धरान साहित्यको उर्वर भूमि हो । यहाँ अनेकन साहित्यको चर्चा परिचर्चा हुँदै आएको छ । यहाँ साहित्य कोर्ने मात्रै होइन, समालोचनाको क्षेत्रमा पनि उस्तै गरी कलम चल्दै आएको छ । भलै समालोचना गरिएका विषयहरू पत्रपत्रिका तथा अनलाइनहरूमा कमै आउँछन् । विशेषगरी जर्नलतिर मात्रै सीमित छन् समालोचनाहरू । साहित्यको यस्तो उर्वर भूमिमा फागुन २८ र २९ गते दुईदिने ‘अन्तर्राष्ट्रिय धरान साहित्यक तथा सांस्कृतिक पर्यटन महोत्सव’ गरियो । महोत्सवमा पूर्वोत्तर भारतका विभिन्न सहरका नेपालीभाषी कवि तथा स्रष्टाहरूको उपस्थिति रह्यो । त्यस्तै नेपालका पनि विभिन्न सहर तथा नगरबाट स्रष्टा तथा साहित्यकारहरू सहभागी भए । १३ नम्बर वडा कार्यालयले नेतृत्व लिएको यस महोत्सव यस मानेमा पनि स्मरणीय छ, ३ दशमलव ४ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यो वडाले समग्र धरानको प्रतिनिधित्व गरेको छ । २०६८ को राष्ट्रिय जनगणनाअनुसार ८ हजार ३ सय २ जनसङ्ख्या रहेको यो वडाले नगरले गर्नुपर्ने भूमिका निर्वाह गरेको छ । यस्तो खालको कार्यक्रमको नेतृत्व धरान नगरले लिनुपर्ने हो । तर, नगरको त्यो भूमिका देखिएन ।
भनिन्छ, सभ्य सहर कहलाउन पुस्तकालय हुनुपर्छ, अनिमात्रै त्यो सहर सभ्य कहलाउँछ । साहित्य र कलाले समाजको भाव, विचार बोकेको हुन्छ । साहित्यकारहरूले त्यही भाव र विचारलाई आफ्ना कृति तथा रचनामार्फत् प्रस्फुटन गर्दछन् । उनीहरू कला र चेतनाका संवाहक मानिन्छन् । कला र साहित्यले कतिपय हकमा सम्बन्धहरू प्रगाढ बनाउँछन् । सम्बन्धहरू स्थापित गर्छन् । कला र विचारविहीन हुनु भनेको शून्य हुनु हो । त्यसैले नगर सबैभन्दा बढी चनाखो हुनुपर्छ । नगरको दायित्व यहाँ वडाले गरेको छ । वडाले जुन साहस देखाएको छ, त्यसलाई सम्मान गर्नैपर्छ । यो कार्य नगरले गरेको भए अझै सुनमा सुगन्ध हुने थियो । नगरले यस्ता कार्यक्रमहरू गर्ने आँट नदेखाउनुले नै नगरमा रहेका नगर प्रमुख, उपप्रमुखलगायत कर्मचारीहरूको चेतनाको स्तर कति रहेछ भन्ने प्रष्ट्याउँछ । वडाले जुन साहस देखाएको छ, त्यसले कम्तीमा नगरलाई पनि झक्झक्याउने काम गरेको छ भन्ने हामीले बुझेका छौं । तर, वडाले कार्यक्रम गरिरहँदा व्यवस्थापकीय पक्ष कमजोर भएको कुरा बारम्बार उठेको छ । यस्ता ठूला कार्यक्रम आयोजना गर्दा पक्कै पनि केही कमी कमजोरीहरू हुन्छन् । त्यसलाई सच्याउँदै जानुपर्छ ।
धरान साहित्यको उर्वर भूमि भए पनि राम्रा र गुणस्तरीय साहित्यिक महोत्सव गर्न चुकिरहेको यथार्थ लुक्न सकेको छैन । हामीलाई पोखरा, जनकपुरले जितिसकेको छ । पोखरामा ठूला र भव्य साहित्यिक महोत्सवहरू हुने गरेका छन् । यसपटक जनकपुरले त्यसलाई नेतृत्व गरेको छ । साहित्यकका विविध आयाममाथि छलफल र वहस तथा विमर्शहरू भए । पाँच दिनसम्म हुने त्यस्ता महोत्सवले पक्कै पनि राष्ट्रियदेखि अन्तर्राष्ट्रिय रूपमा सन्देश दिन सफल भएको छ । तर, धरानमा हुने गोलमटोल साहित्यिक महोत्सवको प्रभाव भने सामान्य हुने गरेको छ । कार्यक्रम भइञ्जेलसम्म मात्रै होहल्ला हुने त्यसपछि प्रभाव शून्य हुने अवस्था सिर्जना भएको छ । पक्कै पनि धरानले त्यस्ता साहित्यिक महोत्सव गर्न नसक्ने भन्ने होइन । एउटा वडा कार्यालयले चाहँदा यतिको ठूलो महोत्सव गर्न सकिन्छ भने नगरले चाहेको खण्डमा उच्चस्तरीय महोत्सव गर्न सकिन्छ भन्ने सन्देश पनि दिएको छ । हामीकहाँ हुने गरेका साहित्यिक महोत्सवको गुणस्तरीयता माथि नै प्रश्न उठ्दै आएको छ, अबका दिनमा त्यस्ता प्रश्नहरूको हल हुने गरी कार्यक्रम गरिनु चाहिँ बुद्धिमानी हुनेछ । हाम्रा सर्जक, स्रष्टा तथा लेखकहरूले पनि यसतर्फ बढीभन्दा बढी ध्यान दिन सकेमा भोलिका दिनमा धरानले पनि विश्वस्तरमा फरक सन्देश दिन सक्नेछ ।