तीनतिरबाट नेपाललाई छिमेकी मुलुक भारतले घेरेको छ । घेरिनु नेपालको नियति हो । इतिहासकालदेखि नै नेपाल र भारतबीच यस्तै भौगोलिक सीमा रहँदै आएको छ । दुई मुलुक छुट्याउने सीमा रेखालाई अन्तर्राष्ट्रिय सिमाना भनिन्छ भने ठाउँ–ठाउँमा गाडिएका पिल्लरलाई अन्तर्राष्ट्रिय सीमास्तम्भ । नेपाल–भारतबीच पनि यिनै नियम लागू हुन्छ । छिमेकी मुलुक भए पनि एउटा मुलुकबाट अर्को मुलुकमा प्रवेश गर्नुपरेमा निश्चित नाकाबाट मात्र पाइन्छ । त्यो पनि राहदानी र भिसामार्फत् । कति दिनका लागि, किन अर्काको देशमा गएको हो र त्यो मुलुकमा बस्न उसलाई कसले प्रायोजन वा जिम्मेवारी लिएको छ, कति खर्च बोकेर आएको छ जस्ता सामान्य जानकारी सबै खुलस्त हुनुपर्छ । कतिपय अवस्थामा आफ्नै छिमेकी मुलुकले अर्को छिमेकी मुलुकका नागरिकलाई भिसा नै नदिन पनि सक्छ । छिमेकी भए पनि आन्तरिक सम्बन्धको आधारमा यस्ता कुराहरू तय हुने गरेका छन् ।

भनिन्छ, नेपाल र भारतबीच भएको सम्बन्धजस्तो विश्वका अरू कुनै पनि मुलुकका छिमेकीहरूबीच छैन । हुन पनि हो, नेपाल–भारतबीचको अन्तर्राष्ट्रिय सीमारेखा वा सीमास्तम्भमा कुनै तारबार, छेकबार छैन । भन्नलाई ‘रोटी बेटीको सम्बन्ध’ भनिन्छ । तर, प्रवेश गर्नलाई न राहदानी, न भिसा न त कुनै आधिकारिक परिचयपत्र नै चाहिन्छ । अधिकांश सिमानाहरू कहाँंदेखि कहाँसम्म नेपाल हो, कहाँंदेखि कहाँसम्म भारत हो छेउटुप्पोको भेउ पाउन सकिन्न । जिपिएस सिस्टम कायम गरिएको भनिए पनि व्यवहारिक रूपमा लागू हुन सकेको छैन । दुई मुुलुकबीच सीमा छुट्याउनका लागि ‘नोमेन्स ल्याण्ड’ को रूपमा दशगजा छ । तर, दशगजा क्षेत्रमा दुवैतर्फबाट घर, कटेरो बनाउने, खेतीपाती गर्ने, चौपाया पालन गर्ने गरेकाले सीमारेखा नै गायब भएको अवस्था छ । यसैलाई भनिएको होला नेपाल–भारतबीचको सम्बन्ध विश्वकै फरक र उत्कृष्ट । उत्कृष्ट सम्बन्ध गाँसिएको नेपाल र भारतबीच १ हजार ८ सय ५० किलोमिटर सीमा जोडिएकोमा ६ सय ६ किलोमिटर भने लामोसमयदेखि विवादित हँुदै आएको छ । कालापानी र लिपुलेक लिम्पियाधुरासहित नेपाल–भारत सीमामा ७१ स्थानमा विवादै छ । 

रोटी बेटीको सम्बन्ध, भाषा, संस्कृति, धर्म र जनजीवनमा समानता, भगवान रामको ससुराली देशजस्ता कथित सम्बन्धमा कहिले नाकाबन्दी खेप्नुपर्छ, कहिले कालापानी–लिपुलेक–लिम्पियाधुरा अतिक्रमण हुन्छ । ७७ जिल्लामध्ये भारतसँग नेपालका २६ जिल्ला जोडिएका छन् । तीमध्ये डडेल्धुरा, बैतडी र धनुषा जिल्लामा मात्र सीमा विवाद सुनिएको छैन । भारतसँग जोडिएका बाँकी २३ जिल्लामा सीमा विवाद छ । विवादका बीच सीमाविज्ञहरूले भारतले दार्चुलादेखि ताप्लेजुङसम्ममा ६० हजार ६ सय २७ हेक्टर जमिन अतिक्रमण गरेको छ । सीमाविज्ञहरूले प्रस्तुत गरेको तथ्यअुनसार सन् १८५६ पछि भारतले सीमा अतिक्रमण गर्दै आएको छ । जङ्गे पिल्लर रातारात सारेर नेपालतिर गाड्ने गरेको छ । यो सिलसिला जारी छ । तर, नेपाल सरकारले सीमा अतिक्रमणको विषयमा भारतसँग आफ्नो कुरा राख्न सकेको छैन । सीमा अतिक्रमण विरुद्ध कहिलेकाहीँ भारतविरुद्ध चर्काेरूपले प्रस्तुत भएको चर्चाबाजी चले पनि नेपालका कुनै पनि नेता, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपतिले भारतीय समकक्षीसँग कूटनीतिकरूपमा विभिन्न भ्रमण र द्विपक्षीय बैठकमा एजेण्डा बनाउन सकेका छैनन् । दुई मुलुकबीचको अन्तर्राष्ट्रिय सिमाना र सीमास्तम्भ कायम राख्नका लागि ‘रोटी बेटीको सम्बन्ध’ जस्तो भावनात्मक तर्कले काम गर्दैन, वस्तुगत तर्क हुनुपर्छ । वस्तुगत एजेण्डासहितको द्विपक्षीय वार्ता गरेर सदाका लागि सीमा विवाद समाधान गर्नुको विकल्प छैन । नत्र दुवै मुलुकका भावी पुस्ताले सिमाना मिचिएको, मिचेको, अतिक्रमण गरेको भनेर राष्ट्रवादी बन्ने नाममा हिंसा र युद्ध सहनुपर्ने हुन्छ । कामना गरौं त्यस्तो नहोस् ।