धेरैको आस्थाको केन्द्रका रूपमा रहेको धरान, विजयपुरस्थित बूढासुब्बा मन्दिरको उचित व्यवस्थापन हुन सकेको छैन । जथाभावी पसल र होटल सञ्चालन तथा अव्यवस्थित पार्किङ गर्नाले मन्दिरक्षेत्र बर्सेनि साँघुरिँदै गएको देख्न सकिन्छ । बेलैमा व्यवस्थापन गर्न नसकिए बूढासुब्बाको अस्तित्व नै सङ्कटमा पर्ने सम्भावना बढेको छ । बूढासुब्बा मन्दिर धार्मिक हिसाबले मात्र होइन, ऐतिहासिक हिसाबले पनि उत्तिकै महŒवपूर्ण छ । नेपालको इतिहासमा पनि बूढासुब्बाको चर्चा गरिएको पाइन्छ । इतिहासकार इमानसिंह चेम्जोङले बूढासुब्बालाई मोरङका अन्तिम लिम्बू राजा बुद्धिकर्ण राय खेवाङकोे समाधिस्थल भनेर उल्लेख गरेका छन् । उनै राजाको स्मृतिमा पूजा गर्ने चलन सुरु भएको पनि उनले उल्लेख गरेका छन् । बुद्धिकर्णको आजभन्दा २ सय ३४ वर्षअघि निधन भएको थियो । इतिहासकार चेम्जोङको लेखनलाई आधार मान्दा दुई शताब्दीभन्दा पुरानो स्थल हो यो । यहाँ व्यवस्थित रूपमा पूजा भने वि.सं. २०१५ देखि गर्न थालिएको विभिन्न दस्तावेजहरूमा उल्लेख भएको पाइन्छ । कसैले बूढासुब्बालाई किरातेश्वरका रूपमा त कसैले एकलव्यका रूपमा पनि चिन्ने गरेका छन् । जे जसो भए पनि यो किरात र गैरकिरातको संयुक्त आस्थाको केन्द्र हो । त्यसैले धार्मिकसँगै सामाजिक दृष्टिले पनि यसको ठूलो महŒव छ । तर, यति महŒवको स्थल भए पनि सरोकारवालाहरूले ध्यान दिन नसक्दा अस्त–व्यस्त बन्न पुगेको छ । 

बूढासुब्बाको व्यवस्थापन हाल मन्दिरमा पुजारी र उनको परिवारबाट हुने गरेको छ । उनीहरूले सकेसम्म राम्रो व्यवस्थापन गरिरहेको दाबी गरे पनि समयानुकूल व्यवस्थापन हुन सकेको देखिँंदैन । मन्दिरमा दैनिक धेरै भक्तजनहरू आउने गर्छन् । शनिबारको दिन त टाढादेखिका भक्तजनहरूको आगमनले मेला जसरी नै भीड लाग्ने जगजाहेरै छ । त्यसबाट पनि अनुमान लगाउन सकिन्छ, मन्दिरको आम्दानी पनि राम्रो हुन्छ । तर, हालसम्म मासिक वा वार्षिक कति रुपैयाँ भेटी सङ्कलन हुन्छ ? भक्तजनले चढाएका अन्य जिन्सी सामानहरू के कति जम्मा हुन्छ ? अन्य सरकारी तवरबाट कति बजेट आउँछ ? खर्च कहाँ कति भइरहेको छ ? भन्ने स्पष्ट देखिँंदैन । व्यवस्थापन समिति नाम मात्रको छ । त्यसैले मन्दिरको वास्तविक आम्दानी र खर्चको पनि पारदर्शिता आवश्यक छ । 

बूढासुब्बाको अस्त–व्यस्तता र पारदर्शिताबारे सरोकारवाला निकायहरू धरान उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय सुनसरीले ध्यान पु¥याउनु पर्छ । स्थानीय बासिन्दाहरू बूढासुब्बाका प्रत्यक्ष लाभहानिका भागीदार हुन् । त्यसैले स्थानीयले पनि चासो देखाउने बेला आएको छ । बूढासुब्बा धरानको मात्र नभएर देशकै गहना हो, सम्पदा हो । यसको संरक्षण गर्नसके मात्र भावी सन्ततीले हाम्रा पुर्खाका इतिहास बुझ्नेछन् । त्यसका लागि पनि यो संरक्षण हुनु जरुरी छ । त्यति मात्र होइन, अहिले बूढासुब्बा स्थानीयको आर्थिक उपार्जनको माध्यम पनि बनेको छ । बूढासुब्बा मन्दिरकै कारण धेरै स्थानीयले व्यापार–व्यवसाय गर्न पाएका छन्, त्यसको आम्दानीले जीवन सञ्चालन गरेका छन् । यदि बूढासुब्बाको अस्त–व्यस्तता यसरी नै बढ्दै जाने हो भने एकदिन उनीहरूको आम्दानीको स्रोत गुम्नेछ । त्यसकारण पनि बूढासुब्बाको संरक्षण र उचित व्यवस्थापनका लागि स्थानीयले पनि चासो देखाउनु पर्छ । सरोकारवाला निकायलाई झक्झक्याउनु पर्छ ।