धरानको जलाधार क्षेत्रमा मनोरञ्जन पार्क बनाउनु र त्यहाँ घुमफिर गर्नेहरूका लागि शौचालय बनाउनु भनेको जलाधार क्षेत्रको महत्वबारे नगर प्रमुख अनभिज्ञ हुनु हो । फुस्रेको सर्दु खोलाकिनारमा बन्दै गरेको बीपी पार्क र त्यसैमा निर्माण कार्य सुरु भएको (हाल विवादित) शौचालय यसैको उदाहरण हो । धरानले तीन दशकदेखि नै खानेपानीको अभाव झेल्दै आएको छ । सुर्द–खर्दु जलाधारको पानी सङ्कलन गरेर जेनतेन नेपाल खानेपानी संस्थान र धरान खानेपानी व्यवस्थापन बोर्डले वितरण गर्दै आएको छ । सर्दु–खर्दु जलाधारको मुहानभन्दा तल पर्ने फुस्रे नजिकैको सर्दु खोलाकिनारमा बीपी पार्क बनाएपछि त्यहाँ घुमफिर गर्नेहरूको सङ्ख्या बढेसँगै धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले शौचालय बनाउने निर्णय गर्नु खानेपानी उपभोक्तामाथि अपराध हो । फुस्रेको बीपी पार्कभन्दा धेरै तल बस्ने बासिन्दाहरूले पनि त्यहीँको पानी खाने गरेका छन् भन्ने किन बिर्सेको हो प्रमुख राईले ? पहिलो कुरा त खानेपानीको जलाधार क्षेत्रमा मानवीय गतिविधि शून्य हुनुपर्छ । भौतिक निर्माण हुँनु हुँदैन । सिमाङ्कन गरेको क्षेत्रमा प्रवेश नै निषेध हुन्छ । जलाधारसम्बन्धी यो विश्वव्यापी नीतिगत सिद्धान्त हो । मान्यता हो । यी मूल्य र मान्यतालाई बिर्सेर प्रमुख राईकै प्रयासमा फुस्रेमा पार्क बन्नु, शौचालय बन्नु भनेको खानेपानी उपभोक्तामाथि खेलवाड गर्नु हो । बीपी पार्कको त्यस्तो ठाउँमा सार्वजनिक शौचालय बनाइँदै छ, जसको करिब १० मिटर तलबाट खानेपानी संस्थानले पानी ल्याएको छ । त्यहँबाट ल्याइएको पानी सोझै खानेपानी संस्थानको ट्याङ्कीमा जम्मा हुने गरेको छ । पानीको स्रोतकै माथि सार्वजनिक शौचालय बनाउँदा मानव मलमुत्र, फोहोर धरानवासीले दैनिक प्रयोग गर्ने खानेपानीमा मिसिन्छ भनेर बुझ्न नसक्नु प्रमुख राईको बौद्धिक कमजोरी हो ।
फुस्रेको कथित बीपी पार्कभन्दा करिब डेढ किलोमिटर तलका हजार बढी उपभोक्ताहरूले अहिले पनि फुस्रेबाट बगेको पानी नै खानेपानीको रूपमा प्रयोग गर्दै आएका छन् । बीपी पार्कसँगै ओसो पार्क पनि छ । ओसो पार्कले पनि शौचालय बनाएको छ । खासगरी त्यहाँ पार्क बनाइरहनु जरुरी नै थिएन । जलाधार क्षेत्र प्राकृतिक रूपले रमणीय सुन्दर छ भन्दैमा घुमफिर गर्नका लागि पार्क बनाउनुले धरानका राजनीतिक दलका नेता, जनप्रतिनिधि, प्रमुख–उपप्रमुखलगायतको लघु मानसिकता छर्लङ्गिन्छ । जलाधार क्षेत्रमा प्रवेश गर्नेलाई दण्ड सजायको व्यवस्था गर्नुपर्नेमा उल्टै पार्क बनाउने ? खानेपानी उपभोक्तालाई ध्यानमा नराखी पार्क घुम्न आउनेका लागि शौचालय नै बनाइदिने ? यो कहाँको चलन हो ?
एकपछि अर्को गर्दै विवादमा मुछिएका मेयर राईले जलाधारको पुछारलाई पार्क त बनाए बनाए खानेपानी नै प्रदूषित हुने गरी सार्वजनिक शौचालय बनाउनु कुनै पनि दृष्टिकोणबाट उचित ठहरिन्न । स्थानीय जनताले त्यहाँ बन्न लागेको सार्वजनिक शौचालय नबनाउन भनेर गरेको विरोध जायज छ । भेडेटार र पहाडी क्षेत्रमा जाने गाडीका यात्रुहरूले जथाभावी दिसापिसाब गर्दा धरानको खानेपानीको मुहानमा समेत मिसिने गरेपछि सार्वजनिक शौचालयको माग गरिएको थियो । त्यसमध्ये एउटा पब्लिक हाईस्कुलको मैदानमा र अर्को कोशी राजमार्गस्थित धरान–१३ को शिवधारा क्षेत्रमा बनाउने योजना थियो । धरानको उपनिर्वाचनअघि तत्कालीन कार्यवाहक प्रमुख मञ्जु भण्डारीले खानेपानी मन्त्रालयअन्तर्गतको खानेपानी तथा सरसफाइ विकास कोषमा धरानमा तीनवटा सार्वजनिक शौचालयको माग गर्दै पत्राचार गरेको आधारमा आएको शौचालय बनाउने बजेटलाई मेयर राईले शिवधारामा बनाइने भनिएको शौचालय फुस्रेको सर्दु खोलाकिनार पारिको बीपी पार्कमा बनाउने निर्णय गर्नु जलाधारको महत्वमाथि नजरअन्दाज गर्नु सरह हो । बीपी पार्कमा शौचालय बनाउनका लागि प्रमुख राईको आदेशमा डोजर नै चलाइएको छ । मानवीय गतिविधि निषेधित जलाधार क्षेत्रमा डोजर चलाउनु त झन मनाही छ । ठेकेदार कम्पनी जसले धरानका दुईसहित ६ वटा शौचालय निर्माण गर्न १ करोड २२ लाख रुपैयाँ लागतमा तेजनारायण साहले ठेक्का पाएका छन् । कोष, उपमहानगरपालिका र ठेकेदार पक्षको सम्झौताअनुसार शौचालय निर्माण थालिएको छ । जलाधार क्षेत्रमा सार्वजनिक शौचालय बनाउनु हुँदैन भनेर चौतर्फी विरोध भइरहे पनि कमिसनको चक्करमा फस्दा प्रमुख राईले अरूको सल्लाह, स्थानीय बासिन्दाको विरोधलाई नजरअन्दाज गरेको देखिन्छ ।