तीन वर्षअघि धरान उपमहानगरपालिकामा तत्काल नगर प्रमुख तारा सुब्बाले एमाले निकटका कार्यकर्तालाई बिना प्रतिस्पर्धा कर्मचारी नियुक्त गरी गलत अभ्यासको बिजारोपण गरेका थिए । जनप्रतिनिधि निर्वाचनपछिको पहिलो गलत अभ्यास थियो त्यो । त्यसबेला एमालेबाट नगर प्रमुख बनेका हिसाबले सुब्बाको व्यापक आलोचना भएको थियो । नेताका श्रीमतीसम्मलाई जागिर दिएको भन्दै एमाले इतरमा खोइरो खनियो । त्यसबेला खोइरो खन्नेमध्येका नेपाली काङ्ग्रेसका नगर सभापतिसमेत रहेको तिलक राई पनि एक थिए । उनले सार्वजनिक कार्यक्रममै नगर प्रमुखको कार्यलाई गलत अभ्यास भन्दै आलोचना गरेका थिए । सुब्बा हाल दिवङ्गत भइसकेका छन् । सोही पदमा तिलक राई निर्वाचित भएर आएका छन् । निर्वाचित भएर आएपछि धराने जनताले उनीबाट थुप्रै खालका अपेक्षा गरेका थिए । तर, उनले पनि सुब्बाले झैं गलत अभ्यासलाई निरन्तरता दिएका छन् । उनले पनि आफ्ना पार्टीका १६ जनालाई सुटुक्क कर्मचारीमा नियुक्त गरेका छन् । विगतमा भएको गल्ती कमजोरीमा औंला ठड्याउने युवा नेता राईले हिजो उठाएको कुरालाई चटक्कै भुले, मानौं उनले त्यो बेला केही बोलेकै थिएनन् ।
राजनीतिले नै देशको प्रणालीलाई सुधार गर्छ । राजनीतिले नै देशलाई सत्मार्गमा डो¥याउँछ । देशलाई अधोगति र अग्रगतिमा लाने कार्य पनि राजनीतिको नै हो । देशमा राजनीति असल भयो भने मात्रै देश विकास र अग्रगमनतर्फ अगाडि बढ्छ । त्यसका लागि राजनीतिज्ञको सोच र भिजनचाहिँ दीर्घकालीन र गुरुयोजनालक्षित हुनुपर्छ । असल र सज्जन राजनीतिज्ञ भयो भने देश विकास हुन केही वर्ष लाग्दैन । आज हाम्रा नेताहरू सिङ्गापुरजस्ता देशको उदाहरण दिन्छन् । जुन देशलाई एकजना राजनीतिज्ञले माथि पु¥याउन अहम् भूमिका खेलेका थिए । लि क्वान यी राजनीतिज्ञलाई अहिले पनि मानिसले स्मरण गर्छन् । हाम्रा नेता तथा राजनीतिज्ञले पनि पटक–पटक स्मरण गर्ने गरेका छन् । तर, स्मरणमै सीमित पार्ने नेपाली राजनीतिज्ञको बानीले गर्दा हाम्रो देश सिङ्गापुर जस्तो नभई इथियोपिया जस्तो मार्गमा अगाडि बढेको छ । राजनीतिज्ञ स्थानीय तहका हुन् या केन्द्रीय तहका । उनीहरूको सकरात्मक सोच भएन र काम गर्ने शैली परिवर्तन गर्न सकेन भने भोलिका दिनमा ऊ राजनीतिज्ञ रहिरहन सक्दैन । त्यस्ता नेता तथा राजनीतिज्ञलाई जनताले पाठ सिकाउनेछन् । २ सय ४० वर्षे शाह इतिहासलाई जनताले कसरी धुलिसात गरे त्यसलाई आजका राजनेताले भुल्नु हुँदैन ।
अझ धरानका युवानेता तिलक राई भोलिको भविष्यलाई झनै नजरअन्दाज गर्न मिल्दैन । उनले जतिबेला कुरीति, विकृतिको विरुद्धमा उभिएर भाषण गरेका थिए, त्यसलाई आज कार्यान्वयन गर्ने तहमा पुगेका छन् । तर, उनले त्यसलाई कार्यान्वयन गर्नुको सट्टा आफू पनि पुरानै सोच र अभ्यासमा लाग्ने हो भने सीमित समयका लागि फाइदा त होला तर, दीर्घकालीन रूपमा उनलाई नै असर गर्नेछ । कुनै बेला भानुचौकको स्टेजबाट तलब सुविधासम्म नलिने उद्घोष गरेका युवा नेता तिलक राईले आज गरेको अभ्यासले आफूतिरै कुरी कुरी गरेको छ । यदि उनले आफूलाई सच्याउने हो भने हिजो गलत तरिकाबाट गरिएका कर्मचारी नियुक्तिलाई पनि बदर गरेर अगाडि बढ्न सक्नुपर्छ । तारा सुब्बाले गरेका नियुक्तिलाई पनि खोजबिन गरेर हटाउन सक्ने हिम्मत राख्नुपर्छ । अरूले जे ग¥यो त्यही अभ्यास गर्ने हो भने युवा नेता हुनुको औचित्य समाप्त हुन्छ । भाषणबाजी गरेर आफूलाई महान् बनाउनुको अर्थ रहन्न ।