२०७६ जेठ ६ गते पाँचथर मिक्लाजुङमा आङ नै सिरिङ हुने गरीको जघन्य अपराध भयो । श्रीमतीसहित परिवारका नौ जनाको हत्या गरियो । आफन्तबाटै भएको यो जघन्य अपराधले अपराधमा सोच्ने शैलीमा नै परिवर्तन गरिदियो । आफन्तबाटै हत्याको शृङ्खला लामो छ । पछिल्लो समय आफन्तबाटै हुने अपराध झनै बढेको छ । विगतभन्दा आज अपराधका शैलीहरू परिवर्तन भएका छन् । विभिन्न कारणले गर्दा जघन्य अपराध हुने गरेको अपराधशास्त्रमा उल्लेख छ । अपराधशास्त्रले अपराध हुनुका कारणहरू पारिवारिक, विद्यालय, जातिवाद, सञ्चार माध्यमलाई औंल्याएको छ । अपराध समाजभित्रै हुन्छ । त्यही समाजले नै अपराधलाई मलजल गरिरहेको छ । बैतडीकी भागरथी भट्टको हत्याको पछाडि पनि आफन्त नै भएको पत्ता लागेको छ । आरोपी पक्राउ परिसकेपछि नै घटनाको पृष्ठभूमि बाहिर आएको छ ।
प्रदेश प्रहरीका अनुसार चालु आर्थिक वर्षको कात्तिकसम्म ४६ वटा हत्याको घटना भएका छन् । त्यसमध्ये अधिकांश अपराधका घटनामा कहीँ न कहीँ आफ्ना नजिकका मानिसहरू संलग्न रहेका छन् । आर्थिक वर्ष २०७६÷०७७ मा ९७ वटा कर्तव्य ज्यानका मुद्दा दर्ता भएका छन् । जसमा एकसय ५१ जना पुरुष र १३ जना महिला पक्राउ परेका छन् भने १५ जना फरार छन् । यी दुई वर्षको आँकडालाई हेर्ने हो भने नै जघन्य अपराधको पृष्ठभूमि थाहा पाउन कठिनाइ पर्दैन । अपराध बर्सेनि बढे पनि अपराध किन, के कारणले भइरहेको छ भन्ने विषयमा गम्भीर खोज तथा अनुसन्धान भएको पाइँदैन । अझ आफन्तबाट हुने अपराध के कारणले भइरहेको छ भन्ने तथ्यप्रति गम्भीर भएर अनुसन्धान गरिएको छैन । नेपालमा अपराधीलाई पक्राउ गर्नका लागि नेपाल प्रहरीले काम गर्छ । तर, उसले पनि अपराधी पक्राउ गर्ने र सम्बन्धित निकायमा कारबाहीका लागि रायसहितको प्रतिवेदन दिने काम मात्रै गर्छ । अपराध हुनुको पछाडिको कारण खोतल्ने र त्यस विषयमा अनुसन्धान गर्नेतर्फ हालसम्म भएको पाइँदैन र प्रहरीलाई अपराध किन बढिरहेको छ वा अपराधको प्रकृति किन फेरिइरहेको छ भन्ने विषयमा अनुसन्धान गर्ने र त्यसको कारणको खोजी गर्ने फुर्सद पनि नहोला । यो कार्य अन्य निकायहरूले नै गर्नुपर्छ । अपराधका विज्ञ तथा त्यस्ता निकायहरूले यसको कारणको खोजी गरेर निचोड निकाल्ने हो भने अपराधबारे जानकारी पाउन सकिन्छ ।
प्रहरीमा पनि अनुसन्धानको क्षेत्रमा छुट्टै निकाय पनि छ । अनुसन्धान अधिकारीहरूले अपराधीलाई सजाय दिनेतर्फ बढी लक्षित भएर अनुसन्धान गरिएको हुन्छ । किनकि समाजमा अपराध न्यूनीकरण गर्नु प्रहरीको मुख्य काम हो । तर, पनि अपराधको प्रवृत्तिको खोजबिन गर्नसके समाजका लागि हितकर होला । समाज जति सभ्य र सुसज्जित बन्दै जान्छ, त्यति नै अपराधको शैली पनि फेरिँदै गएको छ । सहरीकरण, जनसङ्ख्याको वृद्धि र वातावरण आदि विभिन्न कारणले गर्दा अपराध हुने गरेको औंल्याइन्छ । दण्डसजाय अपराधीका लागि एउटा निश्चित मानक होला । तर, अपराध र आपराधिक कार्य पूर्णतः निस्तेज हुन सकेको छैन । त्यसैले अपराधलाई निमिट्यान्न पार्नका लागि हाम्रो सामाजिक संरचना, वातावरणहरूलाई पनि सुधार गर्दै जानुपर्छ । यसतर्फ हाम्रो ध्यान केन्द्रित हुने हो भने पक्कै पनि समाजमा अपराध घट्ने थियो कि ?