भारतबाट नेपाल आयात गरिएको पेट्रोलियम पदार्थ नेपालका विभिन्न नाका हुँदै भारततिरै तस्करी हुने गरेको लामै समय भइसक्यो । विगतमा नाकाबाट लुकीछिपी जर्किन र विभिन्न भाँडामा सानो परिमाणमा भारततर्फ पेट्रोलियम पदार्थ तस्करी हुने गरे पनि पछिल्लो समय भने ट्याङ्करबाटै तस्करी हुने गरेको छ । समयमै पेट्रोलियम तस्करी नियन्त्रण गर्न नसक्दा यस्तो धन्दामा लाग्नेहरूको मनोबल बढेको देखिन्छ । नेपालले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेपछि अन्तर्राष्ट्रिय बजारसँगै नेपालमा पनि पेट्रोलियमको मूल्य घटबढ हुने गर्छ । तर, भारतमा अत्यधिक करका कारण नेपालमा भन्दा पेट्रोलियम पदार्थ महँगो पर्न जान्छ । अहिले नेपालमा प्रतिलिटर १ सय १६ रुपैयाँमा पाइने पेट्रोल भारतमा १ सय ५५ रुपैयाँ मूल्य पर्छ । त्यस्तै डिजेल नेपालमा ९९ रुपैयाँमा पाइन्छ भने भारतमा १ सय २५ रुपैयाँ प्रतिलिटर पर्छ । प्रतिलिटरमै २५ रुपैयाँको फरक पर्ने भएकाले नेपाल–भारत सीमाक्षेत्रमा अवैध कारोबार गर्नेहरूको नयाँ धन्दा बनेको छ पेट्रोलियम तस्करी । यसले केही व्यक्तिलाई फाइदा पुगे पनि देशमा भने पेट्रोलियमको हाहाकार मच्चिन सक्छ ।
नेपाल आयल निगमकै अध्ययनले नेपालमा पछिल्ला वर्षहरूमा अस्वभाविक रूपमा पेट्रोलियमको आयात बढिरहेको छ । लोडसेडिङ हटेको समयमा पेट्रोलियम पदार्थको आयात कम हुनुपर्नेमा अस्वभाविक रूपमा बढेपछि निगमलाई नै व्यवस्थापन गर्न समस्या भयो । त्यसपछि निगमले गरेको अध्ययनका क्रममा आयात अस्वभाविक बढ्नुको मूख्य कारण भारततर्फ हुने तस्करी रहेको पाइएको थियो । यस्तो अवस्था पाइएपछि निगमले सुनसरी र मोरङका सीमाक्षेत्रमा स्थानीय तहका निगरानी र सिफारिस बिना पेट्रोल बेच्न प्रतिबन्धसमेत लगायो तर, पछिल्लो समय तस्करी झनै मौलाएको छ । गत शनिबार तेल लिन भारत जान लागेको को.१ ख ५९१२ नम्बरको ट्याङ्कर जाँच गर्दा दुई हजार ६ सय ६० लिटर डिजेल बरामद भएको थियो । यसले पेट्रोलियमको तस्करीमा ठूलै समूह लागिपरेको सङ्केत गरेको छ । निगमका अधिकारीको भनाइमा तेल लिन भारततर्फ जाने ट्याङ्करहरूमा समेत चाबी लगाइन्छ र त्यसलाई विराटनगर र बरौनी डिपोमा मात्र खोल्न सकिन्छ । यस्तो कडाइका साथ ल्याइने पेट्रोलियम पदार्थ कसरी तस्करी भइरहेको छ त ? यसबारे गम्भीर अनुसन्धान हुनु आवश्यक देखिन्छ ।
नेपालमा पेट्रोलियम उत्पादन हुँदैन, त्यसैले भारतबाटै किनेर र ढुवानी खर्चसमेत गरेर ठूलो लगानीका साथ नेपाल ल्याउने गरिन्छ । यसमा समयसँगै आर्थिक लगानी पनि भएको हुन्छ । त्यत्रो लगानीसहित नेपाल आइपुगेको पेट्रोलियम पदार्थ पुनः भारततर्फ नै जानु नेपालका लागि धेरै हिसाबले बेफाइदा छ । त्यसकारण पनि पेट्रोलियम पदार्थको तस्करी नियन्त्रण गर्न प्रहरी प्रशासन सक्रिय हुनुपर्छ । सीमाक्षेत्रमा सरकारले सशस्त्र प्रहरीसँगै आवश्यक ठाउँमा नेपाल प्रहरीका पोष्टहरू राखेको छ । तर, खुला सीमाका कारण पनि हुनसक्छ, पेट्रोलियम मात्र होइन, खाद्यान्नदेखि विभिन्न सामग्रीहरूको तस्करी बढिरहँदा पनि नियन्त्रण हुन सकेको छैन । सीमाक्षेत्रमा कतिपय घटना प्रहरीकै मिलेमतोमा हुने गरेका उदाहरण पनि छन् । त्यसकारण शङ्का त्यताबाट पनि गर्नुपर्ने हुन्छ । यस विषयमा सरकारले पनि गम्भीर रूपमा अनुसन्धान गरी नियन्त्रणका उपायहरूको खोजी गर्नु जरुरी छ ।