ताप्लेजुङमा एकपछि अर्को भीषण आगलागी भएको छ । पछिल्लो सात वर्षको आँकडालाई हेर्दा बर्सेनिजस्तो आगलागी भएका छन् । चार वर्षअघि ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारस्थित तोक्मे बजारमा आगलागी हुँदा ४४ घर नष्ट हुनुका साथै करोडौंको धनमाल नष्ट भयो । २०६० सालमा पनि यस्तै प्रकारको दुर्घटना हुन पुगेको थियो । ताप्लेजुङमा एकपछि अर्को आगलागी किन भइरहेको छ, के कारणले आगलागी हुनेबित्तिकै नियन्त्रणमा आउन सकिरहेको छैन भन्ने प्रश्नहरू जन्मिन थालेका छन् । मङ्गलबार दोभान बजार सखाप हुने गरी भएको आगलागीले पनि त्यस्तै प्रश्नलाई थप बल पु¥याएको छ । यो ताप्लेजुङको दोस्रो ठूलो बजार हो । जहाँ आगलागी हुँदा ४७ घरका ५५ परिवार विस्थापित भए, आजसम्म पनि क्षतिको अनुमान आँकलन गर्न सकिएको छैन । भलै मानवीय क्षति भएन, तर भौतिक क्षतिले पनि मावनीय क्षति बराबर नै भूमिका खेल्दछ किनकि भौतिक क्षति भएपछि त्यस घरका धनीहरूमा मानसिक प्रभाव पर्छ । जसले कालान्तरमा ठूलो क्षति पु¥याउन सक्छ । यसको अनुमान आजकै दिन गर्न सकिएन भने हामीले ठूलो मूल्य चुकाउनु पर्नेछ । त्यसैले भौतिक क्षति मानवीय क्षतिभन्दा कयौं गुणा प्रभाव राख्दछ ।
ताप्लेजुङमै किन यति ठूला आगलागी भइरहेका छन् । यहाँ बर्सेनिजसो हुने आगलागीको विश्लेषण गरेर त्यहाँको विपद् व्यवस्थापन समितिले के भूमिका खेलिरहेको छ । तथ्याङ्कलाई नै हेर्ने हो भने २०६० चैत १५ गते वीरेन्द्र चोकमा आगलागी हुँदा ४५ घर जल्दा ५१ करोड बराबरको क्षति भएको प्रहरीको तथ्याङ्क छ । त्यस्तै २०६८ मा शेर्पाटोल र २०६९ सालमा टुक्रे बजारमा आगलागी भएको थियो । शेर्पाटोलमा ८ करोड ५० लाख र टुक्रेमा ५ करोडबराबरको क्षति भएको थियो । २०७३ चैत ९ गते तोक्मे बजारको आगलागीमा ४४ घर जल्दा ४१ करोड बराबरको क्षति भएको थियो । यी आगलागीको कारण हेर्ने हो भने सामान्य छन् । जहाँ बढीभन्दा बढी मानवीय लापरबाहीका कारणले आगलागी भएका छन् । मानवीय लापरबाहीले हुने आगलागीलाई नियन्त्रण गर्न सकिन्छ भन्ने ज्ञान दिलाउनका लागि विपद् व्यवस्थापन समिति तथा जिल्लामा रहेका रेडक्रस सोसाइटी, र त्यसअन्तर्गतका निकायहरूले हालसम्म के भूमिका खेलिरहेका छन्, त्यो हामीकहाँ आइपुगेको देखिँदैन । यदि समिति र त्यसमातहतका निकायहरू सक्रिय हुने हो भने आजको अवस्था पक्कै आउने थिएन । समितिमा बस्नका लागि हामीले भूमिका खोज्यौं, तर हाम्रो भूमिका समाजका लागि भएनन् ।
आगलागी नियन्त्रणमा थुप्रै उपायहरू छन् । थुप्रै प्रविधिहरू विकसित भएका छन् । धेरैले दमकल अभावका कारणले आगलागी नियन्त्रणमा आउन नसकेको टिप्पणी गर्ने गरेका छन् । दमकल आगलागीपछि प्रयोग गरिने सामग्री मात्रै हो, आगलागी अर्थात् मानवीय गतिविधिबाट हुने विपद्लाई नियन्त्रण गर्नका लागि पूर्व तयारी नै सबैभन्दा उत्तम विकल्प हो । हो, दमकल समयमा पुगेन भने सोचेभन्दा बढी क्षति होला, तर दमकल नै सबैथोक हो भन्ने मानसिकतालाई त्यागेर विपद् निम्तिन नदिनका लागि पूर्वतयारी गर्नुचाहिँ बुद्धिमानी हो । त्यसका लागि सहरी योजना अर्थात् घरहरू निर्माण गर्दा कस्तो र कुन अवस्थामा निर्माण गर्ने, कति दूरीमा घर निर्माण गर्ने र फायरलाइन निर्माणमा योजनाबद्ध रूपमा लाग्ने हो भने भविष्यमा आउनसक्ने क्षतिबाट जोगिन सक्छौं । हाम्रा पाइलाहरू त्यसतर्फ अगाडि बढ्नुपर्छ । सबैभन्दा बढी दायित्व जिल्लास्थित विपद् व्यवस्थापन समिति, जिल्ला रेडक्रस सोसाइटी, प्रमुख जिल्ला अधिकारी, हालको स्थानीय तहका प्रमुख तथा त्यसमातहतका वडा कार्यालयका वडाध्यक्षहरू जिम्मेवार व्यक्ति हुन् । नागरिकलाई सचेत गराउने र भोलि हुनसक्ने दुर्घटनालाई नियन्त्रण गर्ने दायित्व पनि तपाईंहरूको काँधमा छ र नागरिकले पनि आफ्नो दायित्व के हो भन्ने ख्याल राख्नु पर्छ । नागरिक पनि आफै सचेत नहुने हो भने यस्ता गभ्भीर खालका दुर्घटनाहरू निम्तिरहन्छन् । त्यसका लागि प्रशासन मात्रै होइन, नागरिकको पनि उत्तिकै भूमिका र दायित्व छ भन्ने कुरालाई भुल्नु हुँदैन ।