनि लाइन लागेर चार घण्टा बढी समय खर्चिनु पर्छ । शुल्क तिरेपछि पाएको रिपोर्ट देखाउन फेरि चिकित्सक भेट्न तीन दिन पर्खिनु पर्छ । एकै दिनमा रिपोर्ट हात लाग्यो भने पनि भोलिपल्ट ओपीडीमा ती चिकित्सकको पालो हुन्न । टाढाका जिल्लाबाट आएका बिरामीले चिकित्सकको पालो पर्खंदा होटलमा बस्नुपर्ने हुँदा अतिरिक्त खर्च व्यहोर्ने आर्थिक सास्ती फेरि खेप्नु पर्छ । जब कि दक्षिण एसियाकै नमुना भनिएको प्रतिष्ठानमा आवश्यक आधुनिक उपकरणको भने अभावै अभाव छ । 

आधुनिक चिकित्सा पद्दतिमा चिकित्सक दक्ष र पर्याप्त भएर मात्र हुँदैन, बिरामीको रोग पहिचान गर्ने आधुनिक उपकरण पनि सँगसँंगै चाहिन्छ । अप्रेसन गर्नुपरे वा इण्डोस्कोपी, अल्ट्रासाउण्ड गर्नुपरे ३ महिनापछिको पालो कुर्नु अर्को विडम्बना भएको छ । तीन महिनासम्म पर्खिंदा बिरामीको ज्यान गए त्यसको क्षतिपूर्ति प्रतिष्ठानले व्यहोर्छ ? विशेषगरी आकस्मिक बाहेकका अन्य रोगका शल्यक्रिया गर्न प्रतिष्ठानमा ६ महिनापछिको पालो कुर्नु पर्छ । आइसियु बेड जहिल्यै अभाव हुन्छ । डेण्टलका ९० प्रतिशत चियर र अन्य आवश्यक उपकरण कामै नलाग्ने अवस्थामा छन् । दन्तरोगसम्बन्धी उपचार त्यसै पनि ‘तारिख’ शैलीको हुन्छ, त्यसमाथि डेण्टल चियर नै अभाव भएको कारणले झन् पालो कुर्नु पर्दा सास्तीमाथि सास्ती हुन पुगेको छ । अढाई दशकअघिको बिरामीको सङ्ख्यालाई हेरेर तयार गरेको आकस्मिक कक्ष, आइसियु, एमआइसियु, पिआइसियु, ओपीडी, मुख्य अप्रेसन थिएटरले धान्न सकेका छैनन् । यी सबै समस्याबारे प्रतिष्ठानका पदाधिकारीहरू, स्वास्थ्यमन्त्री, सरकार जानकार छ । तै पनि प्रतिष्ठान र बिरामी उपचार सेवामा माखो मार्न सकेका छैनन् । बरु, प्रतिष्ठानलाई दुहुनो गाई बनाउन साम, दाम, दण्ड, भेद प्रयोग गरेर चुस्ने काममात्र गरेका छन् । यस्ता विसङ्गति विकृति नसच्चिएसम्म उपचारका लागि आउने बिरामीले पैसा तिरेर पनि सहज उपचार सेवा होइन, फटाफट सास्ती मात्रै खेपिरहनु पर्नेछ ।