प्रेम र राजनीति फरक विषय हो । प्रेम दिमाग र बुद्धि प्रयोग नगरेर मनभित्रको भावनाले गरिन्छ । तर, राजनीति मष्तिस्क अर्थात् दिमागले गरिन्छ । प्रेममा साम, दाम, दण्ड भेद प्रयोग हुन्न । तर, राजनीतिमा यी चारै शस्त्रअस्त्र प्रयोग हुन्छ । चारै शस्त्रअस्त्र प्रयोग गर्न दिमागलाई चलाउनै पर्छ । यसो भन्दैमा प्रेममा राजनीति नै हुँदैन त ? भन्ने प्रश्न उठ्न सक्छ । मानिसमा प्रेम छ र त राजनीतिले शान्तिको बाटो समात्न सफल भएको हो । यसलाई यसरी बुझौं कि ०५२ सालपछिको दश वर्षे हिंसात्मक माओवादी द्वन्द्वकाल राजनीति प्रेरित थियो । त्यसलाई प्रेमले १२ बुँदे सम्झौता गरेर शान्ति र अहिंसाको राजनीतितर्फ डो¥यायो । तर, फेरि राजनीति हावी भएर प्रेम असफल हुन थालेपछि अहिले हिंसात्मक द्वन्द्वको अँध्यारो सुरुङतिर मुलुक लम्किरहेको भान भइरहेको छ । इतिहास भन्छ, रोमका शासक क्लाउडियस द्वितीयको सिद्धान्त विरुद्ध सैनिकहरूले प्रेम र विवाह गर्न पाउनु पर्ने भनेर आफ्नो विचार राख्दा सन्त भ्यालेन्टाइन सहिद बनाइए । यो प्राचीन प्रकरणमा क्लाउडियस निरस र प्रेमहीन राजनीतिक शासक थिए भन्ने बुझ्न सकिन्छ । सन्त भ्यालेन्टाइन प्रेम र अहिंसाका पुजारी थिए भन्ने बुझ्न सकिन्छ । अहिले नेपालको सन्दर्भमा भन्ने हो भने सडकमा आन्दोलित नेता–कार्यकर्ताहरू र सत्ताधारी राजनीतिक नेता, कार्यकर्ताहरूलगायतमा प्रेम कम राजनीतिक विचार र सिद्धान्तको अधिक भार भएरै एकापसमा द्वन्द्व चलिरहेको छ । हुन त राजनीतिक नेता, कार्यकर्ता, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपतिलगायतले सार्वजनिकरूपमा भाषण गर्दा भावनामा बहकिएर प्रेम, सद्भाव, अहिंसाको पक्षपाती भएको भन्दै जनताको मन जित्ने प्रयास गर्दै आएका छन् । 

विचरा जनता नेताहरूको भावुक भाषण सुनेर आफू पनि भावुक बनिदिन्छन् । फेरि मौका पर्नासाथ तिनै भाषणबाज नेता विपक्षी नेतालाई गाली गर्न पछि पर्दैनन् । नेपाली कम्युनिष्ट राजनीतिमा अनौठा घटनाहरू यसरी नै हुँदै आएका छन् । पछिल्लो राजनीतिक घटनाको सामान्य विश्लेषण गर्ने हो भने नेपालमा कम्युनिष्ट नेता कार्यकर्ताहरू कहिल्यै मिलेर पार्टी र सत्ता सञ्चालन गर्न सक्दैनन् भन्ने सन्देश पाउन सकिन्छ । यो सबै हुनुका कारण उनीहरूका मनबाट उत्पन्न हुने प्रेमरसको अभाव नै हो । प्रेमरसको अभावकै कारण एउटै राजनीतिक सिद्धान्त बोकेका नेता कार्यकर्ताहरू एकापसमा हिंसा गर्न लालायित भएका हुन् । एउटै दल, एउटै नीति, एउटै सिद्धान्त र विचार बोकेर आफूले मानेका, महान् भनेका, आदर सत्कार गरेका तिनै नेता कार्यकर्ता विरुद्ध न्वारानदेखिको बल निकालेर सत्तोसराप गर्दै तथानाम गालीगलौज गर्न समय खर्चिरहेका छन् । त्यतिमात्र नभएर जो केही महिना अघिसम्म एउटै कोठामा बसेर कानेखुशी गर्ने नेताहरू सडकमा लतार्ने, घिसार्ने, धुलो चटाउने, जेल पठाउने, धाकधम्की दिन पछि परिरहेका छैनन् । केही समयअघिसम्म मतदाता र जनता जनार्दनलाई साक्षी राखेर धुमधामले जयजयकार गर्दै आएका नेताहरूविरुद्ध दल विभाजनको बहानामा यति घृणित शब्दबाण चलाउनुको अर्थात् यसअघि पनि उनीहरूबीच प्रेमभाव थिएन, वास्तविक आदर सम्मान थिएन, सवै देखावटी, नक्कली प्रेमभावमात्र थियो भन्ने बुझ्न सकिन्छ । नत्र आफूले प्रेम र सम्मान गरेका नेता कार्यकर्ताविरुद्ध यति धेरै वितृष्णा, वैराग र असन्तुष्टि पोखिन्न । 

राजनीति गर्ने नेता कार्यकर्ताहरूले अरूलाई सादा जीवन उच्च विचार सिकाउने गरेका छन् । साथै कानून, नीति, सिद्धान्त, व्यवहार, मर्यादाबारे पनि सिकाउने गरेका छन् । तर, तिनै नेता कार्यकर्ताहरू अहिले अर्को पक्षविरुद्ध कोही सडकमा कुर्लिरहेका छन् । अबको नयाँपुस्ताका राजनीतिक नेता कार्यकर्ताहरूले तिनै कुरा सिक्ने कि अलिकति भए पनि प्रेम र सद्भाव, सम्मानको कुरा पनि सिक्ने ? राजनीतिकर्मीलाई प्रेम गर्न सिकाउनु आज अनिवार्य आवश्यकता भएको छ । राजनीति गर्नेहरूले एक–अर्कामा प्रेम र सम्मान गर्न नजान्दा, नमान्दा र नसक्दा भनौं या कम आँक्दा हिंसातिर मोडिएका छन् । राजनीतिको आवरणमा हिंसा हुनु जनताका लागि स्वीकार्य छैन । तर, प्रेम र सद्भाव सदाका लागि स्वीकार्य छ ।