कुनै पनि आयोजना तथा काममा ‘विवाद र बखेडा’ झिक्ने नेपालीको संस्कार नै बसिसकेको छ । आयोजनाको काम सुरु नभई हुने यस्ता बखेडा र विवादले कतिपय आयोजनाहरू त्यसै ‘फ्रिज’ बनेर गएका छन् । जसले गर्दा कालान्तरमा त्यसको प्रभाव त्यहींका जनताले भोग्नु परिरहेको छ ।
यसैको एउटा दृष्टान्त बनेको छ झापाको कमल गाउँपालिका–५ स्थित सशस्त्र प्रहरीले भोगचलन गरेको जग्गा । जहाँ अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला निर्माण गर्ने भनेर शिलान्यास समेत भएको थियो । १२ वर्षअघि तत्कालीन रक्षामन्त्री हालकी राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गरेकी थिइन् । उक्त समयमा शिलान्यास गर्दा ‘पाथीभरा रङ्गशाला’ भनी नाम दिइएको थियो ।
त्यही नामकै कारण त्यहाँका स्थानीयले विवाद झिके । रङ्गशाला बन्ने क्षेत्रमा आदिवासी जनजाति समुदायको समाधि स्थल थियो । समाधि स्थल भत्किनुपर्ने हो भने ‘आदिवासी रङ्गशाला’ नाम कायम हुनुपर्ने अडानले अन्ततः त्यो रङ्गशाला अन्यत्रै बन्ने निश्चित भएको छ ।
यो विवाद जायज थियो, थिएन त्यसको विश्लेषण छुट्टै होला । तर, जहाँ रङ्गशाला बन्न लागेको थियो, त्यसको उपभोग सबैभन्दा बढी त्यहींका आदिवासी जनजाति समुदाय वा गैर आदिवासी समुदायले लिने थिए अर्थात् स्थानीयवासीले नै त्यसको सबैभन्दा बढी उपभोग गर्न पाउँथे ।
त्यति मात्रै हैन, अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला निर्माण हुँदा दैनिक रोजगारको ग्यारेन्टी पनि हुन्थ्यो । निम्नस्तरका नागरिकले रोजगार पाउँथे । रङ्गशाला हुँदा त्यहाँ आर्थिक गतिविधि सल्बलाउँथे । जसको प्रत्यक्ष फाइदा पनि त्यहींकावासीले लिने थिए ।
खेलकुद गतिविधि बढ्दा सामाजिक, आर्थिक रूपमा पनि फाइदा पुग्ने थियो । तर, त्यही मर्मलाई बुझ्न नसक्दा आज अन्यत्र सर्ने अवस्था सिर्जना भएको छ । त्यसको घाटा पनि स्वयम् त्यहाँकै वासिन्दालाई भएको छ ।
क्षणिक फाइदा र दीर्घकालीन घाटाको विषयमा विश्लेषण र मनन् नगर्दाको परिणाम हामीले भोग्ने गरेका छौं । यस्ता समस्या झापाको कमल गाउँपालिकामा मात्रै छैनन्, नेपालको अधिकांश भूभागका साझा समस्या हुन् ।
विवाद र बखेडाका कारणले गर्दा एक त समयमा आयोजना पूरा हुँदैनन् अर्कोतिर बन्दै नबन्दा त्यो आयोजना अन्तैतिर सरेर जान्छ भन्ने कुरालाई भुल्नु हुँदैन भन्ने सन्देश पनि रङ्गशाला विवादले दिएको छ ।
आदिवासी जनजातिको सांस्कृतिक महŒव तथा ऐतिहासिकतालाई मेटाउने किसिमले काम भयो भने पक्कै पनि त्यसलाई मनन् गर्नुपर्छ । या त कुनै जाति वा समुदायमाथि नै आघात पुग्ने गरी काम हुन लागेको छ भने त्यसको खुलेर विरोध गर्नुपर्छ ।
पुरातात्विक महŒवका विषयवस्तु छन् भने त्यसलाई जोगाउनु वा संरक्षण गर्नु हाम्रो नैतिक जिम्मेवारी र कर्तव्य पनि हो । तर यस्ता महŒव नरहेको अवस्थामा विकासको बाधक समुदाय, व्यक्ति कोही पनि बन्नु हुँदैन । समाज समृद्ध बनाउनका लागि सोचलाई पनि समृद्ध बनाउन जरुरी छ ।
हाम्रो सोचमा परिवर्तन गर्न सकेमा मात्रै त्यसले ऐतिहासिक महŒव राख्छ । इतिहासमा सुनौलो अक्षरमा नाम लेखिन्छ । त्यसका लागि नागरिकले आफ्नो सोचलाई सिर्जनात्मक र सकरात्मक ढङ्गले हेरिनुपर्छ र त्यसैअनुरूप आफ्ना पाइलाहरू अगाडि बढाउनुपर्छ ।
विरोधका लागि विरोध वा निषेध आफैमा घातक हुन्छ । त्यसले कालान्तरमा ठूलो प्रभाव पार्दछ । यसतर्फ हामी सचेत भएनौं भने कमल गाउँपालिकामा बन्ने रङ्गशालाकै हबिगत हुन्छ ।
नाम पाथीभरा होस् या आदिवासी त्यसले महŒव राख्दैन, महŒव चाहिँ रङ्गशाला निर्माण भयो कि भएन त्यसले महŒव राख्छ । यसतर्फ सचेत भएर हामी लाग्यौं भने भोलिका आउँदा पिँढीलाई हामीले सही सन्देश प्रवाह गर्न सक्छौं ।