बहुमूल्य धातुमा पर्ने सुनचाँदीको शुद्धतामाथि बारम्बार प्रश्न उठ्ने गरेको छ । ९९.९९ प्रतिशत सुनलाई शुद्ध सुन मानिन्छ । जसलाई सामान्य भाषामा २४ क्यारेटको सुन पनि भन्ने गरिन्छ । तर, हाल बजारमा प्राप्त सुनको शुद्धता २४ क्यारेट हो वा होइन भन्ने मापन गर्ने उपकरण ‘टच मेसिन’ ले नै फरक–फरक परिणाम दिने गरेको पाइएको छ । कुन परिणाम चाहिँ सत्य हो भन्ने बुझ्न उपभोक्ता, श्रमिक तथा व्यवसायीलाई नै हम्मे परेको छ । यसले के देखाउँछ भने सुनमा विशेषगरी उपभोक्ता सबैभन्दा बढी ठगिएका छन् । धरानमा व्यवसायीले राखेका टच मेसिनहरूमा फरक–फरक परिणाम देखाउनुले समस्या विकराल छ भन्ने बुझ्न गाह्रो पर्दैन । धरानमा वराह ग्रुप, धरान–२ स्थित रत्नरोडका विश्वजित मान्नाकोे बूढासुब्बा डाइस कटिङ सेण्टर र गीता मन्दिर नजिकका अक्षय मिसालको टच मेसिन प्रयोगमा छन् । यी मेसिनहरूबाट फरक–फरक नतिजा आएको देखिन्छ । यसले उपभोक्तामा द्विविधा उत्पन्न गरेको छ ।
सुन विशेषगरी शोभाका लागि प्रयोग गरिन्छ । महिलाहरू विशेषगरी सुनका पारखी हुन्छन् । महँगो मूल्यमा खरिद गरेर सुन लगाउने चलन आजबाट मात्र होइन, आदिमकालदेखि नै सुरु भएको मान्न सकिन्छ । मानव सभ्यताको सुरुवातदेखि नै यस्ता बहुमूल्य धातुहरूको प्रयोग हुँदै आएको छ । त्यसबेला यसको महत्व आजको युगमा जस्तो नहोला । तर, त्यस कालमा पनि यसको व्यापक प्रयोग भएको पाइन्छ । यस्तो बहुमूल्य धातुको शुद्धतामाथिको प्रश्न भने ढिलै गरी आएको हुन सक्छ । जब जब मानिसहरू चेतनशील हुँदै गए, साक्षर भए, त्यसपछि नै शुद्धतामाथि पनि प्रश्न उठ्दै गएको पाइन्छ । एक नम्बर सुन अर्थात् २४ क्यारेटको सुन भनेर खरिद गरेको सुन ग्राहकले आफ्नो हातमा पाउँदा त्यसको गुणस्तर नै खस्किसकेको हुने देखियो । मूल्यचाहिँ २४ क्यारेटको तिर्नुपर्ने बाध्यता छ । जसरी पनि उपभोक्ता मात्रै मारमा परेको देखिन्छ । व्यवसायीले २४ क्यारेटको सुन भनेरै बिक्री गरेको हुन्छ । तर, ग्राहकले प्राप्त गर्दा त्योअनुसारको प्राप्त गरेको हुँदैन भन्ने टच मेसिनबाट आएको परिणामले नै देखाउँछ ।
यस्ता विषयमा कानून पनि अमुक छ । राज्यले कुन कानूनको अधीनमा रही कारबाही गर्ने भन्ने पाइँदैन । जसले गर्दा व्यवसायीहरूको ठगी धन्दा मौलाइरहेको छ । उपभोक्ता संरक्षण ऐनअन्तर्गत कारबाही अगाडि बढाउन सक्ने देखिन्छ तर, यो पनि पूर्ण कानून भने होइन । कानूनको छिद्रका कारण खेल्न पाउने गरी राखिदिएको अवस्था छ । कानून बनाउने विधायकले यस्ता विषयमा पनि गम्भीर भएर लाग्नुपर्ने आवश्यकता देखिँदै गएको छ । यस्ता मेसिनहरूको गुणस्तरीयताबारे पनि प्रश्न उब्जिएको छ । त्यसैले कुन मेसिनचाहिँ ठीक हो र कुन मेसिन चाहिँ गलत हो भन्ने अन्यौतलता कायम भएको पाइयो । यस्ता विषयमा पनि व्यवसायी गम्भीर बन्न आवश्यक छ । कुनै व्यक्तिले एउटै सुनको फरक–फरक परिणाम प्राप्त ग¥यो भने ठगीमा उजुरी हाल्न पाउने कि नपाउने ? यस्ता विषयमा पनि सोचनीय बनेको छ । विशेषगरी सुन व्यवसायी रातारात धनी भएको सुनिँदै आएको हाम्रो समाजमा मेसिनले देखाएको शुद्धताको नतिजाका कारण विश्वसनीयतामाथि प्रश्न उठेको छ । यसको हल गर्न व्यवसायी तदारुकताका साथ लाग्नुपर्छ । यदि व्यवसायी तदारुकताका साथ नलाग्ने हो भने राज्यले हस्तक्षेपकारी भूमिका निभाउनु पर्छ । सुनको शुद्धतामाथि खोजबिन र जाँचबुझ गर्न थालिनुपर्छ ।