पाँचथर । मोडल तथा फेसन डिजाइनर रूपा आङ्बुहाङ लिम्बूको प्रिय पोसाक हो, मेख्ली । कुनै औपचारिक कार्यक्रममा भेटिइन् भने उनी प्रायः मेख्लीमै सजिएकी हुन्छिन् । मेख्ली लिम्बू जातिका युवतीहरूले लगाउने प्रमुख पहिरन हो । हालः काठमाडौंमा बस्दै आएकी ताप्लेजुङकी चेलीको पहिलो रोजाइमा मेख्ली पर्नुको कारणबारे उनी प्रष्ट्याउँछिन्, ‘आफ्नो जातीय पहिरन त हुँदै हो, त्योसँगै लगाउँदा सहज महसुस हुने र सुन्दर बनावटका कारण मेख्ली लगाउँछु ।’
युवापुस्ताका युवतीहरूमाझ आधुनिक किसिमका पोसाकहरू बजारमा पर्याप्त छन् र ती पोसाक उनीहरूको रोजाइमा पर्नु स्वभाविक पनि हो । तर, लिम्बू जातिका युवतीहरूमा भने परम्परागत पहिरन मेख्ली पनि उत्तिकै लोकप्रिय छ ।
पाँचथरकी सम्झना योङ्हाङ लिम्बूलाई पनि मेख्ली औधी मन पर्छ । सञ्चारकर्मसँग समेत जोडिएकी उनी सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड फिदिम शाखाकी प्रमुख हुन् । औपचारिक कार्यक्रमहरूमा उनले सबैभन्दा बढी प्रयोग गर्ने पोसाक मेख्ली नै हो ।
राजधानीसहित पूर्वका मुख्य बजार र गाउँघरमा समेत परम्परागत पहिरन मेख्ली लगाएर हिँड्ने लिम्बूनी युवती प्रशस्तै भेटिन्छन् । विशेषगरी आदिवासी जनजातिसँग सम्बन्धित मेला, पर्व, उत्सव र कार्यक्रमहरू भइरहने पूर्वमा लिम्बूनी युवतीहरू सामूहिक रूपमै मेख्लीमा सजिएर सहभागी हुने गर्छन् ।
हाल झापाको बिर्तामोडमा बस्दै आएकी सुमी थेबे लिम्बू, कुनै औपचारिक जमघटहरूमा निस्कनुपर्यो भने अक्सर मेख्लीमै सजिएकी हुन्छिन् ।
सामान्य युवतीदेखि विभिन्न पेशा–व्यवसाय, राजनीति, कला, साहित्य, सरकारी तथा गैरसरकारी क्षेत्रमा कार्यरत लिम्बूनी युवतीहरूमाझ मेख्ली मोह बढ्दै गएको बताउँछिन्, किरात याक्थुङ चुम्लुङकी केन्द्रीय महासचिव निरन्ती तुम्बापो ।
‘आफ्नो जातीय पहिरन र गरगहनाको प्रयोगबारे आफ्नो समुदायका महिलाहरूलाई धेरै भन्नुपरेको थियो’ उनी थप्छिन्, ‘अहिले उनीहरू स्वतःस्फूर्त रूपमा यसको प्रयोग गरिरहेका छन्, यो खुसीको कुरा हो ।’
आकर्षक डिजाइन, कम्फोर्टेवल र सुन्दरतामा समेत निखार आउने भएकाले मेख्लीको लोकप्रियता बढेको दाबी गर्छिन्, काठमाडौंको गोकर्णस्थित द हाईल्याण्ड आर्ट, कल्पना ढाका तथा बुटिक उद्योगकी सञ्चालिका कल्पना योङ्हाङ लिम्बू । उनैले विज्ञहरूको सल्लाह लिएर २०६५ सालमा पहिलोपल्ट मेख्लीको परम्परागत बनावटमा थोरै परिमार्जन गरी नयाँ डिजाइन दिएकी हुन् ।
त्यसयता देश–विदेशमा मेख्ली लोकप्रिय बन्दै गएको हो ।
मेख्ली लिम्बू समुदायका महिलाहरूले बढी प्रयोग गरे पनि पछिल्लो समय अन्य समुदायका महिलाहरूले पनि खरिद गर्न थालेको मेख्लीको उत्पादन तथा बिक्रीवितरण गर्दै आएको झापाको दमकस्थित कुसङ मुन्धुमिक प्रोडक्टका सञ्चालक जितेन पन्धाक बताउँछन् । पछिल्लो समय मेख्लीप्रति मोह बढ्दा यसको उत्पादन र बिक्रीदर पनि बढेको उनको भनाइ छ ।
जसले गर्दा मेख्ली आर्थिक उपार्जनको राम्रो माध्यम बन्दै गएको छ ।
मेख्ली उत्पत्तिको कथा
मेख्लीको उत्पत्ति कहिले र कसरी भयो ? यसको ठ्याक्कै उत्तर कसैसँग छैन । यद्यपि मेख्लीको उत्पत्तिको सन्दर्भ लिम्बू जातिले आराध्यदेवीको रूपमा पुज्ने युमा?सँग जोडिन्छ । मुन्धुमअनुसार प्राचीनकालमा युमा? मानवस्त्रीको रूप धारण गरेर विभिन्न स्थानहरूमा प्रकट हुन्थिन् ।
सो क्रममा उनले विभिन्न किसिमका भेषभूषा र गरगहनाको प्रयोग गर्थिन् । विभिन्न स्थानहरूमा प्रकट भएर उनले (थाक्थाक्मा) तान बुन्थिन् ।
उनै युमाले तानमा बुनेर प्रयोग गरेको एउटा पोसाक मेख्ली भएको लिम्बू जातिका विज्ञहरू बताउँछन् । जसलाई मानव सभ्यताको विकासक्रमसँगै मानिसहरूले सिको गरेको र आधुनिकीकरण गर्दै ल्याएको उनीहरूको भनाइ छ ।
कसरी बन्छ मेख्ली ?
मेख्ली हातले बुनिने तानमार्फत् बुनेको ढाका कपडाबाट बन्छ । ढाका बुन्ने परम्परागत हाते उपकरणलाई थाक् (तान) भनिन्छ । जुन उपकरण काठबाट तयार हुन्छ । ढाकाविद् कल्पनाका अनुसार ५० वटाभन्दा बढी सामग्रीहरूको जडानबाट तान बन्छ ।
तानमा धागोको प्रयोग गरेर ढाकाको कपडा तयार गरिन्छ । त्यही कपडाबाट मेख्ली सिलाइन्छ । पहिले पूर्वका लिम्बू बस्तीमा आफैले कपास खेती गरेर धागो बनाइन्थ्यो । अहिले विभिन्न रङका धागोको प्रयोग गरेर बुट्टेदार र आकर्षक ढाका कपडा बनाउने प्रचलन छ । त्यसलाई अझै आकर्षक बनाउन बुटिक पनि प्रयोग गरिन्छ । अन्य कपडाबाट पनि मेख्ली बनाइन्छ ।
तर, ढाकाको कपडाबाट बनेको मेख्ली धेरै रुचाइने बताइन्छ ।
कति छ मेख्लीको मूल्य ?
मेख्लीको मूल्य त्यसको बनावट र कपडाको गुणस्तरअनुसार निर्धारण गरिन्छ । काठमाडौं नयाँ बसपार्कस्थित विजी मलमा सिक्वेन्स फेसन हाउस सञ्चालन गर्दै आएकी रूपाका अनुसार ढाकाबाहेकका अन्य कपडाबाट बनेको मेख्ली पाँचदेखि सात हजार रुपैयाँसम्म पर्छ ।
हातले बुनेको ढाकाबाट बनेको मेख्ली भने साइजअनुसार ६ देखि १३ हजार रुपैयाँसम्म पर्छ । ढाकाकै कपडामा बुटिक प्रयोग गरिएका मेख्ली भने १० देखि २० हजार रुपैयाँसम्म पर्छ ।
मेख्लीसँगै अन्य गरगहनाले झनै चिटिक्क
खासगरी युवापुस्तामाझ मेख्ली लोकप्रिय छ । उनीहरूले नै सबैभन्दा बढी मेख्ली लगाउने गर्छन् । लिम्बू समुदायका युवतीहरू मेख्लीसँगै शिरमा शिरफूल, निधारमा शिरबन्दी, कानमा नेसे?, नाकमा ढुङ्ग्री–बुलाकी, गलामा कण्ठा र चन्द्रहार, दायाँ छातीमा सिलामसाक्मा अनि हातमा हुक्पाङ्गी (हातमा लगाउने चाँदीको धातुबाट निर्मित एक प्रकारको चुरा) अनि पाउमा लाङ्बाङ्गी (खुट्टामा लगाउने चाँदीबाटै बन्ने पाउजु प्रकृतिको गहना) पनि लगाउने गर्छन् । तर, यी गरगहना बिना पनि मेख्ली लगाइन्छ ।
विश्वले देख्यो मेख्ली
विशेषगरी पूर्वी नेपालका विभिन्न भू–भागहरूमा लामो समयदेखि बसोबास गर्दै आएका लिम्बू जातिका महिलाहरूले लगाउने परम्परागत सांस्कृतिक पहिरन हो, मेख्ली । तर, अब मेख्ली पूर्वी नेपाल र लिम्बू समुदायमाझ मात्र सीमित छैन ।
फरक बनावट र प्रकृतिको मेख्ली विश्वको नजरमा समेत पर्यो । मिस नेपाल २०१४ सुविन लिम्बूले मिस वल्र्डमा मेख्लीमा सजिएर सहभागी बनेपछि मेख्ली विश्वको नजरमा परेको हो । सन् २०१४ मा बेलायतको राजधानी लण्डनमा सम्पन्न मिस वल्र्डमा नेपालबाट सहभागी बनेकी सुविनले मेख्ली लगाएकी थिइन् । जसको डिजाइन द हाईल्याण्ड आर्टमा गरिएको थियो ।