अन्तर्राष्ट्रिय महिला दिवसको १११ औं संस्करण पनि सोमबार धुमधामले मनाएर सकिएको छ । अब अर्को वर्षको मार्च ८ मा फेरि ११२ औं अन्तर्राष्ट्रिय महिला दिवस यसैगरी मनाइनेछ । सायद यस्तै गरी अरू वर्षहरूमा पनि मनाइनेछ अन्तर्राष्ट्रिय महिला दिवस । यही एक दिन गाउँघरका केही सचेत महिलाहरूले सार्वजनिक चउर वा कतै भेला भएर आफूमाथि भएका हिंसा र विभेदका कुरा गरे । महानगरका शिक्षित पठित महिलाहरूले तारे होटलमा भेला भएर महिला अधिकारका ठूला–ठूला भाषण गरे । राजनीतिक नेतृत्व तहमा पुगेका नेतृहरू पार्टीको गुटअनुसार भेला भएर महिला अधिकारबारे बोले । उनीहरूले भन्ने, बोल्ने, भाषणबाजी गर्दा व्यक्त विचारहरूको सारांश भनेको हरेक क्षेत्रमा महिलाहरूले विभेदको शिकार बन्नुपरेको, नीति निर्माण तहमा नपु¥याइएको, आर्थिक, राजनीतिक, धार्मिक, सांस्कृतिक, शैक्षिक, स्वास्थ्य, रोजगारी, व्यापार–व्यवसायमा पनि शदियौंंदेखि लैङ्गिक विभेद सहनु परेको, घरको चुला चौकाको चौघेराबाट मुक्त हुन नसकेको, पुरुषप्रधान समाजले बनाएको दृष्टिकोण, विचार र मूल्य मान्यताका कारण समाज र परिवारमा हत्या, बलात्कार, यौन दुव्र्यवहार, यौन हिंसा, घरेलु हिंसा बढ्यो, पुरुषले महिलालाई भोग्या, दास बनाइरहेका छन् ।

विश्वका अति विपन्न मुलुकदेखि अति विकसित मुलुकका महिलाहरूले लगातार १ सय ११ वर्षदेखि यिनै विषयमा रटान लगाइरहेछन् । तैपनि पुरुषप्रधान समाजले बनाएको साङ्लो छिनाएर समाजमा समान हुन सकिरहेका छैनन् । महिला अधिकारकर्मी, महिलावादीहरूले यस विषयमा चर्काचर्का विरोध जारी राखेका छन् । तैपनि पुरुष जतिकै समान स्तरमा पुग्न सकिरहेका छैनन् । कतिसम्म भने बेलायत, श्रीलङ्का, भारत, नेपाल, बङ्गलादेशजस्ता मुलुकमा पटक–पटक महिलाहरू नै नीति निर्माण तहको शीर्ष नेतृत्वमा पुगे पनि तिनै मुलुकहरूमा उस्तै रूपमा महिला हिंसा जारी छ । के त्यसो भए अन्तर्राष्ट्रिय महिला दिवस पनि पुरुषप्रधान समाजले बनाएको अवधारणाअनुसार महिलालाई देखाउने एउटा ललिपप मात्र भएको हो त ? महिलाको पक्षमा दार्शनिक सिमोन द वउवार, प्रभा खेतान जस्ताले विश्वव्यापीरूपमा विद्रोह गरे । अनेक पुस्तक लेखेर जागरुक र सचेत बनाउने प्रयास गरे । महिलामाथि हुने हिंसाका विरुद्ध विष्फोटक विचार राखे । तर, दुःखको कुरा महिला अधिकारको भाषणबाजी गरेर नथाक्ने महिला नेतृहरू घरको चुला चौकाबाट निस्के पनि राजनीतिक चौघेराबाट मुक्त हुन नसक्दा कुरा ग¥यो कुराकै दुःख भनेजस्तै भाषणमै सीमित भएका छन् ।

महिला मुक्तिका विषयमा अनेक भाषणबाजी भए पनि तिनै कुरा नीति निर्माण तहमा पुगेका, प्रमाणीकरण गर्ने लालमोहर लगाउने राष्ट्रपति, मन्त्री, सांसद् भएका नेपालका महिलाहरूले किन संविधान संशोधन गरेर समावेश गर्न नसकेका हुन् ? विधेयक, ऐन, कानून बनाएर किन लागू गर्न नसकेका हुन् ? महिला दिवसलाई एक दिन मनाउने त्यसपछि बिर्सने अर्को रोग पनि छ । त्यो रोग पुरुषले त बिर्सने नै भयो, किनकी महिलाको समग्र पीडा पुरुषले नभोगेकाले व्यक्त गर्न सक्दैन । व्यक्त नै गर्न नसकेपछि महिला अगाडि सर्नुपर्छ । पुरुषप्रधान समाजमा भएको खोट देखाएर मात्र हुँदैन, त्यसलाई सच्याउनका लागि पुरुषलाई आग्रह अनुरोध गरिरहनुभन्दा पनि आफैले जिम्मेवारी र दायित्व लिन पछि हट्नु हुँदैन ।