अन्तर्राष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकपको तेइसौं संस्करण नहुने भनेर पत्रकार सम्मेलन गर्दै जानकारी दिइसकिएको छ । यस वर्ष बूढासुब्बा नहुँदा त्यसको प्रत्यक्ष घाटा खेलप्रेमीलाई देखिए पनि त्यसको दीर्घकालीन प्रभाव भने धरानलाई नै हुने निश्चित छ । २०५५ सालदेखि निरन्तर हुँदै आएको प्रतियोगितामा यसपटक आर्थिक कारणले नै हुन नसक्ने आयोजक धरान फुटबल क्लबले जनाएको छ । गत वर्षकै विजेता, उपविजेतालाई रकम दिन नसकिएको भनेर क्लबका अध्यक्ष किशोर राईले तीतो सत्य ओकेले । कोरोना महामारीको कारणले नै प्रतियोगिता गर्न नसकेको जनाए पनि त्यसको भित्री पाटो भने केही फरक छ । आयोजक क्लबले कोरोना महामारीले आर्थिक सङ्कलन जुटाउन नसकेको भनिए पनि बूढासुब्बा गोल्डकपमा क्लबहरू नै सहभागी बन्न नचाहेको सत्य भने ओकेलेनन् । 

गोल्डकपहरूलाई आजको लयमा ल्याउन भूमिका निर्वाह गर्ने बूढासुब्बा गोल्डकप हरेक वर्ष किन खस्किँदो छ ? अन्य गोल्डकपहरू एउटा लयमा हिँडिरहँदा बूढासुब्बा गोल्डकप भने झन्–झन् जटिलतातिर मोडिँदै छ । आर्थिक सङ्कट एउटा बाहिरी पाटो मात्रै हो । हरेक वर्ष आर्थिक पारदर्शिताको प्रश्न आयोजकमाथि उठ्दै आएको छ । यतातिर भने आयोजक गम्भीर भएर लागेको देखिएको छैन । जसका कारणले बजारमा आज बूढासुब्बा गोल्डकपका लागि रकम दिन कोही पनि तयार देखिँदैनन् । जबकि वडास्तरमा हुने गोधुली रनिङ कप हरेक वर्ष मुनाफामा जान्छ । यसपटकको २१ औं संस्करणको गोधुलीमा दर्शकको उपस्थितिले नै धरानमा अझै पनि फुटबल क्रेज छ भन्ने देखाएको छ । उसले दर्शकबाटै २ लाख १० हजारको हाराहारीमा रकम सङ्कलन गर्न सफल भएको छ । जबकि उसले फाइनल खेलमा ८० रुपैयाँ प्रवेश शुल्क तोकेको थियो । यता बूढासुब्बाको फाइनल खेलमा ५ सय रुपैयाँ प्रवेश शुल्क लिइन्छ । त्यही पनि हरेक वर्ष घाटामा जाने गरेको आयोजकले बताउँदै आएको छ । बूढासुब्बा आयोजकले पक्कै पनि यस विषयमा गम्भीर भएर सोच्नुपर्ने देखिएको छ । आर्थिक पारदर्शिताको विषयलाई पनि गम्भीर रूपमा मनन् नगरिए भोलिका दिनमा पनि २३ औं संस्करणजस्तै रोकिनुपर्ने अवस्था नआउला भन्न सकिन्न ।

यसपटकको बूढासुब्बा नहुँदा आयोजकलाई मात्रै घाटा हुँदैन, समग्र धराने र गोल्डकपको इतिहासमाथि नै धक्का लागेको छ । सामान्य आँखाले हेर्दा बूढासुब्बा गोल्डकप भएन भन्ने होला, तर यसको दीर्घकालीन असर भने धरानलाई नै पर्ने निश्चित छ । धरानको गरिमासँग जोडिएको विषय हो । बूढासुब्बा र धरान पर्याय झैं छ । आज जति पनि ठाउँमा गोल्डकप हुँदै छ यो सबै बूढासुब्बाकै देनभन्दा फरक पर्दैन । तर, आज त्यही बूढासुब्बा गोल्डकप मरणासन्न अवस्थामा पुगेको छ । यसलाई ब्युँताउने जिम्मेवारी सबै धरानेको हो । यो फगत् गोल्डकप मात्रै होइन, यो धरानको गर्विलो इतिहास र गरिमा पनि हो । यसको संरक्षण गर्ने दायित्व आयोजक धरान फुटबल क्लबको मात्रै होइन, समग्र धरानवासीको हो । तर, आयोजकले पनि आफ्ना गल्ती, कमजोरीलाई सुधार गर्नतिर ध्यान दिनुपर्छ । अनिमात्रै धरानेले अपनत्व लिनेछन् ।