देहाती बस्तीमा हुर्केका विद्यार्थीहरूलाई पनि इञ्जिनियर, ओभरसियर, चिकित्साशास्त्र, खाद्य प्रविधि, वनस्पति विज्ञान, रसायन शास्त्र, भौतिक विज्ञानजस्ता विषय अध्ययन गर्न मन लाग्छ । व्यावहारिक र जीवनमुखी विषय पढेर स्वरोजगार बन्ने सपना सबैको हुन्छ । तर, गाउँका विद्यालयमा त्यस्ता प्राविधिक विषय पठन–पाठनको व्यवस्था नहँुदा कतिपयले आफ्ना सपना पूरा गर्न सक्दैनन् । विद्यालयहरूमा पठन–पाठन गरिने परम्परागत विषय पढेर इञ्जिनियर, चिकित्सक वा त्यस्तै प्राविधिक विषयको थप उच्चशिक्षा लिनका लागि गाउँका विद्यार्थीले ऐच्छिक विषयको रूपमा विज्ञान, गणित राखेर कक्षा १२ पूरा गर्नुप¥यो । त्यसपछि प्रवेश परीक्षा दिएर पास भएपछि मात्र स्नातक तहका प्राविधिक विषयहरू अध्ययन गर्न पाइन्छ । पछिल्लो समयमा सरकारले छानेका सामुदायिक विद्यालयहरूका कक्षा ९ देखि नै विभिन्न विषयका प्राविधिक विधाहरू पठन–पाठन गर्ने व्यवस्था गरेपछि गाउँका विद्यार्थीहरूले आफ्ना सपना पूरा गर्न थालेका छन् ।
गाउँमै प्राविधिक शिक्षाको पठन–पाठन हुन थालेपछि छात्राहरू बढी लाभान्वित भइरहेका छन् । छात्राले प्राविधिक शिक्षा अध्ययन गर्ने अवसर पाउनु भनेको समग्र समाजमा परिवर्तनको बाहक हुनु बराबर हो । सुनसरीको कोशी गाउँपालिकाको शोभनपुरस्थित राष्ट्रिय माविमा सिभिल इञ्जिनियरिङ विषय पठन–पाठनको व्यवस्था हुँदा स्थानीय अभिभावकसंँगै सबैभन्दा बढी छात्राहरू खुशी भए । पिछडिएको नेपाली समाजमा छोरीलाई नपढाए पनि हुन्छ भन्ने मान्यताको जरो उखेलिएको छैन । झन् प्राविधिक विषय नै पढ्न दिने त कमै अभिभावकले मात्र अनुमति दिने गरेका छन् । गाउँकै सामुदायिक विद्यालयमा प्राविधिक विषय पठन–पाठन हुने भएपछि भविष्यमा इञ्जिनियर हुने सपना देख्ने छात्राका लागि सहज मार्ग प्रशस्त भएको छ । कोशी गाउँपालिकाको राष्ट्रिय माविमा प्राविधिक विषय अध्ययन गर्ने छात्रा यसैको नमुना हो । किनकी इञ्जिनियरिङ विषय पढ्ने चाहना हुँदाहुँदै पनि अभिभावकले घरदेखि टाढा पठाउन नसक्दा केही वर्षअघिका कतिपय छात्राले मन मारेर चित्त बुझाए । तर, अहिले आफ्नै गाउँमा पठन–पाठन भइरहेको सिभिल इञ्जिनियरिङ जस्तो प्राविधिक विषय पढ्न टाढा जानु परेको छैन ।
विद्यार्थीको रोजाइमा कुनै पनि विद्यालय पर्नु भनेको प्राविधिक विषयको आकर्षणले पनि हो भन्ने बुझ्नु जरुरी छ । आधुनिक पुस्ताका विद्यार्थीहरू गाउँमा हुर्केका हुन् कि सहरमा, शिक्षा क्षेत्रमा अलग भएको देख्न चाहन्छन् र आफूहरू पनि अरूभन्दा फरक हुन र गर्न चाहन्छन् । अलग र फरक हुनका लागि वा गर्नका लागि सोही अनुसारको शैक्षिक गुणस्तरमा ध्यान दिनु आवश्यक छ । जीवनोपयोगी व्यवहारिक र प्राविधिक विषयहरू विद्यालयमा पठन–पाठन गर्नसके ५ देखि १० किलोमिटर टाढाका गाउँबाट पनि विद्यार्थीहरू धाउन सक्छन् । जस्तो कोशी गाउँपालिकाको राष्ट्रिय माविमा प्राविधिक विषय पढ्नका लागि गढी, भोक्राहा नरसिंहा र वराहबाट धाउँछन् । यो आकर्षण प्राविधिक विषयकै कारणले भएको हो । प्राविधिक विषय व्यवहारिक र रोजगारमुखी हुने भएकाले पनि त्यस्ता विषयप्रति आधुनिक पुस्ताका विद्यार्थीहरू आकर्षित भएका हुन् । मास्टर्स डिग्रीसम्म परम्परागत विषय पढेर पनि स्वरोजगार हुन नसकेको बेला कक्षा ९ देखि १२ सम्म कम्प्युटर साइन्स, सिभिल इञ्जिनियरिङ, इलेक्ट्रोनिक्स, बाली विज्ञानजस्ता विषय पढेर आर्थिक रूपले आत्मनिर्भर हुन सक्छन् । थप उच्चशिक्षा पनि पढ्न सक्छन् । प्राविधिक शिक्षाको विशेषता भनेकै स्वरोजगार बनाउनु हो । स्वरोजगार जनशक्ति उत्पादन गर्ने यस्ता प्राविधिक विषय सीमित सामुदायिक विद्यालयमा मात्र नगरेर अधिक भन्दा अधिक शैक्षिक संस्थामा पठन–पाठनको व्यवस्था गर्नसके बेरोजगारी समस्या हल गर्न अरू विकल्प कमै खोज्नुपर्ने हुन्छ । यतातिर पनि राज्यले ध्यान देओस् ।