सामुदायिक शिक्षाको स्तरलाई सुधार गर्नका लागि सङ्घीय सरकारले ‘बुक कर्नर’ (किताबी कुनो) कार्यक्रम ल्याएको छ । मोरङ कानेपोखरी गाउँपालिकामा मात्रै २३ वटा सामुदायिक विद्यालयमा बुक कर्नर सञ्चालनमा छ । तर, ती बुक कर्नरहरू नाममै सीमित छन् भनौं ती बुक कर्नर देखाउनका लागि निर्माण गरिएजस्ता लाग्छन् । अझ कतिपय विद्यालयले बुक कर्नरका लागि छुट्टिएको बजेट रकमान्तर गरेका छन् जुन नीतिगत भ्रष्टाचार हो । कानेपोखरीका ८ वटा मावि, ५ वटा आधारभूत र १० वटा आधारभूत (साविकको प्रावि) मा बुक कर्नर सञ्चालनमा छ । तर अधिकांश बुक कर्नरमा किताबको नामोनिसान भेटिँदैन । बुक कर्नरका लागि खरिद भएका किताबहरू पनि शिक्षकको कोठा वा प्रधानाध्यापकको कार्यकक्षको बाकसभित्र सजिएका छन् । लाग्छन्, यी महŒवहीन विषयवस्तु हुन् ।
कानेपोखरीको शिक्षा शाखाका अनुसार बुक कर्नरका लागि आर्थिक वर्ष २०७६÷०७७ मा १२ लाख ८७ हजार ९ सय रुपैयाँ बजेट विनियोजन गरेको थियो । यो बजेट बुक कर्नर निर्माण गर्न र त्यसका लागि चाहिने आवश्यक पुस्तक खरिदका लागि बजेट विनियोजन गरिएको थियो । सबैजसो बुक कर्नर भित्तामा सजिएका छन् तर, किताब छैनन् । अझ शिक्षा शाखाले बुक कर्नर आएपछि शिक्षामा सुधार भएको दाबी गर्न भने छाडेको छैन । तर, वस्तुगत यथार्थ भने बेग्लै छ । शिक्षा शाखाले हालसम्म बुक कर्नर के कस्तो अवस्थामा छ, सञ्चालनको अवस्था कस्तो छ, नियमितता र अनियमितता के भइरहेको छ भन्ने विषयमा आजसम्म अनुगमन तथा निरीक्षण गरेको देखिँदैन । कोठामा बसेर शिक्षामा सुधार भएको दाबी गर्न अलिकति पनि नहिच्किचाउने कर्मचारीको शैली अचम्मलाग्दो छ ।
सङ्घीय सरकारले शिक्षाको अधिकार स्थानीय सरकारलाई प्रत्यायोजन गर्नुका पछाडि स्थानीय तहले उचित तरिकाले अनुगमन र निरीक्षण साथै संरक्षण गर्न सक्छ भन्ने उद्देश्य थियो । तर, थप अनिश्चितताको भुमरीमा फसेको आभास पाउन सकिन्छ । कर्मचारीको काम गर्ने पुरातन शैलीका कारण शिक्षामा सुधार आउन सकेको छैन । हिजो जिल्ला शिक्षा कार्यालय हुँदा र अहिले स्थानीय सरकारमा शिक्षा शाखा हुँदाको फरक केही छैन र विद्यालयहरूले पनि त्यस्तो उल्लेख्य अनुभूति गर्न सकेका छैनन् । जहाँ जहाँ बुक कर्नर सञ्चालनमा छन् ती विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूले नै पनि प्रभावकारी नभएको कुरालाई स्वीकारेको अवस्था छ । यस्तो अवस्थामा शिक्षा शाखाले उल्लेख्य सुधार भएको दाबी कुन आधारमा कसरी गर्न सकेको हो ? ताजुबको विषय छ ।
बुक कर्नरको उद्देश्य हो, विद्यार्थीलाई किताबी ज्ञानसँगै अतिरिक्त ज्ञान प्रदान गर्ने । विद्यार्थीहरूले धेरैभन्दा धेरै ज्ञान लिन सकून् भन्ने उद्देश्य हो । बुक कर्नरमा आफूलाई मन लागेको पुस्तक पढ्ने र त्यसको ज्ञान साथीभाइमा बाँड्ने हो । तर, आज बुक कर्नरमा हुनुपर्ने पुस्तकहरू बाकसमा बन्द हुँदा त्यो उद्देश्य पूर्ति भएको छ त ? यस्ता विषयमा शिक्षा शाखाको भूमिका या दायित्व छ कि छैन ? पुस्तक ज्ञानको भण्डार हो, अजस्र स्रोत हो । यसको प्रयोगले मात्रै ज्ञानको दायरालाई बढाउँछ, फराकिलो बनाउँछ । जे प्रयोजनका लागि बुक कर्नर खोलिएको हो, त्यो प्रयोजन हुन नसक्नु भनेको त्यो बजेट पनि ‘बालुवामा पानी’ सरह हो । आर्थिक वर्ष २०७६÷०७७ मा जुन बजेट विनियोजन भएको छ, त्यो बजेट औचित्यहीन हुन पुगेको छ । त्यसतर्फ शिक्षा शाखा र जनप्रतिनिधि साथै अभिभावक सचेत बनून् ।